• २०८३ असोज ९ गते शुक्रवार

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडभन्दा बढी हुण्डी कारोबार, ज्योति शाही पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज ८, सुनसरी। हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा सुनसरीको धरानबाट एक महिला पक्राउ परेकी छन्। नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार धरान उपमहानगरपालिका–१३ स्थायी ठेगाना भएकी ज्योति शाहीलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार शाहीले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा इटहरीमा दर्ता भएको ‘शाही मनि ट्रान्सफर’का नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा खाता खोली कारोबार गर्दै आएको अनुसन्धानबाट खुलेको छ।

अनुसन्धानका क्रममा कृषि विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आइएमई बैंकलगायत ५२ वटा बैंक तथा वित्तीय संस्थाका खातामार्फत करिब १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ बराबरको कारोबार भएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार विदेशमा आर्जन भएको रकम अनौपचारिक माध्यमबाट नेपाल भित्र्याई स–साना रकममा विभाजन गरेर कनेक्ट आईपीएसलगायत विद्युतीय तथा डिजिटल माध्यमबाट विभिन्न व्यक्तिका बैंक खातामा पठाउने गरिएको थियो।

हुण्डीसम्बन्धी कारोबारबारे थप अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतबाट असोज ६ गते पक्राउ अनुमति लिएपछि सीआईबी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले शाहीलाई धरान–५, खैरेनीबाट पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले शाहीविरुद्ध हुण्डीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको बताएका छन्। घटनामा संलग्न अन्य व्यक्ति तथा कारोबारबारे पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

May be an image of blueprint, ticket stub and text

Sharing

प्रतिक्रिया दिनुहोस