• २०८३ भाद्र २७ गते शनिवार

भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट
भदौ २५, बर्दिया। रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई जना बेपत्ता भएपछि आफन्त घर फर्कने आशमा पर्खिरहेका छन् । भदौ १० गते आएको बाढीमा छोराबुहारी (दीपेन्द्र र फूलमाया तमाङ) सम्पर्कविहीन बनेपछि बारबर्दिया नगरपालिका–१ मुर्गिहवाका आँशुराम थारु र कइरी थारु छोराबुहारी फर्किने आशमा दिनरात बाटो हेरिरहेका छन् ।
बुवाआमासँग सम्पर्क टुटेपछि उनीहरूका छोराछोरी अहिले मामाको साहरामा काठमाडौँमा छन् । छोराबुहारीको अवस्थाबारे कुनै खबर नपाउँदा बुवाआमाको पर्खाइसँगै बालबालिकाको भविष्यसमेत अन्योलमा परेको आँशुरामले बताउनुभयो ।
छोरा सम्पर्कमा आउने आशामा बुबा आँशुराम मोबाइलमा घण्टी बज्यौ कि तुरुन्तै फोन उठाउनुहुन्छ । घरको बाटोतिर पनि आँखा लगाइरहनुहुन्छ । “छोराबुहारी भेटिएको फोन कतैबाट आयो कि भनेर तुरुन्तै उठाउने गर्छुु”, उहाँले भन्नुभयो, “घर आउँदैछन् कि भनेर बाटो हेर्छु । तर, अहिलेसम्म कतैबाट कुनै खबर आएको छैन ।” छोराबुहारी सम्पर्कविहीन भएपछि उहाँलाई नातिनतिनालाई कसरी शिक्षा दीक्षा दिने भन्ने चिन्ता थपिएको छ ।
“छोराबुहारीको अवस्थाबारे कुनै जानकारी नहुँदा परिवारका सदस्य विक्षिप्त बनेका छन् । हामीलाई छोराबुहारी भेटाइदेउ भनेर रातदिन भगवानसँग प्रथना गरिरहेका छौँ”, निराश हुँदै उहाँले भन्नुभयो, “सरकार तथा सरोकार भएका निकायले छिटो बेपत्ताको खोजी गरी वास्तविक आवस्था पत्ता लगाएर जानकारी दिनुपर्‍यो । यदी नभेटिएमा शव दिनुपर्छ । नातिनतिनालाई पढाइका लागि आवश्यक व्यवस्था गरिनुपर्छ ।”
रसुवाको सल्लेटारमा दीपेन्द्र होटल सञ्चालन गर्दै परिवारसहित बस्दै आएका थिए । भदौ १० गते भोटेकोशीमा आएको बाढीले दीपेन्द र श्रीमती फूलमाया सम्पर्कविहीन भएका छन् । बाढी आउँदा दीपेन्द्रका छोरा र छोरी विद्यालय गएका थिए । विद्यालय गएकाले छोराछोरी सुरक्षित भए भने आफ्नै होटलमा रहेका दीपेन्द्र र पत्नी फूलमाया बाढीपछि सम्पर्कविहीन भएका बुबा आँशुरामले जानकारी दिनुभयो ।
दीपेन्द्रका छोरा दीप थारु आठ वर्षका छन्, भने छोरी दीक्षा छ वर्षकी छिन् । उनीहरू दुवै जना रसुवाको स्थानीय विद्यालयमा अध्ययनरत थिए । बाढीपछि अभिभावकविहीन बनेपछि उद्धार गरी काठमाडौँ लगिएको हो । अहिले मामा उत्तम तामाङसँग बसिरहेका परिवारले जानकारी दिएको छ ।
“बेपत्ता भएका दीपेन्द्र विगत ११ वर्षदेखि रसुवामा बस्दै आएका थिए । सुरुमा कामदारका रूपमा रसुवास्थित चाइना कम्पनीमा काम गर्दथे । त्यसको दुई वर्षपछि रसुवाकी फूलमायासँग विवाह भयो । पछि सबै परिवार यहाँ करिब तीन वर्ष बस्यो । चाइनामा काम गर्न जाने भनेर दिपेन्दले सात वर्षअघि बसाइँसराइ गरेर परिवारसहित रसुवा बसिरहेको थियो”, बुबा आँशुरामले भन्नुभयो । बसाइँसराइ गरेको एक वर्षपछि रसुवामा होटल चलाएर बसिरहेका छोराबुहारी बाढीपछि सम्पर्कविहीन भएको उहाँले दुखेसो पोख्नुभयो ।
आँशुरामका छ भाइ छोरा छन् । तीमध्ये राइला छोरा हुन् दिपेन्द्र । दीपेन्द्र जस्तै सबै छोरा काठमाडौँ, पोखरा, नुवाकोटलगायत विभिन्न ठाउँमा काम गरिरहेका छन् । छोराबुहारी बाढीपछि सम्पर्कविहीन भएपछि परिवारका सबै सदस्य दीपेन्द्र र फूलमायाको खोजीमा चितवन, धादिङ, नुवाकोट र काठमाडौँका विभिन्न अस्पताल तथा होल्डिङ सेन्टरसम्म पुगेका छन् ।
“कतै पनि भाइबुहारीको अवस्था पत्ता लाग्न नसकेको बताएका छन् । छोराबुहारी कतै भेटिन्छन् कि भनेर चितवन, धादिङ, नुवाकोट र काठमाडौँसम्म सबै ठाउँमा छोराहरूले खोजी गरे”, बुबा आँशुरामले भन्नुभयो , “तर, भेटिएन । अहिले त अरु छोराहरू पनि आआफ्नो काम फर्किएका छन् ।”
कामको सिलसिलामा रसुवा र नुवाकोट पुगेका दीपेन्द्र जस्तै बर्दियाका ७६ जना अझै सम्पर्कविहीन रहेका जिल्ला प्रशासन कार्यालय बर्दियाका विपद् सम्पर्कव्यक्ति लोकप्रसाद ढकालले जानकारी दिनुभयो । “बारबर्दियाका मात्रै २५ जना सम्पर्कविहीन छन् । हालसम्म ५३ जना घर फर्किसकेका छन्”, उहाँले भन्नुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस