• २०८३ भाद्र ३१ गते बुधवार

दुर्गम कर्णालीको स्वास्थ्य सुधारका लागि विशेषज्ञ सेवा, ग्रामीण अस्पताल र ‘हेल्थ रिसर्च सेन्टर’ बनाउन मुख्यमन्त्री लाई प्रस्ताव

खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

भदौ ३१, मुगु। दुर्गम तथा हिमाली क्षेत्रका नागरिकले भोग्दै आएको स्वास्थ्य सेवाको समस्या समाधान गर्न कर्णाली प्रदेश सरकारसँग विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ। कर्णालीका मुख्यमन्त्री मंगल बहादुर शाहि र सामाजिक बिकास मन्त्री जित बहादुर मल्ललाई मंगलबार स्वास्थ्य सेवा कार्यालय मुगुका डाक्टर निर्मल नगरकाेटि र डाक्टर अर्जुन भामले उपल्लो कर्णालीकाे स्वास्थ्य अवस्था लाई सुदृढीकरण र बिशेषज्ञ स्वास्थ्य सेवा बिस्तार गर्न माग गर्दे प्रस्ताव पेश गरेका हुन ।

दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मीको अभाव, औषधिको नियमित आपूर्ति नहुनु, आवश्यक स्वास्थ्य उपकरणको कमी, कमजोर पूर्वाधार तथा आकस्मिक अवस्थामा बिरामीलाई समयमै सुविधा सम्पन्न अस्पतालसम्म पुर्‍याउन नसक्ने समस्यालाई सम्बोधन गर्न मुख्यमन्त्री र सामाजिक बिकास मन्त्री समक्ष प्रस्ताव पेश गरिएको हो।

प्रस्तावमा दुर्गम क्षेत्रका स्वास्थ्य संस्थाका लागि छुट्टै विशेष बजेटको व्यवस्था गर्नुपर्ने, स्वास्थ्यकर्मीलाई दुर्गम भत्ता तथा अन्य प्रोत्साहन उपलब्ध गराउनुपर्ने र स्वास्थ्यकर्मीको नियमित उपस्थितिको प्रभावकारी अनुगमन गर्नुपर्ने माग गरिएको छ।

स्वास्थ्य संस्थामा वर्षभरि आवश्यक औषधि उपलब्ध हुने व्यवस्था मिलाउन, औषधि खरिद तथा वितरण प्रणालीलाई पारदर्शी बनाउन र आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था गर्न पनि प्रस्तावमा जोड दिइएको छ।

दुर्गम क्षेत्रमा गर्भवती महिला, नवजात शिशु तथा बालबालिकाका लागि विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्नुपर्ने मागसमेत गरिएको छ। आकस्मिक अवस्थामा बिरामीको उद्धार तथा रेफरल प्रणालीलाई थप प्रभावकारी बनाउन हवाई उद्धारको व्यवस्था व्यवस्थित गर्नुपर्ने प्रस्तावमा उल्लेख गरिएको डाक्टर निर्मल नगरकाेटिले बताए। दुर्गम क्षेत्रका नागरिकले पनि सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्न सरकारले भूगोल र आवश्यकताका आधारमा स्वास्थ्य नीति तथा बजेट निर्माण गर्नुपर्ने प्रस्तावकको भनाइ छ।

स्वास्थ्य सेवा विस्तार गर्न ग्रामीण स्वास्थ्य अस्पताल निर्माणदेखि विशेषज्ञ चिकित्सकको नियमित ‘आउटरिच’ सेवा, स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना र स्थानीय स्वास्थ्य जनशक्ति उत्पादनसम्मका प्रस्ताव अघि सारिएका छन्।

कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्र सुदृढीकरण तथा रूपान्तरणसम्बन्धी विशेष प्रस्तावमा माथिल्लो कर्णालीका जिल्ला अस्पताललाई क्रमश ५० शय्याको Rural Health Hospital का रूपमा स्तरोन्नति गर्ने प्रस्ताव गरिएको छ। प्रस्तावअनुसार त्यस्ता अस्पतालमा आवश्यक पूर्वाधार तथा उपकरण विकाससँगै विशेषज्ञ चिकित्सकसहित आवश्यक स्वास्थ्य जनशक्ति सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।

प्रस्तावमा आकस्मिक, प्रसूति, बालरोग, शल्यक्रिया तथा अन्य आवश्यक विशेषज्ञ सेवा स्थानीय तहमै विस्तार गर्ने उल्लेख छ। यसको उद्देश्य दुर्गम नागरिकलाई सामान्य उपचारका लागि समेत सुर्खेत वा अन्य शहरमा जानुपर्ने बाध्यता घटाउनु रहेको प्रस्तावमा जनाइएको छ।

महिनामा कम्तीमा एकपटक विशेषज्ञ टोली दुर्गममा

माथिल्लो कर्णालीका अस्पतालमा विशेषज्ञ चिकित्सकको स्थायी उपलब्धता चुनौतीपूर्ण रहेको भन्दै प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा सम्बन्धित संस्थासँग समन्वय गरी महिनामा कम्तीमा एकपटक विशेषज्ञ चिकित्सकको टोली दुर्गम जिल्लामा पठाउने प्रस्ताव गरिएको छ।

प्रस्तावमा आवश्यकताअनुसार बालरोग, स्त्री तथा प्रसूति रोग र मेडिसिन विशेषज्ञको टोली परिचालन गर्ने उल्लेख छ। यसबाट दुर्गम क्षेत्रका नागरिकले आफ्नै जिल्लामा विशेषज्ञ सेवा पाउने अपेक्षा गरिएको छ। यसैगरी दुर्गम जिल्लाका अस्पताललाई Teaching/Training Network मा जोडेर कर्णालीलाई स्वास्थ्य सेवा मात्र नभई Medical Education, Research र Health Innovation को केन्द्र बनाउने लक्ष्य प्रस्तावमा राखिएको छ।

प्रस्तावमा दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मीको दीर्घकालीन उपलब्धता सुनिश्चित गर्न स्थानीयस्तरमै स्वास्थ्य जनशक्ति उत्पादन गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ।

मुगुमा नर्सिङ कलेज तथा रारा प्राविधिक कलेज जस्ता संस्थालाई स्वास्थ्य तथा प्राविधिक जनशक्ति उत्पादन गर्ने केन्द्रका रूपमा विकास गर्ने अवधारणा अघि सारिएको छ। यसबाट स्थानीय विद्यार्थीले आफ्नै जिल्लामा स्वास्थ्य शिक्षा प्राप्त गर्ने र स्थानीयस्तरमै नर्सिङ तथा अन्य प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ।

स्वस्थ कर्णाली–समृद्ध कर्णाली’को अवधारणा

प्रस्तावले कर्णालीलाई केवल उपचार सेवा लिने प्रदेशका रूपमा नभई विशेषज्ञ सेवा, चिकित्सा शिक्षा, स्वास्थ्य अनुसन्धान र दक्ष जनशक्ति उत्पादनको केन्द्र बनाउने दीर्घकालीन अवधारणा अघि सारेको छ। कर्णालीकाे स्वास्थ्य राम्रो नभए मुलुककाे स्वास्थ्य प्रणालीमा सुधार नहुने बताईएकाे छ । प्रस्ताव पत्र ग्रहण गर्दे मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीहरुले उपल्लो कर्णालीकाे स्वास्थ्य सेवा थप बिस्तार र आवश्यक सहयोग गर्न प्रदेश सरकार सकारात्मक रहेकाे बताएका छन । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहि र सामाजिक बिकास मन्त्री जित बहादुर मल्ल दुबै मुगु जिल्लाका स्थायि बासिन्दा हुन ।

Sharing

प्रतिक्रिया दिनुहोस