असोज १०, काठमाडौं । शनिबार देशभर मौसम बदली रही धेरैजसो स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको छ । विशेषगरी पश्चिम तथा मध्य नेपालका मुख्य शहरहरूमा दिनभर तथा रातिको समयमा समेत भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

मौसम पूर्वानुमान विवरण अनुसार डडेलधुरा, दिपायल, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, जुम्ला, घोराही, पोखरा, भैरहवा तथा जोमसोम क्षेत्रमा आज दिउँसो र राति दुवै समयमा चट्याङ्गसहित भारी वर्षा हुने सम्भावना शतप्रतिशत रहेको छ ।
यी क्षेत्रहरूमा अधिकतम तापक्रम ११ देखि २७ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ७ देखि २१ डिग्री सेल्सियससम्म रहने अनुमान छ ।
यसैगरी, सिमरामा दिउँसो मध्यम वर्षाको सम्भावना रहे तापनि रातिको समयमा मेघगर्जनसहित भारी वर्षा हुनसक्ने देखिएको छ । संघीय राजधानी काठमाडौंमा आज दिउँसो तथा राति मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
काठमाडौंको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियस रहने प्रक्षेपण गरिएको छ । यता ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जनकपुर, जिरी र ताप्लेजुङ लगायतका पूर्वी तथा मध्य–पूर्वी भूभागमा भने दिउँसो र राति मध्यम वर्षाको सम्भावना ३० देखि ६० प्रतिशतसम्म रहेको छ ।
तराईका विराटनगर र जनकपुरमा अधिकतम तापक्रम क्रमशः २७–२९ र २८–३० डिग्री सेल्सियसम्म पुग्ने अनुमान गरिएको छ । विभिन्न स्थानमा चट्याङ्ग र भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
