भदौ १५, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ भोटेकोसी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजना क्षेत्रको निरीक्षणमा जाँदै छन् । मन्त्री श्रेष्ठ आज बिहान ९ बजे नुवाकोट हुँदै रसुवामा अवस्थित जलविद्युत् आयोजना स्थल पुग्नेछन् । मन्त्रीको सचिवालयकारअनुसार स्थलमार्गबाट नुवाकोट पुगेर मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रमा उद्धार र राहतको अवस्थाबारे जानकारी लिनेछन् । बत्ती नपुगेको ठाउँमा वैकल्पिक ऊर्जा सोलारको व्यवस्थापन उपायबारे छलफल हुनेछ । मन्त्री श्रेष्ठ त्रिशूलीको बट्टास्थित क्याम्पमा जानेछन् ।

त्यहाँबाट मन्त्री श्रेष्ठ हेलिकप्टरमार्फत रसुवा जानेछन् । त्यहाँ उनले जलविद्युत् आयोजनाको सुरुङ मार्ग क्षेत्रमा भइरहेको उद्धारको अवस्था र कठिनाइ, क्षतिको विवरणबारे जानकारी लिनेछन् ।
त्यहाँबाट फर्केर उनले नुवाकोटस्थित नेपाली सेनाको एकीकृत उद्धार शिविर पुग्नेछन् । शिविरमा उनले उद्धार र राहतको अवस्थाबारे जानकारी लिनेछन् । नुवाकोटमै मन्त्री श्रेष्ठले सुरुङ मार्गमा फसेका कमर्चारीहरुको परिवारसँग पनि भेट्ने कार्यक्रम छ ।
नुवाकोटमा मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको टिमसँग छलफल तथा आवश्यक सहजीकरण र निर्देशन दिने मन्त्रीको सचिवालयले जनाएको छ ।