• २०८३ असोज १० गते शनिवार

दोस्रो सातामा पनि ‘झिँगेदाउ २’ को दबदबा, दर्शकको साथ उत्साहजनक

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज १०, काठमाडौँ । असोज २ गतेदेखि प्रदर्शनमा आएको सिनेमा ‘झिँगेदाउ २’ ले दोस्रो सातामा पनि हलमा आफ्नो प्रभाव कायम राखेको छ । पहिलो साताबाटै दर्शकको राम्रो साथ पाउँदै आएको सिनेमाले दोस्रो सातामा प्रवेश गरेसँगै पनि उत्साहजनक व्यापारलाई निरन्तरता दिइरहेको निर्माण टिमले जनाएको छ ।

सिनेमाले पहिलो सातामा करिब डेढ करोड कमाइसकेको निर्माण टिमको दाबी छ । दोस्रो साताको शनिबार शो संख्यामा पनि केही वृद्धि भएको वितरकले जनाएको छ ।

दोस्रो साताको शनिबार आज पनि विभिन्न हलमा दर्शकको उपस्थिति उत्साहजनक रहेको निर्माण पक्षले जनाएको छ । पहिलो साताको व्यापार र दोस्रो सातामा देखिएको दर्शकको चापले टिम थप उत्साहित बनेको देखिएका छन् ।

सिनेमा हेर्न पुगेका दर्शकबाट कथावस्तु, कलाकारको अभिनय, प्रस्तुति तथा गीतसंगीतको प्रशंसा गरिरहेका छन् । उनीहरूले सिनेमा हेरिरहँदा कतिपय दृश्यमा खुलेर हाँसेको र कतिपय क्षणमा भावुक बनेको प्रतिक्रिया दिइरहेका छन् ।

विशेषगरी पारिवारिक सम्बन्धभित्रको झगडा, मनमुटाव र त्यसले निम्त्याउने परिस्थितिलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिएको भन्दै दर्शकले सिनेमालाई रुचाइरहेको निर्माण पक्षको भनाइ छ ।

सामाजिक सञ्जालमा देखिएको दर्शक प्रतिक्रियामा पनि पारिवारिक सम्बन्धका संवेदनशील पाटोलाई पर्दामा हेर्दा कतिपय दृश्यले दर्शक भावुक भएर रुँदै बाहिरिएको पनि देखिएका छन् ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको सिनेमाको कथा मुख्यतः जेठानी र देउरानीबीचको झगडाबाट सुरु हुने पारिवारिक कलह वरिपरि घुम्छ । सामान्य देखिने पारिवारिक विवाद कसरी ठूलो द्वन्द्वमा परिणत हुन्छ र त्यसले परिवारका सदस्यको सम्बन्धमा कस्तो असर पार्छ भन्ने विषयलाई सिनेमाले मनोरञ्जनसँग जोडेर प्रस्तुत गरेको छ ।

सिनेमाले पारिवारिक कलहसँगै आमाको महत्त्वलाई पनि प्रमुखताका साथ उठाएको छ । परिवारमा आमाको भूमिका, माया र त्यागलाई कथामार्फत प्रस्तुत गरिएको छ । यही भावनात्मक पक्षले पनि दर्शकलाई सिनेमासँग जोड्न सफल भएको निर्माण पक्षको दाबी छ ।

सिनेमामा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको सिनेमामा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन छ ।

कपनगढी सिनेमा प्रा.लि र फिल्म क्रिउ नेपाल प्रा.लिको ब्यानरमा निर्माण भएको सिनेमामा सुलभ प्रतिक देउजा र समिक्षा देउजाले लगानी गरेका छन् ।

रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सिनेमाका सह–निर्माता हुन् । विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको सिनेमामा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस