असोज १, काठमाडौँ । नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया (सीता)ले भोटेकोशी बाढीका कारण त्रिशूली नदीमा रहेको फुर्केखोलाको पुल बगेको २३ दिन बितिसक्दा पनि सरकारले अस्थायी बेलिब्रिज निर्माण नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थपलियाले जनताको आवतजावत सहज बनाउन तत्काल अस्थायी बेलिब्रिज निर्माण गर्न माग गरिन् ।

उनले भनिन्, ‘भोटेकोशी बाढीका कारण त्रिशूली नदीमा रहेको फुर्केखोलाको पुल बगेको आज २३ दिन भइसकेको छ । मैले यसअघि पनि बारम्बार यही सम्मानित सदनमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै, जनताको आवतजावत दैनिकि सहज बनाउन यथाशीघ्र अस्थायी बेलिब्रिज निर्माण गर्न आग्रह गरिसकेको थिएँ तर सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ ।’
सरकारको ढिलासुस्तीप्रति प्रश्न गर्दै उनले भनिन्, ‘सरकारको यस्तो ढिलासुस्ती देख्दा लाग्छ ! के नेपालको नक्सामा धादिङ भन्ने जिल्ला हटेको हो ? धादिङका नागरिकहरूले आफैँलाई प्रश्न गर्न थालिसकेका छन् ! त्यसैले म यस सम्मानित सदनमार्फत सरकारलाई फेरि पनि स्पष्ट रूपमा भन्न चाहन्छु ! इन्तु परन्तु धादिङको नागरिकलाई फुर्केखोलामा पुल चाहिन्छ ।’
बाढीबाट प्रभावित धादिङ, रसुवा र नुवाकोटका व्यवसायी तथा नागरिकले बैंकबाट लिएको ऋणको ब्याज र विद्युत् महसुल पुनर्स्थापना नहुन्जेलसम्म मिनाहा गर्नुपर्ने माग पनि उनले गरिन् ।
उनले भनिन्, ‘बाढीका कारणले प्रभावित ठाउँहरू धादिङ, रसुवा, नुवाकोटका व्यवसायी तथा आम नागरिकले बैंकबाट लिएको ऋणको ब्याज तथा विद्युत्को महसुल पुनर्स्थापना नहुन्जेलसम्म सरकारले मिनाहा गर्नुपर्छ । पीडितहरूको आधारभूत आवश्यकताको ग्यारेन्टी सरकारले गर्नुपर्छ ।’
पृथ्वी राजमार्गको कृष्णभीरमा पटक–पटक पहिरो जाने गरेको भन्दै उनले तत्कालीन समाधानसँगै दीर्घकालीन वैकल्पिक सडक निर्माण गर्न पनि सरकारसँग माग गरिन् ।
उनले भनिन्, ‘पृथ्वी राजमार्गको कृष्णभीरको समस्यातर्फ पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । कृष्णभीरमा पहिरो गएको आज १९ दिनमा बल्ल सडक सुचारु भयो तर कृष्णभीरको समस्या आजको मात्र होइन । यस क्षेत्रमा पटक–पटक पहिरो जाने र सडक अवरुद्ध हुने गरेको छ । आज सडक खुल्ला भयो भन्दैमा भोलि फेरि पहिरो जाँदैन भन्ने ग्यारेन्टी छैन । त्यसैले सरकारसँग मेरो अनुरोध छ । हामीले तत्कालीन समाधानसँगै दीर्घकालीन वैकल्पिक मार्ग पनि तयार गर्नुपर्छ । यसका लागि मलेखु–ताल्ती हुँदै भण्डारा निस्कने चेपाङ मार्गलाई वैकल्पिक सडकका रूपमा विकास गर्न सकिन्छ ।’
त्यस्तै, प्रसूति पीडामा रहेकी महिलाले सडकमा नै बच्चा जन्माउन बाध्य भएको घटनालाई लिएर सांसद थपलियाले सरकारसँग जवाफ मागिन् । उनले यस्ता घटनालाई राजनीतिक विषयका रूपमा नहेर्न आग्रह गर्दै अस्पतालले उपचारअघि पैसा खोज्ने प्रवृत्तिमाथि प्रश्न उठाइन् ।
उनले भनिन्, ‘एउटी आमा प्रसव पीडामा सडकमा बच्चा जन्माउन बाध्य हुनु भनेको कुनै राजनीतिक दलको हार वा जित होइन । राजनीतिमा विचार फरक हुन सक्छ । सरकार र प्रतिपक्षबीच आरोप प्रत्यारोप पनि हुन सक्छ तर एउटी आमाको प्रसव पीडालाई पनि राजनीतिक षड्यन्त्र देख्न थाल्यौँ भने हामी कस्तो राजनीति गरिरहेका छौँ ? आफैँलाई आफैँले प्रश्न गर्ने बेला आएको छ। नागरिक अस्पताल पुग्दा अस्पतालले पहिला पैसा खोज्ने कि उपचार ? मेरो प्रश्न छ प्रधानमन्त्रीज्यूलाई ! मेरो प्रश्न छ स्वास्थ्य मन्त्रीज्यूलाई ! अस्पताललाई कडा कारबाही हुन्छ कि हुँदैन ? पीडित परिवारले न्याय पाउँछ कि पाउँदैन ? अब यस्ता घटना नदोहोरिन सरकारले कस्तो कदम चाल्छ ? एउटा मधेसको छोरो प्रधानमन्त्री हुँदा मधेसको छोरी बुहारीको अवस्था यही हो त ?’