असोज ७, मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा यहि असोज ८ गतेदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान सुरु हुने भएको छ ।
कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० वर्षसम्मका किशोरीलाई लक्षित गरी यस मुगुम कार्मारोङ गाउँपालिकामा अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य शाखाले जनाएको छ ।

असोज ८ गतेदेखि सञ्चालन हुने अभियानमा कार्मारोङका विद्यालय र स्वास्थ्य संस्थाको खोप केन्द्रहरुमा ६६ जना किशोरीलाई एचपीभी खोप लगाउने लक्ष्य राखिएको मुगुम कार्मारोङ गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत बलि बहादुर बुढाले बताए । उनका अनुसार लक्षित समूहमा कक्षा ६ मा अध्ययनरत र विद्यालयबाहिर गरेर ६६ जना किशोरी छन् । खोप अभियानका लागि ९ खोप केन्द्र निर्धारण गरिएको छ ।
गत वर्ष सञ्चालन भएको एचपीभी खोप अभियानमा छुटेका लक्षित समूहका किशोरीलाई समेत यसपटक खोप दिइनेछ । विद्यालय नजाने १० वर्षसम्मका किशोरीको नामावली सङ्कलन गरी खोप अभियानमा सहभागी गराउन स्थानीय स्वास्थ्य संस्था र सम्बन्धित पक्षलाई आग्रह गरिएको छ । उनले गाउँ, टोल तथा कार्यक्षेत्रमा रहेका लक्षित किशोरीको सङ्ख्या यकिन गर्नसमेत सहयोग गर्न आग्रह गर्नुभयो ।
एक मात्रा एचपीभी खोप लगाइसकेका किशोरीले पुनः अर्को मात्रा लगाउन आवश्यक नरहेको जनाएको छ । खोप अभियान प्रभावकारी बनाउन विद्यालय, स्वास्थ्य संस्था, स्थानीय तह र अभिभावकबीच समन्वय आवश्यक रहेको जनस्वास्थ्य अधिकृत बुढाले बताए । आगामि दिनहरुमा पाठेघरको मुखको क्यान्सरको रोकथाम , न्युनीकरण र स्क्रीनिङ स्वास्थ्य शिविर पनि सञ्चालन गरिने बताईएको छ ।