असोज २, हुम्ला । हिमाली जिल्ला हुम्लाका दुई हजार २५ जना नेपाली नागरिकले कामका लागि चीन(तिब्बत)को ताक्लाकोट जानका लागि सीमापास अनुमति लिएका छन् । छिमेकी देश चीनको ताक्लाकोट जानका लागि दुई हजार २५ जनाबढी हुम्लावासीले सीमापास लिएका हुन् । बर्षेनी उनीहरु रोजगारीको खोजी तथा व्यापारका लागि ताक्लाकोट जाने गर्दछन् । उनीहरु अनुमतिपत्रको आधारमा चीनको सीमाक्षेत्र ३० किलोमिटरभित्र मात्रै जान पाउने व्यवस्था छ । बर्षेनी हजारौँ हुम्लावासी ताक्लाकोट गएर काम तथा व्यापार गरी जीविकोपार्जन गर्दै आएका छन् ।

जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रबिर शाहीका अनुसार, गत वर्षभन्दा यो वर्ष सीमापास लिने हुम्लावासीको संख्या कम छ । नयाँ सीमापास एक हजार तीनसय ९५ जना रहेको छ भने पास नवीकरण गर्नेको संख्या ६ सय ३० जना रहेका छन् ।
चार सय ३७ महिला र एक हजार पाँच सय ८८ जना पुरुषले पास लिएका छन् । पास लिएका सबै हुम्ली नागरिक काम, व्यापार र व्यवसायका लागि चीनको ताक्लाकोट पुग्ने गरेका छन् ।
केही व्यापारी ताक्लाकोटबाट व्यापारी प्रयोजनका सामान खरिद गरेर ढुवानी गर्न र केही निर्माण सामाग्री खरिद गर्नका लागि ताक्लाकोट जाने गर्छन भने अधिकांश हुम्लावासी ६ महिनाका लागि ताक्लाकोटमा रोजगारीका लागि जाने गर्दछन् ।
ताक्लाकोटमा काम गरेको ६ महिनाको अवधिमा प्रतिव्यक्तिले ४ लाखदेखि ६ लाख रुपैयाँसम्म कमाइ गर्ने गरेको स्थानीय तुलरासी बोहराले बताए । हाल उनी ताक्लाकोटमा काम गरिरहेका छन् ।
एक दिनमा नेपाली दुइ हजारदेखि तीन हजारसम्म एक जनाले दैनिक कमाई गर्ने गरेका छन् । भने चिनिया युवान ७० देखि दुई सयसम्म कमाउने गरेका छन् । हुम्लाबाट ताक्लाकोट पुगेका नेपालीले घर बनाउने, मजदुर, खेतीपातीलगायतमा काम गर्दै आउने गरेका हुन् ।
गाउँघरमा बेरोजगार बढ्दै
हुम्लामा बेरोजगारीको समस्या विकराल बन्दै गएपछि यहाँका स्थानीय बासिन्दा छिमेकी राष्ट्र चीनको ताक्लाकोटमा रोजगारीको खोजीमा जानेक्रम तीव्र रूपमा बढेको छ ।
पछिल्ला वर्षहरूमा युवायुवतीहरू कामको खोजीमा ताक्लाकोटतर्फ आकर्षित भइरहेका छन् । ताक्लाकोटमा सहजै रोजगारी प्राप्त हुने भएकाले जिल्लाका युवायुवतीहरू छ महिनाको लागि त्यसतर्फ जाने गरेका छन् ।
गाउँघरमा बेरोजगार बस्नुभन्दा जिल्ला प्रशासन कार्यालयबाट जारी गरिने अस्थायी सीमा पास बनाएर उनीहरू चीन जाने र आम्दानी गरेर फर्कने गर्दछन् ।
विगतमा जडीबुटी संकलनमा जानेहरू अहिले ताक्लाकोटमा घरायसी तथा कृषिजन्य काममा संलग्न हुन थालेका छन् ।
हुम्लाबाट कामको खोजीमा चीन पुग्नेहरूमा नाम्खा र सिमकोट गाउँपालिकाका युवाहरूको संख्या सबैभन्दा बढी रहेको छ । जिल्लाका अन्य खार्पुनाथ, सर्केगाड, चंखेली गाउँपालिकाका युवायुवतीले पनि सीमा पास बनाएका छन् ।