• २०८३ असोज ८ गते बिहिवार

सजग रहौं !

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

असोज ८, काठमाडौं । यहि मिति २०८३ असोज ८–१२ (सेप्टेम्बर २४–२८, २०२६) सम्म बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली र पश्चिमी वायुमण्डलीय प्रणालीको अन्तरक्रियाका कारण नेपालमा भारी वर्षाको सम्भावनाबारे मौसमविद्हरूले सतर्क गराएको कुरा विभिन्न समाचारमाध्यामबाट अवगत नै छ । खास त असोज ८ देखि १२ : डर होइन, पूर्वतयारीको समय हो ।

बंगालको खाडीबाट विकसित भइरहेको मौसमी प्रणालीले नेपालतर्फ पर्याप्त जलवाष्प ल्याउन सक्ने र पश्चिमी वायुमण्डलीय प्रणालीसँग यसको अन्तरक्रिया भएमा वर्षाको मात्रा अझ बढ्न सक्ने मौसमविद्हरूले बताएका छन् । केही मौसम मोडेलले निश्चित स्थानमा अत्यधिक वर्षाको संकेत गरे पनि अहिले नै कहाँ कति वर्षा हुन्छ भन्ने अन्तिम निष्कर्ष भने निकाल्न सकिने अवस्था छैन ।

त्यसैले असोज ८ देखि १२ गतेसम्म नेपालले विशेष सतर्कता अपनाउनुपर्ने समय हो । विशेषगरी पहिरोको जोखिममा रहेका पहाडी तथा हिमाली बस्ती, नदी तथा खोलाका किनार, कमजोर सडक र पुल, जोखिमयुक्त बस्ती तथा यसअघि बाढीपहिरोबाट प्रभावित क्षेत्रले थप सावधानी अपनाउन आवश्यक छ । पछिल्लो बाढीबाट प्रभावित भोटेकोशी–त्रिशूली क्षेत्रका कमजोर भूभागमा सामान्यभन्दा बढी वर्षाले समेत थप जोखिम निम्त्याउन सक्ने विज्ञहरूले बताएका छन् ।

सरकार तथा स्थानीय तहले विपद् उद्धार टोली तयारी अवस्थामा राख्ने, नदीको जलस्तर निरन्तर निगरानी गर्ने, जोखिमयुक्त बस्तीलाई समयमै सूचना दिने, सडकको अवस्था हेरेर मात्र यात्रा गर्न आग्रह गर्ने र आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गर्ने समय यही हो। गृह तथा ऊर्जा मन्त्रालयले समेत असोज ८–१२ लाई विशेष सावधानीको अवधि मानेर नदी किनार र जोखिमयुक्त क्षेत्रमा टोली परिचालन तथा पूर्वसूचना प्रणालीलाई सक्रिय राख्न निर्देशन दिएको छ ।

सर्वसाधारणले पनि मौसमको सूचना बेवास्ता गर्नु हुँदैन । नदी तथा खोलामा पानी बढेको अवस्थामा नजिक नजाने, पहिरोको सम्भावना भएका सडकमा यात्रा नगर्ने, रातिको लामो दूरीको यात्रा सकेसम्म स्थगित गर्ने र स्थानीय प्रशासन तथा जल तथा मौसम विज्ञान विभागका आधिकारिक सूचना पछ्याउनु आवश्यक छ ।

यसलाई आतंक फैलाउने विषयका रूपमा होइन, सम्भावित जोखिम घटाउने पूर्वतयारीको अवसरका रूपमा लिनुपर्छ । मौसम प्रणालीको दिशा र शक्ति परिवर्तन हुन सक्ने भएकाले सामाजिक सञ्जालमा आएका अपुष्ट सूचना र अतिरञ्जित भविष्यवाणीभन्दा आधिकारिक सूचनालाई आधार बनाउनु उचित हुन्छ । जल तथा मौसम विज्ञान विभागले आफ्नो वेबसाइटमा मौसम तथा बाढीसम्बन्धी चेतावनी र अद्यावधिक सूचना राखिरहेको छ ।

विपद् आउनुअघि गरिएको तयारी नै विपद्पछिको उद्धारभन्दा महत्वपूर्ण हुन्छ । असोज ८ देखि १२ गतेसम्म आकाशमा बादल मात्र होइन, हाम्रो तयारीको पनि परीक्षा हुनेछ । अहिले नै सचेत बनौँ, जोखिम पहिचान गरौँ र सम्भावित क्षति न्यूनीकरणका लागि स्थानीय तहदेखि घरपरिवारसम्म सबैले आफ्नो भूमिका पूरा गरौँ । सरकारले पनि यस कुरामा बढो संबेदनशील भएर सुरक्षा नीति अप्नाउनु पर्दछ ।

Sharing

प्रतिक्रिया दिनुहोस