भदौ २०, विराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने राधाकृष्ण रथयात्रा कोशी प्रदेशका विभिन्न सहरमा शनिबार निकालिँदै छ । विराटनगरमा ५९औँ राधाकृष्ण रथयात्रा निकालिँदै छ भने इटहरी, दुहबी लगायतका सहरमा पनि रथयात्राको तयारी गरिएको छ । विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे रथयात्रा सुरु हुने आयोजकले जनाएको छ । रथयात्राका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ ।

विराटनगरको रथयात्रामा नेपालका विभिन्न जिल्लासहित भारतका सीमावर्ती क्षेत्रबाट पाँच लाखभन्दा बढी भक्तजन सहभागी हुने आयोजकको अनुमान छ । ठुलो संख्यामा श्रद्धालु सहभागी हुने भएकाले व्यवस्थापन, सुरक्षा तथा स्वास्थ्य सेवाका लागि विभिन्न टोली परिचालन गरिएको छ ।
यस पटक विराटनगरको रथयात्रामा डिजे साउन्ड प्रयोग गर्न रोक लगाइएको छ । धार्मिक पर्वको मौलिकता र परम्परागत स्वरूपलाई प्राथमिकता दिँदै डिजेको सट्टा भजन–कीर्तन, धार्मिक झाँकी तथा सांस्कृतिक प्रस्तुतिलाई प्राथमिकता दिइएको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले बताए ।
राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा तीन पैनी चोक, गोल्छा चोक, मेनरोड, ट्राफिक चोक, रोड शेष चोक र महेन्द्र चोक हुँदै कोशी राजमार्गतर्फ जानेछ । त्यसपछि बरगाछी र दुर्गा चोक हुँदै पुनः राधाकृष्ण मन्दिर फर्किनेछ । करिब आठ किलोमिटर दूरीको रथयात्राका क्रममा ४४ स्थानमा विश्रामको व्यवस्था गरिएको छ ।
रथयात्राका क्रममा भेटीका रूपमा संकलन हुने रकम भोटेकोशी बाढीपीडितको राहतमा प्रयोग गरिने आयोजकले जनाएको छ । नगर परिक्रमा गराइने तीन वटा दान पेटिकाबाट सङ्कलित रकमसमेत प्रधानमन्त्री राहत कोषमा जम्मा गरी बाढीपीडितका लागि खर्च गरिनेछ ।
रथयात्राको भिड तथा सम्भावित गतिविधिमाथि निगरानी राख्न ड्रोनसमेत प्रयोग गरिने मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । रथयात्राका क्रममा उच्छृङ्खल गतिविधि तथा आपराधिक क्रियाकलाप गर्नेहरूलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गरिने प्रहरीले जनाएको छ ।
कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने राधाकृष्ण रथयात्रा कोशी प्रदेशका विभिन्न सहरमा धार्मिक उत्सवका रूपमा मनाइँदै आएको छ । विराटनगरसहित इटहरी, दुहबी लगायतका सहरमा समेत शनिबार रथयात्रा निकालिँदै छ ।