भदौ १६, काठमाडौं । बाढीको भेल रोकिए पनि त्यसले छाडेको मानवीय पीडा र चुनौती रोकिएको छैन । उद्धार र खोजी अभियानसँगै नेपाल प्रहरी अहिले पहिचान हुन नसकेका शव र मानव अङ्गको व्यवस्थापन, हजारौँ बेपत्ताको खोजी, विस्थापितका खाली घरको सुरक्षा तथा विपद्को नाममा हुनसक्ने अपराध र गलत सूचना नियन्त्रणको कठिन जिम्मेवारीमा जुटेको छ ।

अभूतपूर्व बाढीपछि उद्धार र खोजी कार्यसँगै पहिचान हुन नसकेका शव तथा मानव अङ्गको व्यवस्थापन, बेपत्ता नागरिकको पहिचान, खाली घर तथा संरचनाको सुरक्षा र विपद्को नाममा फैलिन सक्ने अपराध तथा गलत सूचनाको नियन्त्रण गर्न नेपाल प्रहरीका लागि अहिले अर्को ठूलो चुनौती थपिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेका अनुसार बाढीमा परी ठूलो मानवीय क्षति भएको छ । उनका अनुसार पछिल्लो विवरणअनुसार एक हजारभन्दा बढी शव फेला परिसकेका छन् भने सयौँ मानव अङ्गसमेत विभिन्न स्थानबाट संकलन गरिएको छ । धेरै शव क्षतविक्षत अवस्थामा रहेकाले आफन्तले प्रत्यक्ष पहिचान गर्न सक्ने अवस्था छैन ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले भने, ‘यो बाढी अत्यन्तै अकल्पनीय र दुःखद् रूपमा आयो । मानिसहरू हराइरहेका छन् र ठूलो संख्यामा शव तथा मानव अङ्ग फेला परिरहेका छन्, नेपाल प्रहरीले यसबाट गहिरो दुःख व्यक्त गर्दछ ।’
उनका अनुसार बाढीको प्रारम्भिक सूचना प्राप्त हुनासाथ नेपाल प्रहरीले स्थानीय प्रहरी युनिटमार्फत उद्धार तथा खोजी अभियान सुरु गरेको थियो । विपद्को प्रभाव रसुवाको टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, हाकु हुँदै नुवाकोटको देवीघाटसम्म व्यापक रूपमा परेको थियो । कतिपय प्रहरी युनिटसमेत सम्पर्कविहीन भएका थिए ।
सञ्चार सम्पर्क नै विच्छेद भएपछि नेपाल प्रहरीको सञ्चार निर्देशनालयबाट विशेष टोली परिचालन गरी प्रभावित क्षेत्रमा पुनः सञ्चार सेवा सञ्चालन गरिएको थियो । उनका अनुसार सुरुवाती चरणमा दर्जनौँ प्रहरी कर्मचारीसमेत हराइरहेका थिए । तीमध्ये केहीको शव फेला परिसकेको छ भने अझै २५ जना प्रहरी कर्मचारीको खोजी जारी छ ।
उनले भने, ‘बाढीको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरीले स्थानीय प्रहरी युनिटमार्फत उद्धार तथा खोजी अभियान तत्काल सुरु गरेको थियो । रसुवाको टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, हाकु हुँदै नुवाकोटको देवीघाटसम्म बाढीको व्यापक प्रभाव परेको थियो । कतिपय प्रहरी युनिटसमेत सम्पर्कविहीन भए । सञ्चार सम्पर्कविच्छेद भएपछि विशेष टोली परिचालन गरी प्रभावित क्षेत्रमा सञ्चार सेवा पुनःस्थापना गर्यौँ । सुरुवाती चरणमा दर्जनौँ प्रहरी कर्मचारीसमेत हराएका थिए, तीमध्ये केहीको शव फेला परिसकेको छ भने केहीको खोजी अझै जारी छ ।’
बेपत्ताको खोजी निरन्तर
प्रहरीका अनुसार बाढीपछि हजारौँ नागरिक बेपत्ता भएको विवरण संकलन भएको छ । पछिल्लो तथ्यांकअनुसार ४ हजार ६ सयभन्दा बढी व्यक्ति हराएको विवरण प्रहरीमा टिपाइएको छ । उद्धार कार्यलाई प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयमा आकस्मिक बैठक बसेर विभिन्न टोली परिचालन गरिएको थियो । त्यसपछि विपद् उद्धार, सूचना, समन्वय तथा व्यवस्थापनका लागि छुट्टै संरचना निर्माण गरिएको छ ।
डीआईजीको नेतृत्वमा गठन गरिएको उक्त केन्द्रमा करिब ५० जना प्रहरी कर्मचारी सिफ्टअनुसार कार्यरत छन् । केन्द्रमा बेपत्ता व्यक्ति, शव व्यवस्थापन, उद्धार, खोजी, समन्वय, परिचालन तथा सामाजिक सञ्जाल अनुगमनलगायतका लागि छुट्टाछुट्टै डेस्क राखिएको छ ।
उनले भने, ‘बाढीपछि ४ हजार ६ सयभन्दा बढी नागरिक हराएको विवरण हामीले संकलन गरेका छौँ । उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयमा आकस्मिक बैठक बसेर तत्काल विभिन्न टोली परिचालन गर्यौँ । अहिले डीआईजीको नेतृत्वमा विपद् उद्धार, सूचना, समन्वय तथा व्यवस्थापन केन्द्र सञ्चालनमा छ । करिब ५० जना प्रहरी कर्मचारी सिफ्टअनुसार खटिनुभएको छ र बेपत्ता व्यक्ति, शव व्यवस्थापन, उद्धार, खोजी, समन्वय, परिचालन तथा सामाजिक सञ्जाल अनुगमनका लागि छुट्टाछुट्टै डेस्कमार्फत काम भइरहेको छ ।’
नेपाली सेना, नेपाल प्रहरी र अन्य सुरक्षा निकायको समन्वयमा हेलिकप्टरमार्फत उद्धार भइरहेको उनले बताए । प्रहरीका तर्फबाट सञ्चार टोली, ड्रोन, तालिमप्राप्त कुकुर, मेडिकल टोली तथा सडक व्यवस्थापनका लागि छुट्टाछुट्टै जनशक्ति परिचालन गरिएको काफ्लेले बताए ।
क्षतविक्षत शव पहिचान प्रहरीका लागि सबैभन्दा कठिन काम
बाढीले बगाएर ल्याएका शवमध्ये धेरै अत्यन्त क्षतविक्षत अवस्थामा छन् । कतिपय अवस्थामा शरीरको एउटा भाग मात्रै फेला परेको छ । कसैको हात, कसैको खुट्टा, कसैको टाउको वा शरीरको अन्य भाग मात्रै फेला परेको अवस्थामा समेत प्रहरीले त्यसलाई कानुनी प्रक्रियाअनुसार संकलन गरी सुरक्षित राखेको छ ।
प्रहरीले शव फेला पर्नेबित्तिकै घटनास्थलको प्रकृति मुचुल्का, शव जाँच मुचुल्का, फोटो तथा भिडियो अभिलेख, फिंगरप्रिन्टलगायतका प्रमाण संकलन गर्ने व्यवस्था गरेको छ । प्रत्येक शव तथा मानव अङ्गलाई छुट्टाछुट्टै नम्बर र ट्याग दिएर अभिलेख राखिएको छ ।
उनले भने, ‘बाढीले बगाएर ल्याएका धेरै शव अत्यन्त क्षतविक्षत अवस्थामा छन् । कतिपय अवस्थामा शरीरको एउटा भाग मात्रै फेला परेको छ । त्यस्ता मानव अङ्गलाई समेत हामीले कानुनी प्रक्रिया पूरा गरी सुरक्षित रूपमा संकलन गरिरहेका छौँ । शव वा अङ्ग फेला पर्नेबित्तिकै घटनास्थल र शव जाँच मुचुल्का, फोटो–भिडियोग्राफी तथा आवश्यक प्रमाण संकलन गरेर प्रत्येकलाई छुट्टाछुट्टै नम्बर र ट्याग दिई अभिलेख राख्ने व्यवस्था गरेका छौँ ।’
त्यसपछि फरेन्सिक चिकित्सक तथा अनुसन्धान अधिकृतको समन्वयमा डीएनए नमुना संकलन गरी प्रोफाइलिङ गर्ने काम भइरहेको छ ।
प्रहरीका अनुसार बाढी प्रभावित जिल्लाका अस्पतालमा फरेन्सिक चिकित्सक परिचालन गरिएको छ । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी, पोखरालगायतका क्षेत्रमा फरेन्सिक विशेषज्ञ परिचालन गरी शव पहिचानको काम अघि बढाइएको छ ।
आफन्तको डीएनएबाट पहिचान
पहिचान हुन नसकेका शव तथा मानव अङ्गको पहिचानका लागि प्रहरीले पहिलो श्रेणीका नजिकका आफन्तको डीएनए नमुना संकलन गर्न थालेको छ । आमा–बुवा वा छोराछोरीमध्ये एक जनाले नेपाल प्रहरी अस्पतालमा पुगेर रगतको नमुना दिन सक्ने व्यवस्था गरिएको छ । आफन्तबाट संकलन गरिएको डीएनए प्रोफाइललाई शवबाट प्राप्त डीएनएसँग मिलाएर पहिचान गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
डीएनए मिलान भएपछि कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई शव हस्तान्तरण गरिनेछ । त्यसपछि परिवारले आफ्नो धर्म, परम्परा र संस्कारअनुसार अन्तिम संस्कार गर्न सक्नेछन् ।
विदेशमा रहेका आफन्तका लागि पनि डीएनए प्रोफाइलिङको व्यवस्था गरिएको छ। उनीहरूले सम्बन्धित देशबाटै डीएनए परीक्षण गराएर आवश्यक विवरण तथा डीभीआई फाराममार्फत नेपाल प्रहरीसँग समन्वय गर्न सक्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
उनले भने, ‘पहिचान हुन नसकेका शव तथा मानव अङ्गको पहिचानका लागि नजिकका आफन्तको डीएनए नमुना संकलन गरिरहेका छौँ । आमा–बुवा वा छोराछोरीमध्ये एक जनाले नेपाल प्रहरी अस्पतालमा आएर रगतको नमुना दिन सक्नुहुन्छ । आफन्तबाट प्राप्त नमुनाको डीएनए प्रोफाइललाई शव वा मानव अङ्गबाट प्राप्त डीएनएसँग मिलाएर पहिचान गरिनेछ । डीएनए मिलान भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई शव हस्तान्तरण गरिनेछ । विदेशमा रहेका आफन्तले पनि सम्बन्धित देशबाटै डीएनए परीक्षण गराई डीभीआई फाराममार्फत नेपाल प्रहरीसँग समन्वय गर्न सक्ने व्यवस्था मिलाएका छौँ ।’
शव व्यवस्थापनमा ‘सम्मान’ र ‘पहिचान’ दुवै जोगाउने प्रयास
बाढीपछि ठूलो संख्यामा शव आएपछि अस्पताल तथा शवगृहको क्षमताभन्दा बढी शव जम्मा भएका थिए । चितवन, नवलपरासी, कपिलवस्तु, पोखरालगायतका स्थानमा समेत शव व्यवस्थापन गर्नुपर्ने अवस्था आएको प्रहरीको भनाइ छ ।
लामो समयसम्म शव राख्दा कुहिने र त्यसबाट स्वास्थ्य तथा वातावरणीय जोखिम उत्पन्न हुने भएकाले अन्तर्राष्ट्रिय अभ्यास, अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) का मापदण्ड तथा प्रचलित कानुनलाई आधार बनाएर शव व्यवस्थापन गरिएको काफ्लेले बताए ।
उनले भने, ‘बाढीपछि ठूलो संख्यामा शव फेला परेकाले अस्पताल तथा शवगृहको क्षमताभन्दा बढी शव व्यवस्थापन गर्नुपर्ने अवस्था आयो । चितवन, नवलपरासी, कपिलवस्तु र पोखरालगायतका स्थानमा समेत शव राख्नुपर्यो । लामो समयसम्म शव राख्दा कुहिने र स्वास्थ्य तथा वातावरणीय जोखिम बढ्ने भएकाले अन्तर्राष्ट्रिय अभ्यास, आईसीआरसीका मापदण्ड र प्रचलित कानुनलाई आधार बनाएर शवको सुरक्षित तथा सम्मानजनक व्यवस्थापन गरिरहेका छौँ ।’
कतिपय स्थानमा शवलाई सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गरिएको छ । त्यसका लागि ट्यागिङ, नम्बरिङ, साइट प्लान तथा जीपीएस विवरणसमेत सुरक्षित राखिएको छ, ताकि भविष्यमा आवश्यक परे कुन शव कहाँ राखिएको छ भन्ने यकिन गर्न सकियोस् ।
यसको मुख्य उद्देश्य पहिचानका प्रमाण सुरक्षित राख्नु र भविष्यमा आफन्तले शव दाबी गरेमा कानुनी प्रक्रिया पूरा गरी सहज रूपमा हस्तान्तरण गर्न सक्ने वातावरण बनाउनु रहेको प्रहरीको भनाइ छ ।
दुई फरेन्सिक प्रयोगशालामा चाप, हेटौँडामा नयाँ संरचना
नेपालमा हाल डीएनए परीक्षणका लागि मुख्य रूपमा नेपाल प्रहरी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार रहेका छन् । ठूलो संख्यामा डीएनए प्रोफाइलिङ गर्नुपर्ने भएपछि यी प्रयोगशालामा कामको चाप बढेको छ ।
यसलाई सहज बनाउन हेटौँडास्थित बागमती प्रदेश प्रहरी कार्यालयमा समेत फरेन्सिक संरचना स्थापना गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । आवश्यक उपकरण ल्याइसकिएको र सेटअप तथा स्रोत व्यवस्थापनको काम अघि बढाइएको काफ्लेले बताए ।
उनले भने, ‘अहिले नेपालमा डीएनए परीक्षणका लागि मुख्य रूपमा नेपाल प्रहरी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारमा काम भइरहेको छ । ठूलो संख्यामा डीएनए प्रोफाइलिङ गर्नुपर्ने भएकाले दुवै प्रयोगशालामा कामको चाप बढेको छ । त्यसलाई सहज बनाउन हेटौँडास्थित बागमती प्रदेश प्रहरी कार्यालयमा पनि फरेन्सिक संरचना स्थापना गर्ने तयारी गरेका छौँ । आवश्यक उपकरण ल्याइसकिएको छ र सेटअप तथा स्रोत व्यवस्थापनको काम अघि बढिरहेको छ ।’
शव पहिचानको कामलाई तीव्र बनाउन नेपालमा उपलब्ध फरेन्सिक विशेषज्ञसँगै आवश्यकताअनुसार विदेशबाट समेत विशेषज्ञ ल्याउने तयारी भइरहेको छ ।
अस्पतालदेखि विमानस्थलसम्म छुट्टै समन्वय
शव तथा घाइतेको व्यवस्थापनमा समन्वय गर्न विभिन्न अस्पतालमा प्रहरीका डीएसपी तहका अधिकृतलाई फोकल पर्सन तोकिएको छ । विमानस्थलमा पनि एसपीको नेतृत्वमा हेल्प डेस्क स्थापना गरिएको प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा सडक तथा पुल बग्दा उद्धार र शव ओसारपसारसमेत चुनौतीपूर्ण बनेको छ । प्रहरीका अनुसार दर्जनौँ पुल बगेका छन् भने करिब ५० किलोमिटर सडक क्षतिग्रस्त भएको प्रारम्भिक विवरण आएको छ ।
कतिपय क्षेत्रमा सडक सम्पर्क नहुँदा शवलाई हेलिकप्टर तथा वैकल्पिक मार्गमार्फत काठमाडौंलगायतका स्थानमा ल्याएर व्यवस्थापन गरिएको छ ।
खाली घर सुरक्षा पनि प्रहरीको प्राथमिकतामा
बाढीपछि मानिसहरू विस्थापित भएर खाली भएका घर तथा संरचना अब सुरक्षाको अर्को चुनौती बनेका छन् । प्रहरीका अनुसार यस्ता घरमा चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधि हुन सक्ने जोखिम छ । यसै कारण स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरी खाली घरको खोजी तथा सुरक्षा निगरानी सुरु गरिएको छ ।
उनले भने, ‘बाढीपछि धेरै घर खाली भएका छन् । त्यस्ता घरमा चोरी, लुटपाटलगायतका आपराधिक गतिविधि हुनसक्ने जोखिमलाई ध्यानमा राखेर हामीले स्थानीय तह र जनप्रतिनिधिसँग समन्वय गरी सुरक्षा निगरानी बढाएका छौँ । खाली घरहरूको खोजी तथा निरीक्षण गर्ने काम पनि सुरु गरिसकेका छौँ । विपद्को अवस्थामा कसैले पनि आपराधिक गतिविधि गर्न नपाओस् भन्नेमा नेपाल प्रहरी विशेष रूपमा सचेत छ ।’
विपद्को मौका छोपेर चोरी तथा लुटपाटमा संलग्न केही व्यक्तिलाई प्रहरीले पक्राउसमेत गरिसकेको जनाएको छ । बाढीले बगाएर ल्याएको शवबाट सुन लुटेको आरोपमा पक्राउ, बैंक चोरीमा संलग्न व्यक्तिको नियन्त्रण तथा राहतका नाममा ठगी गर्ने प्रयासमा संलग्न व्यक्तिमाथि कारबाही गरिएको प्रहरीको भनाइ छ ।
राहतमा ‘एकद्वार प्रणाली’ र गलत सूचना नियन्त्रण
प्रहरीले राहत वितरणमा सरकारले तय गरेको ‘एकद्वार प्रणाली’ कार्यान्वयनमा सहयोग गरिरहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला सुरक्षा समिति, स्थानीय तह तथा जनप्रतिनिधिसँग समन्वय गरी वास्तविक पीडित पहिचान गर्ने र उनीहरूसम्म राहत पु¥याउने कार्यमा प्रहरी परिचालित छ ।
केन्द्रीय तहमा संकलन हुने राहत सामग्री नेपाल विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने व्यवस्था गरिएको छ ।
यता सामाजिक सञ्जालमार्फत फैलाइने अफवाह, गलत सूचना, भ्रामक समाचार तथा डीपफेक सामग्रीप्रति पनि प्रहरीले निगरानी बढाएको छ । विपद्को समयमा गलत सूचना फैलाएर नागरिकमा भ्रम सिर्जना गर्ने वा राहत तथा उद्धार कार्यमा अवरोध पु¥याउने गतिविधिमाथि कानुनअनुसार कारबाही गरिने प्रहरीको चेतावनी छ ।
उनले भने, ‘राहत वितरणमा सरकारले तय गरेको एकद्वार प्रणालीलाई प्रभावकारी बनाउन प्रहरीले समन्वय र सुरक्षा व्यवस्थापनमा सहयोग गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी, स्थानीय तह र जनप्रतिनिधिसँग समन्वय गरेर वास्तविक पीडितको पहिचान गरी उनीहरूसम्म राहत पुग्ने व्यवस्था मिलाइएको छ । केन्द्रीय रूपमा संकलन भएको राहत सामग्री नेपाल विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने व्यवस्था छ । साथै, सामाजिक सञ्जालमार्फत फैलिने अफवाह, गलत सूचना, भ्रामक समाचार र डीपफेक सामग्रीको निगरानी पनि बढाएका छौँ। विपद्को अवस्थामा गलत सूचना फैलाएर भ्रम सिर्जना गर्ने वा राहत तथा उद्धारमा अवरोध पु¥याउने गतिविधि पाइए कानुनअनुसार कारबाही हुन्छ ।’
विपद्मा स्वास्थ्य सुरक्षाको चुनौती
बाढीपछि उद्धारसँगै स्वास्थ्य जोखिमसमेत बढेको प्रहरीले जनाएको छ । दूषित पानी, हिलो तथा बाढीले बगाएर ल्याएका सामग्रीबाट संक्रमण फैलिन सक्ने भएकाले स्वच्छता तथा खानेपानीमा विशेष ध्यान दिन प्रहरीले आग्रह गरेको छ ।
प्रहरीले पानी उमालेर मात्र पिउन, व्यक्तिगत सरसफाइमा ध्यान दिन तथा बाढी प्रभावित क्षेत्रमा भेटिएका असामान्य खाद्य सामग्री प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
सीमित स्रोतबीच उच्च जोखिममा प्रहरी
बाढीले सडक, पुल र सञ्चार संरचना क्षतिग्रस्त बनाएपछि प्रहरी परिचालनमा समेत ठूलो चुनौती आएको छ । तर उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्दै उद्धार, खोजी, सुरक्षा, शव व्यवस्थापन, सञ्चार पुनःस्थापना र राहत समन्वयमा प्रहरी परिचालित रहेको काफ्लेले बताए ।
उनका अनुसार बाढीको जोखिम अझै पूर्ण रूपमा हटिसकेको छैन । कतिपय क्षेत्रमा ठूलो परिमाणमा हिलो, पाँगो माटो र ढुंगा थुप्रिएका छन् भने पुनः बाढी आउन सक्ने जोखिमसमेत कायमै छ ।
‘जोखिमपूर्ण अवस्थामा पनि नेपाल प्रहरी नागरिकको सेवामा अहोरात्र खटिएको छ,’ काफ्लेले भने, ‘पहिचान हुन नसकेका शवको डीएनए परीक्षणदेखि खोज, उद्धार र सुरक्षा व्यवस्थापनलाई सकेसम्म छिटो सम्पन्न गर्ने प्रयास भइरहेको छ ।’
बाढीले निम्त्याएको तत्कालीन उद्धारको चरणसँगै अब प्रभावित परिवारलाई आफ्ना आफन्तको पहिचान र शव बुझाउने, विस्थापित बस्ती तथा खाली घरको सुरक्षा गर्ने, राहतलाई वास्तविक पीडितसम्म पुर्याउने र विपद्को नाममा हुन सक्ने अपराध रोक्ने चुनौती थपिएको छ । प्रहरीका लागि यो विपद् एउटा उद्धारको विषय नभएर मानवीय संवेदना, कानुनी प्रक्रिया, फरेन्सिक विज्ञान, सार्वजनिक सुरक्षा र सूचना व्यवस्थापनलाई एकसाथ अघि बढाउनुपर्ने बहुआयामिक चुनौती बनेको छ ।