भदौ २७, काठमाडौं । बैंकिङ कारोबारमा केही घण्टाको ढिलाइले पनि ठूलो आर्थिक प्रभाव पार्न सक्छ । तर, काठमाडौंको नयाँ बानेश्वरस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंकमा एक्सप्रेस चेक क्लियरिङसँग सम्बन्धित प्रणालीगत समस्या देखिँदा सेवाग्राहीले शुक्रबारदेखि आइतबारसम्म सेवा लिन नसकेको गुनासो गरेका छन् । विशेषगरी शुक्रबार प्रणालीमा समस्या आएपछि एक्सप्रेस क्लियरिङमार्फत चेक पठाएर तत्काल रकम प्राप्त गर्ने अपेक्षामा रहेका ग्राहकहरू प्रभावित भएको उनीहरूको भनाइ छ ।

सेवाग्राहीका अनुसार बैंकको ‘एक्सप्रेस क्लियरिङ’ वा ‘एक्सप्रेस इन्ट्रि’ सम्बन्धी प्रणालीको आइडी पहुँचमा समस्या आएपछि शुक्रबार चेक क्लियरिङ प्रक्रिया अघि बढ्न सकेन । शुक्रबारको कारोबार प्रभावित भएपछि शनिबार बैंकिङ कारोबार बन्द रहने दिन प¥यो र आइतबारसम्म पनि समस्या समाधान नभएको अवस्थामा सेवाग्राहीले थप समय कुर्नुपर्ने अवस्था बनेको गुनासो गरेका छन् ।
दुई घण्टाको सेवामा तीन दिनको प्रतीक्षा
नेपालमा चेक क्लियरिङको प्रमुख पूर्वाधार निकाय नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को इलेक्ट्रोनिक चेक क्लियरिङ ‘एनसीएचएल– इसीसी हो। यस प्रणालीमा कागजी चेकलाई डिजिटल इमेजमा रूपान्तरण गरी बैंक तथा वित्तीय संस्थाबीच विद्युतीय माध्यमबाट क्लियरिङ गरिन्छ। यसले चेक भौतिक रूपमा एउटा बैंकबाट अर्को बैंकमा लैजानुपर्ने आवश्यकता हटाएको छ।
एनसीएचएलको पछिल्लो तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२÷८३ मा एनसीएचएल– इसीसीमार्फत करिब १ करोड ४८ लाख १० हजार चेक कारोबार भएका छन्।
ती कारोबारको कुल मूल्य करिब रु.७८.७३ ट्रिलियन रहेको तथ्याङ्क सार्वजनिक भएको छ। अघिल्लो वर्ष करिब १ करोड ४८ लाख ९० हजार चेकबाट रु.७६.८४ ट्रिलियन बराबरको कारोबार भएको थियो। यसले संस्थागत भुक्तानीमा चेकको प्रयोग पूर्ण रूपमा विस्थापित भएको छैन।
डिजिटल भुक्तानीको तीव्र विस्तार भइरहे पनि चेक अझै ठूलो रकमको कारोबारमा प्रयोग भइरहेको देखाउँछ। विशेषगरी व्यवसाय, निर्माण कम्पनी, सप्लायर, घरजग्गा, शिक्षा, स्वास्थ्य, व्यापार तथा विभिन्न एनसीएचएलको ‘एक्सप्रेस चेक क्लियरिङ’ सेवा अझ छिटो कारोबार सम्पन्न गर्न बनाइएको हो। उपलब्ध विवरणअनुसार एक्सप्रेस क्लियरिङमा प्रस्तुतिदेखि अन्तिम सेटलमेन्टसम्म करिब दुई घण्टाको छोटो विन्डो हुन्छ। अर्थात्, सामान्य चेक क्लियरिङमा लाग्ने समय घटाएर तत्काल वा छिटो रकम प्राप्त गर्ने उद्देश्यले ग्राहकले एक्सप्रेस क्लियरिङको शुल्कसमेत तिर्ने गरेका छन्।
यस्तो सेवामा प्राविधिक समस्या आएर कारोबार तीन दिनसम्म प्रभावित हुनु केवल ‘सिस्टम डाउन’को विषय नभई ग्राहकको नगद प्रवाह, भुक्तानी दायित्व र व्यावसायिक कारोबारसँग प्रत्यक्ष जोडिने विषय हो।
सेवाग्राहीलाई के कस्तो असर ?
एक्सप्रेस क्लियरिङको उद्देश्य नै ग्राहकले चेकमार्फत आएको रकम छिटो प्राप्त गर्न सकून् भन्ने हो। तर प्रणालीगत समस्याका कारण रकम समयमै खातामा नआउँदा ग्राहकको अर्को भुक्तानी रोकिन सक्छ र रोकिने गरेको छ ।
यसको उदाहरण शुक्रबार क्लियर हुने अपेक्षामा चेक जम्मा गरेको कुनै व्यवसायीले सोही रकमबाट कर्मचारीको तलब, आपूर्तिकर्ताको भुक्तानी, ऋणको किस्ता वा अर्को बैंकको दायित्व पूरा गर्ने योजना बनाएको भएपनि रकम समयमा उपलब्ध नभए उसले थप ऋण खोज्नुपर्ने, कारोबार रोक्नुपर्ने वा जरिवाना तिर्नुपर्ने अवस्था आउने गरेको सेवाग्राहीहरुको भनाइ छ ।
त्यस्तै, एक्सप्रेस क्लियरिङका लागि ग्राहकबाट अतिरिक्त शुल्क लिइने गरेको भएपनि सेवा उपलब्ध नभएको अवधिको जिम्मेवारी कसले लिने भन्नेबारे ग्राहकहरुको प्रश्न रहँर्दै आएको छ ।
जवाफ माग्दा गुनासो दर्ता
चेक क्लियरिङअन्तर्गतको एक्सप्रेस क्लियरिङ सेवामा देखिएको प्राविधिक समस्याका कारण सेवाग्राहीले लगातार तीन दिन सेवा लिन नपाएको विषयमा बैंकसँग जिज्ञासा राख्दा क्लाइन्ट केयर सेन्टरले समस्याका बारेमा प्रश्नको तत्काल उत्तर दिनुको सट्टा सबै विषयलाई गुनासोका रूपमा दर्ता गर्दै सम्बन्धित शाखाले अध्ययन गरी दुई कार्यदिनभित्र जवाफसहित इमेल पठाउने जानकारी दिएको छ।
यसले प्राविधिक समस्या वास्तवमा कहाँ र कुन तहमा भएको थियो, त्यसबाट कति सेवाग्राही तथा कारोबार प्रभावित भए र सेवा अवरुद्ध हुँदा अतिरिक्त शुल्क तिरेका ग्राहकप्रति बैंकको जिम्मेवारी के हुन्छ भन्ने प्रश्न अझै अनुत्तरित रहेको देखाएको छ।
प्रणालीमा समस्या नरहेको दाबी
यसै विषयमा नेपालमा चेक क्लियरिङ तथा भुक्तानी प्रणाली सञ्चालन गर्ने नेपाल क्लियरिङ हाउस लिमिटेडका सूचना अधिकारीका अनुसार संस्थाको आन्तरिक प्रणालीमा समस्या छैन ।
सूचना अधिकारीका अनुसार समस्या बैंकको आफ्नै प्रणाली वा पहिचान (आइडी)सम्बन्धी प्राविधिक पक्षमा भएको भए सम्बन्धित बैंकले सेवाग्राहीलाई वैकल्पिक शाखाबाट चेक क्लियरिङ गराउन सक्ने व्यवस्था अपनाउनुपर्छ ।
तर व्यवहारमा भने एउटा शाखामा सेवा लिन पुगेका सेवाग्राहीलाई समस्या आएपछि अर्को शाखामा पठाउनु मात्रै तत्काल समाधान नहुने सेवाग्राहीहरुको भनाइछ ।
विशेषगरी एक्सप्रेस क्लियरिङजस्तो समयसीमासँग जोडिएको सेवामा सेवाग्राहीले अर्को शाखासम्म पुग्नुपर्ने अवस्था सिर्जना हुँदा त्यस क्रममा लाग्ने समय र जोखिम महत्वपूर्ण हुने एक सेवाग्राहीले भने ।
शुक्रबारजस्तो बैंकिङ कारोबारको महत्वपूर्ण दिनमा समस्या आएर अर्को शाखामा जान सुझाइएको भए पनि सेवाग्राही त्यहाँ पुग्दासम्म कार्यालय समय समाप्त हुने अवस्था आउन सक्ने एक सेवाग्राहीले प्रतिक्रिया दिए । अर्को शाखाबाट सेवा लिन सकिने’ विकल्प व्यवहारमा प्रभावकारी नभएको भनाइ छ ।
तीन दिनको अवरोध, धेरै प्रश्न
ग्राहकको गुनासोअनुसार शुक्रबार सुरु भएको समस्या शनिबारको बिदा र आइतबारसम्म तन्किँदा एउटा प्राविधिक समस्याले व्यवहारमा तीन दिनको सेवा अवरोधको रूप लिएको छ। तर बैंकिङ प्रणालीमा ‘सिस्टम बिग्रियो’ भन्ने सामान्य जवाफ मात्र पर्याप्त नहुने भुक्तभोगीहरुको भनाइ छ ।
कति चेक रोकिए, कति रुपैयाँ बराबरको कारोबार प्रभावित भयो, कति ग्राहक प्रभावित भए, समस्या कुन प्रणालीमा आयो, कहिले समाधान भयो, क्लियरिङको शुल्क लिइएको भए त्यसको समायोजन हुन्छ कि हुँदैन र ग्राहकलाई भएको वास्तविक आर्थिक क्षतिको जिम्मेवारी कसले लिन्छ भन्नेबारे बैंकमाथि गम्भीर प्रश्न तेर्सिएको छ ।
डिजिटल बैंकिङ र तत्काल भुक्तानी प्रणाली विस्तार भइरहेको अवस्थामा ग्राहकले बैंकसँग केवल पैसा सुरक्षित राख्ने सुविधा मात्र होइन, विश्वसनीय, निरन्तर र समयमै सेवा अपेक्षा गरेको भएपनि त्यो सुविधान नपाइको बैंक परिसरमा भेटिएका एक ग्राहकले भने ।
चेक क्लियरिङ जस्तो संवेदनशील वित्तीय पूर्वाधारमा केही घण्टाको प्राविधिक अवरोध पनि ठूलो आर्थिक प्रभावमा परिणत हुनसक्ने भएकाले बैंक तथा सम्बन्धित भुक्तानी प्रणाली सञ्चालकले यस्तो जोखिमका लागि प्रभावकारी ब्याकअप र आकस्मिकता व्यवस्था राख्नुपर्ने नाम नबताउने शर्तमा एक ग्राहकले भने ।
‘यस्ता घटनाले सामान्य तर गम्भीर सन्देश दिएको, बैंकिङ प्रविधि जति आधुनिक हुँदै जान्छ, त्यसको प्रणाली असफल हुँदा ग्राहकलाई पर्ने जोखिम पनि त्यति नै ठूलो हुने गरेको छ । त्यसैले प्रणाली चलाउनु मात्र पर्याप्त छैन,प्रणाली असफल हुँदा ग्राहकलाई जोगाउने व्यवस्था पनि उत्तिकै बलियो हुनुपर्छ,’ ति ग्राहकले भने ।