• २०८३ भाद्र २६ गते शुक्रवार

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिम कांग्रेस संसदीय दलले ३ लाख ६१ हजार राहत पठायो

लोकराज जोशी पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६, धनगढी । सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेस संसदीय दलले रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि राहत सहयोग गरेको छ। बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै संसदीय दलले यसअघि गरेको घोषणा कार्यान्वयन गर्दै रु. ३ लाख ६१ हजार ६६७ रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो।

संसदीय दलका नेता कमलबहादुर शाहको एक महिनाको तलब तथा अन्य माननीय प्रदेशसभा सदस्यहरूको १० दिन बराबरको तलब कट्टा गरी संकलित रकम राहत कोषमा जम्मा गरिएको जनाइएको छ।

विपद्का बेला पीडित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको भन्दै कांग्रेस संसदीय दलले मानवीय सहयोगस्वरूप उक्त रकम उपलब्ध गराएको जनाएको छ। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो।

संसदीय दलले प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोग र सहकार्यका लागि सम्बन्धित सबै पक्षलाई आग्रहसमेत गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस