• २०८३ भाद्र १९ गते शुक्रवार

विपद्को घडीमा मानवीय संवेदना र समग्र समाजको दायित्व

खबर२४ नेपाल पढ्न लाग्ने समय : ६ मिनेट

भदौ १९, काठमाडौं । आजको समयमा विज्ञान, प्रविधि र भौतिक विकासले मानव जीवनलाई अभूतपूर्व रूपमा सहज बनाइरहेको छ । सूचना क्षणभरमै संसारको एक कुनाबाट अर्को कुनासम्म पुग्छ । हामी सामाजिक सञ्जालमार्फत टाढा रहेका मानिससँग जोडिएका छौँ । तर विडम्बना के छ भने, प्रविधिले मानिसलाई नजिक ल्याउँदै गर्दा कतिपय अवस्थामा मानवीय संवेदना भने टाढिँदै गएको अनुभूति हुन्छ ।

देश यतिबेला बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपद्का कारण पीडामा छ । कतिपय परिवारले आफ्ना प्रियजन गुमाएका छन्, कतिपयको घरबार उजाडिएको छ, कतिपयको जीवनभरको कमाइ क्षणभरमै बगेको छ । कसैको घरमा चुलो बल्न सकेको छैन, कसैलाई सुरक्षित बासस्थानको चिन्ता छ, कसैलाई घाइते आफन्तको उपचारको चिन्ता छ । यस्तो अवस्थामा पीडितका आँखामा आँसु मात्र हुँदैनन्, त्यहाँ एउटा मौन प्रश्न पनि हुन्छ, ‘हामीलाई बचाउन, सम्हाल्न र साथ दिन को आउँछ ?’ यस्तो कठिन घडीमा हामीले आफूलाई एउटा प्रश्न सोध्नुपर्छः के हामी अझै पनि मानव भएर बाँचेका छौँ ?

विपद्को समयमा दोष कसको हो भनेर बहस गर्नु अस्वाभाविक होईन । विपद् व्यवस्थापनमा सरकार, स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज र सम्बन्धित सबै पक्षको भूमिका र कमजोरीबारे समीक्षा आवश्यक हुन्छ । तर पीडितको जीवन जोखिममा रहेको समयमा आरोप प्रत्यारोपलाई प्राथमिकता दिनु मानवीय दृष्टिले उचित हुँदैन । आज कसैको घर बगेको छ भने त्यो केवल उसको व्यक्तिगत समस्या होईन । आज कसैको परिवारमा मृत्यु भएको छ भने त्यो केवल एउटा परिवारको दुःख होईन । एउटा नागरिकको पीडा अन्ततः सिंगो समाजको पीडा हो । विपद्को समयमा सामाजिक सञ्जालमा कसलाई गाली गर्ने, कसलाई दोष दिने र कसको कमजोरी देखाउने भन्ने प्रतिस्पर्धाभन्दा कसरी एउटा जीवन बचाउन सकिन्छ, कसरी एउटा परिवारलाई राहत दिन सकिन्छ र कसरी पीडितको आँसु पुछ्न सकिन्छ भन्ने प्रश्न महत्वपूर्ण हुनुपर्छ ।

हामी सामाजिक सञ्जालमा मानवता, करुणा, देशप्रेम र सहयोगका ठूलाठूला कुरा गर्छौ । दुःखद घटनामा श्रद्धाञ्जली लेख्छौँ, सहानुभूति व्यक्त गर्छौँ र ‘हामी सबै पीडितको साथमा छौँ’ भन्छौँ । तर प्रश्न उठ्छ, हाम्रो बोली व्यवहारमा कति रूपान्तरण भएको छ ? मानवता शब्दमा होईन, व्यवहारमा देखिनुपर्छ । करुणा सामाजिक संजालका स्टाटसमा होईन, आवश्यक परेको बेला देखाइएको सहयोगमा देखिनुपर्छ । देशप्रेम भाषणमा मात्र होईन, देशवासी दुःखमा पर्दा उनीहरूको साथमा उभिने व्यवहारमा देखिनुपर्छ । कहिलेकाहीँ एउटा फोन कल, एउटा बोतल पानी, एउटा कम्बल, केही किलो खाद्यान्न, एउटा सुरक्षित सवारी साधन, केही घण्टाको स्वयंसेवा वा केवल पीडित व्यक्तिको कुरा ध्यानपूर्वक सुनिदिनु पनि ठूलो मानवीय सहयोग बन्न सक्छ । सहयोगको मूल्य त्यसको आकारले होईन, सहयोग तब सार्थक हुन्छ जव सहयोगले कसैको जीवनमा ल्याएको प्रभावले निर्धारण गर्छ ।

विपद्का बेला सहयोग भन्नासाथ हामी प्रायः आर्थिक सहयोगलाई सम्झन्छौँ । आर्थिक सहयोग अत्यन्त महत्वपूर्ण छ, तर मानवताको दायरा त्यतिमै सीमित छैन । जसले पैसा दिन सक्छ, उसले आर्थिक सहयोग गरौँ, जसले श्रम दिन सक्छ, उसले स्वयंसेवा गरौँ, जससँग सवारी साधन छ, उसले उद्धार तथा राहतमा सहयोग गरौँ । जससँग प्राविधिक ज्ञान छ, उसले आफ्नो विशेषज्ञता प्रयोग गरौँ, जससँग सञ्चारको पहुँच छ, उसले सही सूचना प्रवाह गरौँ, जससँग प्रभाव छ, उसले सहयोग जुटाउन आवाज उठाऔँ, र जससँग यीमध्ये केही पनि छैन, उसले कम्तीमा गलत सूचना, अफवाह र घृणा फैलाउने काम नगरौँ । कहिलेकाहीँ सहयोग गर्न नसक्नु ठूलो कमजोरी होइन, सहयोग गर्न सक्ने अवस्थामा पनि संवेदनहीन बन्नु ठूलो कमजोरी हो ।

आज सामाजिक सञ्जाल राहत र उद्धारको महत्वपूर्ण माध्यम बन्न सक्छ । तर यही माध्यम गलत सूचना, अफवाह, अपुष्ट समाचार र पीडितको संवेदनशील अवस्थाको प्रदर्शन गर्ने माध्यम पनि बन्नसक्छ ।

पीडितको दुःखलाई मनोरञ्जन वा सामाजिक सञ्जालको सामग्री बनाउनु हुँदैन । मृतक तथा घाइते तस्वीर र भिडियोहरु अनावश्यक रूपमा प्रसारण गर्नु हुँदैन । अपुष्ट सूचना फैलाएर परिवारमा थप त्रास सिर्जना गर्नु हुँदैन । एउटा सहि सूचना कुनै माध्यममा साझा गर्नाले जीवन बचाउन सक्छ भने एउटा गलत सूचनाले जीवन जोखिममा पार्न पनि सक्छ । त्यसैले विपद्को हामी सबै सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्ता र नागरिकका रूपमा जिम्मेवार हुन आवश्यक छ ।

विपद् व्यवस्थापन राज्यको प्रमुख दायित्व हो। उद्धार, उपचार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि राज्यका संयन्त्र प्रभावकारी रूपमा परिचालित हुनुपर्छ । प्रभावित नागरिकले राहतका लागि पहुँच, पहिचान वा राजनीतिक सम्बन्ध खोज्नुपर्ने अवस्था आउनु हुँदैन । तर राज्यको दायित्व छ भन्दैमा नागरिकको जिम्मेवारी समाप्त हुँदैन । विपद् व्यवस्थापन सरकार एक्लैले गर्न सक्ने काम होईन । स्थानीय समुदाय, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, गैरसरकारी संस्था, निजी क्षेत्र, सञ्चारमाध्यम, स्वयंसेवक, प्रवासी नेपाली तथा आम नागरिक सबैको संयुक्त प्रयास आवश्यक हुन्छ । विपद्को समयमा सरकार र नागरिकबीच दूरी होईन, सहकार्य अपरिहार्य छ । पीडितलाई दोष होईन, सहारा दिउँ । सबैभन्दा दुःखद कुरा के हुन्छ भने विपद्को पीडामा परेको मानिसलाई समेत उसको अवस्था वा कमजोरीका लागि दोष दिईन्छ । ‘किन त्यहाँ बसेको?’, ‘किन घर त्यहाँ बनाएको?’, ‘किन समयमै निस्किएन?’ जस्ता प्रश्नले पीडितको घाउ निको पार्दैनन् । विपद् भोगिरहेको व्यक्तिलाई उपदेशभन्दा पहिले सहारा चाहिन्छ । उसलाई दोष होईन, सुरक्षित ठाउँ चाहिन्छ । आलोचना होईन, खाना चाहिन्छ । राजनीतिक भाषण होईन, औषधि चाहिन्छ । सामाजिक सञ्जालको सहानुभूति मात्र होईन, वास्तविक सहयोग चाहिन्छ । आज अरूको घरमा विपद् छ, भोलि हाम्रो घरमा पनि हुन सक्छ । प्राकृतिक विपद्ले जात, धर्म, वर्ग, क्षेत्र, विचार वा राजनीतिक आस्था हेर्दैन । बाढी आउँदा सबैको घरमा पानी पस्न सक्छ । पहिरो खस्दा पद, प्रतिष्ठा र सम्पत्तिले सँधै सुरक्षा दिन सक्दैन । आज हामी सुरक्षित स्थानमा बसेर अरूको दुःख हेरिरहेका हुन सक्छौँ । तर भोलि परिस्थिति फरक हुन सक्छ । आज जसलाई हामी सहयोग गरिरहेका छौँ, भोलि हामीलाई पनि कसैको पनि सहयोगी हात आवश्यक पर्न सक्छ । त्यसैले मानवीय संवेदना केवल अरूका लागि गरिएको दान होईन । यो हाम्रो साझा अस्तित्वको आधार हो ।

यो विपद्को घडीमा हामी सबैले आफ्नो क्षमता र अवस्थाअनुसार केही न केही गर्न सक्छौँ । आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गरौँ । राहत सामग्री आवश्यक ठाउँमा पु¥याऔँ । रक्तदान गरौँ । स्वयंसेवामा सहभागी बनौँ । उद्धार तथा राहतका लागि आफ्नो सवारी वा साधन उपलब्ध गराऔँ । विश्वसनीय निकायबाट मात्र सूचना लिने र प्रसार गर्ने । अफवाह र घृणा फैलाउने काम रोकौँ । पीडितको आत्मसम्मान र गोपनीयताको सम्मान गरौँ । र सबैभन्दा महत्वपूर्ण कुरा, एकअर्काको दुःखलाई आफ्नो दुःख सम्झने संस्कार विकास गरौँ ।

विपद्को यो घडी हामी सबैका लागि केवल दुःखको समय होईन, हाम्रो मानवताको कसीको मापन हुने समय पनि हो । इतिहासले हाम्रो भाषण सम्झने छैन, सामाजिक सञ्जालमा रङ्गिएको हाम्रो स्टाटसलाई सम्झने छैन । इतिहासले सम्झने कुरा के हो भने, संकटको समयमा हामी कहाँ उभिएका थियौँ ? हामीले आँसु देखेर आँखा फर्कायौँ कि आँसु पुछ्न हात बढायौँ ? हामीले दोष खोज्यौँ कि समाधान खोज्यौँ ? हामी तमासा हेर्ने भीड बन्यौँ कि उद्धारमा जुट्ने मानव बन्यौँ ? आज आवश्यक कुरा एकअर्कालाई दोष दिनु होईन, एकअर्काको हात समात्नु हो । आवश्यक कुरा राजनीतिक विभाजन होईन, मानवीय एकता हो । आवश्यक कुरा ठूलो भाषण होईन, सानो भए पनि वास्तविक सहयोग हो र सबैभन्दा ठूलो आवश्यकता भनेको मानव भएर मानवको पीडा महसुस गर्नु हो ।

आउनुहोस्, विपद्को यो कठिन घडीमा हामी आफ्नो स्थानबाट जे गर्न सक्छौँ, त्यही गरौँ । कसैले आर्थिक सहयोग गरौँ, कसैले भौतिक सहयोग गरौँ, कसैले श्रम र समय दिऔँ, कसैले सही सूचना प्रसारण गरौं र कसैले दुःखमा परेका मानिसलाई केवल सहयोगी हातमात्र भए पनि दिउँ अन्ततः हाम्रो पहिचान हाम्रो सम्पत्ति, पद वा प्रतिष्ठाले होईन, अरूको पीडामा हामीले सम्पादन गरेको क्रियाकलापले मानवीयताको वास्तविक मुल्य अनि मान्यता निर्धारण गर्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस