भदौ १७, धनगढी । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आगामी सुदूरपश्चिम प्रदेशस्तरीय वाइवाई यू–१९ एकदिवसीय छनोट प्रतियोगिता तथा वाइवाई यू–१९ राष्ट्रिय एकदिवसीय प्रतियोगिताको तयारी तीव्र पारिएको छ। प्रतियोगितालाई व्यवस्थित र स्तरीय रूपमा सञ्चालन गर्न मैदान तथा पिचको तयारीमा सुदूरपश्चिम प्रदेश क्रिकेट संघका पिच क्युरेटर किसन महत निरन्तर खटिइरहेका छन्। घामपानीको प्रवाह नगरी मैदानको पिच, आउटफिल्ड तथा आवश्यक संरचनाको व्यवस्थापनमा महत सक्रिय रूपमा लागिरहेका छन्।

फाप्ला मैदानमा हुने महत्वपूर्ण यू–१९ प्रतियोगितालाई ध्यानमा राख्दै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सक्ने गरी पिचलाई उपयुक्त अवस्थामा तयार पार्ने काम भइरहेको छ। मैदानको अवस्था, पिचको गुणस्तर र खेल सञ्चालनका लागि आवश्यक तयारीलाई प्राथमिकतामा राखेर क्युरेटर महतले नियमित रूपमा मैदानमा समय दिइरहेका छन्।
सुदूरपश्चिमको क्रिकेट विकास र युवा खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आएको फाप्ला मैदानमा हुन लागेको यू–१९ प्रतियोगिताको तयारीले प्रदेशको क्रिकेट गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।