• २०८३ असोज १४ गते बुधवार

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
असोज १३, काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी सवारीसाधन चलाउने तीन चालकलाई नियन्त्रणमा लिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको गेट अगाडि आज गरिएको लापसे चेकिङका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा एक मिनी ट्रक चालक, एक पिकअप चालक र एक विद्युतीय (इभी) हाइस चालक छन् । उनीहरूलाई लागुऔषध सेवन गरी सवारी चलाइरहेको अवस्थामा फेला पारिएको कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीको सहयोगमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, प्रहरी वृत्त कीर्तिपुर, ट्राफिक प्रहरी प्रभाग कीर्तिपुर र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले आवश्यक ‘चेकिङ’ गरेको थियो ।
नियन्त्रणमा लिइएका तीनै चालकलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको ट्राफिक प्रहरीले जनाएको छ । प्रवक्ता सुवेदीले लागुऔषध सेवन गरी सवारीसाधन चलाउनु नियमविपरीत र दण्डनीय कार्य भएकाले चालकलाई सचेत रहन आग्रह गर्नुभयो ।
उहाँले चालकले लागुऔषध वा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन १०३ वा प्रहरीको हटलाइन १०० मा खबर गर्न आग्रह गर्नुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस