• २०८३ भाद्र २९ गते सोमवार

बैतडीमा घाँस काट्ने क्रममा भिरबाट लडेर महिला स्वास्थ्य स्वयंसेविकाको मृत्यु

लोकराज जोशी पढ्न लाग्ने समय : १ मिनेट

भदौ २९,बैतडी । बैतडीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिला स्वास्थ्य स्वयंसेविकाको मृत्यु भएको छ। सुर्नया गाउँपालिका–५ हरिचनकी अन्दाजी ३० वर्षीया गौरा मडैको आइतबार भिरबाट लडेर मृत्यु भएको हो। प्राप्त जानकारीअनुसार आइतबार दिउँसो करिब १२ बजेको समयमा मडै घर नजिकै रहेको गोगनाडी खोला भिरमा घाँस काट्न गएकी थिइन्। घाँस काट्ने क्रममा अचानक भिरबाट लडेर उनी गम्भीर घाइते भएकी थिइन्।

भिरबाट लड्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो। घटनापछि स्थानीय तथा आफन्तले उद्धार गरी उपचारका लागि अस्पताल लैजाने प्रयास गरेका थिए। तर गम्भीर अवस्थामा रहेकी मडैको अस्पताल पुर्‍याउनुअघि नै बाटोमै मृत्यु भएको रौलेश्वर स्वास्थ्यचौकीका इन्चार्ज नरेश मडैले जानकारी दिएका छन्। मृतक गौरा मडै विगत पाँच वर्षदेखि रौलेश्वर स्वास्थ्यचौकीमा महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत रहँदै आएकी थिइन्। गाउँघरमा स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने, महिला तथा बालबालिकाको स्वास्थ्य सेवामा सहजीकरण गर्ने लगायतका काममा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी थिइन्।

घाँस काट्ने क्रममा भएको यस दुःखद दुर्घटनाले परिवारसँगै स्थानीय समुदाय र स्वास्थ्यचौकी परिवारलाई समेत स्तब्ध बनाएको छ। स्थानीयस्तरमा स्वास्थ्य सेवामा योगदान पुर्‍याउँदै आएकी मडैको असामयिक निधनप्रति स्थानीयवासी तथा स्वास्थ्यकर्मीहरूले दुःख व्यक्त गरेका छन्।

मडैको परिवारमा श्रीमान् र दुई छोरा रहेका छन्। घटनाले उनका परिवारजनमा गहिरो शोक निम्त्याएको छ। दुर्घटनापछि परिवार तथा आफन्तजन शोकमा डुबेका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस