भदौ ३०, काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । सर्केगाड गाउँपालिका–४ स्थित थाहा खोलामा माथिबाट लेदोसहितको बाढी आएपछि सडक अवरुद्ध हुनुका साथै आसपासका खाद्यान्न बालीमा क्षति पुगेको छ । सर्केगाड गाउँपालिका–१ जैरका स्थानीय खगेन्द्र धामीले खोलामा आएको बाढीले आसपासको खेतीयोग्य जमिनमा लगाइएको बाली नष्ट भएको बताउनुभयो ।
उहाँले आज बिहान करिब तीन घण्टा लगातार पानी परेपछि पहाडबाट लेदोसहितको बाढी आएको र बाढीले आसपासका क्षेत्रसहित थाहा ज्युलोमा बाढी पसेर खाद्यान्नबाली नष्ट गरेको जानकारी दिनुभयो । त्यसैगरी, सर्केगाड गाउँपालिकाको केन्द्र आसपास भएर बग्ने सर्केगाड खोलामा पानीको बहाव बढ्दा बजार क्षेत्र तथा आसपासमा क्षति पुगेको छ ।
बजारमा व्यवसाय गर्दै आएका अदानचुली गाउँपालिका–१ का लक्ष्मण फडेराका अनुसार खोलामा पानीको बहाव बढेपछि आसपासमा समस्या देखिएको बताउनुभयो ।
माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि कर्णाली करिडोरसमेत पूर्ण रूपमा अवरुद्ध भएको सर्केगाड प्रहरीचौकीका सहायक निरीक्षक जगदीशकुमार ऐरले बताउनुभयो ।
पहिरोले बालीमा क्षति पु¥याउनुका साथै सडक अवरुद्ध भएकाले सडक खुलाउन गाउँपालिका र सम्बन्धित सडक निकायसँग समन्वय भइरहेको बताउनुभयो ।
लगातारको वर्षापछि कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत सर्केगाड गाउँपालिका–६ ग्युसीदेखि खार्पुनाथ गाउँपालिका–५ खार्पुसम्म विभिन्न स्थानमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ । कतिपय ठाउँमा पहिरोले सडक पूरै पुरिएको छ भने केही खण्डमा सडक साँघुरिएपछि जोखिम मोलेर सवारीसाधन सञ्चालन भइरहेका छन् ।
कार्यालयको कामका लागि सदरमुकाम सिमकोट आएका चङ्खेली गाउँपालिकाका स्वास्थ्य संयोजक सुरवीर शाहीका अनुसार ग्युसीदेखि खार्पुसम्म सडकका विभिन्न स्थानमा पहाडबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेको बताउनुभयो ।
सडक अवरुद्ध भएपछि यात्रु तथा मालवाहक सवारीसाधनलाई आवतजावतमा समस्या पुगेको छ । पहिरोका कारण दक्षिणी हुम्लाबाट सदरमुकाम सिमकोटतर्फ आउनेजाने यात्रु प्रभावित भएका छन् ।
कर्णाली करिडोर हुम्लालाई बाहिरी जिल्लासँग जोड्ने प्रमुख स्थलमार्ग हो । वर्षायाममा पहिरोका कारण करिडोर पटकपटक अवरुद्ध हुँदा यातायातसँगै जिल्लाको खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुँदै आएको छ ।
