• २०८३ भाद्र १९ गते शुक्रवार

हुलाकबाट आएको पार्सलमा थाई गाँजा भेटिएपछि चार जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १९, इटहरी। हुलाकमार्फत नेपाल भित्र्याइएको १ किलो ९१० ग्राम थाई गाँजासहित चार जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय डिल्लीबजारबाट खटिएको प्रहरी टोलीले भदौ ९ गते थाइल्यान्डबाट गोश्वारा हुलाक कार्यालय हुँदै इटहरी पठाइएको पार्सल जाँच गर्दा ९१० ग्राम थाई गाँजा बरामद गरेको थियो ।

प्रहरीले पार्सल बुझ्ने व्यक्तिलाई पक्राउ गर्न निगरानी राखेको थियो । सोही क्रममा भदौ १६ गते पार्सल बुझेर लैजाँदै गरेका सुनसरीकी १९ वर्षीया जेसिका तामाङ र धनकुटाकी २५ वर्षीया तारा मगर पक्राउ परेका थिए । उनीहरू बस्दै आएको धरान उपमहानगरपालिका–१५ स्थित कोठामा खानतलासी गर्दा थप १ किलो थाई गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, गाँजा लिन आएका भारतका २४ वर्षीय सारोन सुनिल तिया र २२ वर्षीय अमल आरलाई पनि भदौ १९ गते धरान उपमहानगरपालिका–८ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चारै जनाको साथबाट १ किलो ९१० ग्राम थाई गाँजा र चार थान मोबाइल बरामद भएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय धरान र लागुऔषध नियन्त्रण ब्युरोबाट थप अनुसन्धान भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस