• २०८३ असोज ५ गते सोमवार

तारकेश्वर नगरपालिका र शहीद गंगालाल हृदय केन्द्रबीच सम्झौता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५, काठमाडौं । तारकेश्वर नगरपालिका र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबीच मुटुरोगीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार आर्थिक वर्ष २०८२/८३ देखि तारकेश्वर नगरपालिकामा स्थायी बसोबास गर्ने मुटुरोगसम्बन्धी बिरामीलाई नगरपालिकाले आवश्यक औषधि तथा उपचार खर्चबापत अधिकतम ५० हजार रुपैयाँसम्म सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ।

तारकेश्वर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा भएको कार्यक्रममा नगर प्रमुख कृष्णहरि महर्जन र शहीद गंगालाल हृदय केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. रवि मल्लले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार सम्बन्धित बिरामीले नगरपालिकाबाट आवश्यक कागजात तथा सिफारिस लिएर शहीद गंगालाल हृदय केन्द्रमा उपचार गराउँदा उक्त सुविधा प्राप्त गर्न सक्नेछन्।

यसअघि नेपाल सरकारबाट उपलब्ध हुने १ लाख रुपैयाँ र प्रदेश सरकारबाट उपलब्ध हुने ५० हजार रुपैयाँको सहयोगसँगै नगरपालिकाको ५० हजार रुपैयाँसमेत जोडिँदा योग्य बिरामीले कुल २ लाख रुपैयाँसम्मको आर्थिक सहयोग प्राप्त गर्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ। यस व्यवस्थाले मुटुरोगको उपचारका क्रममा आर्थिक कठिनाइ भोगिरहेका नगरवासीलाई उपचार खर्च व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस