भदौ १४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीपछि खोजी, उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राखेर पार्टीका नेता तथा कार्यकर्तालाई प्रभावित क्षेत्रमा परिचालन गरेको जनाएको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलले आइतबार पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति रवि लामिछानेको निर्देशनअनुसार केन्द्रदेखि प्रदेश, जिल्ला तथा स्थानीय तहसम्मका पार्टी पंक्ति प्रभावित क्षेत्रमा खटिएको बताए ।

उनले भने,‘भोटेकोशी बाढी र त्यसको प्रभावपछि राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण ध्यान खोजी, उद्धार र राहतमा केन्द्रित भएको छ । केन्द्रीय नेतृत्वदेखि प्रदेश, जिल्ला र स्थानीय तहसम्म रहेका नेतृत्व र कार्यकर्तालाई सभापति रवि लामिछानेले सम्पूर्ण रूपमा खोजी, उद्धार र राहतमा केन्द्रित भएर सरकारलाई सहयोग गर्ने, राजनीतिक समन्वय गर्ने र समुदायसँग सहकार्य गरेर प्रभावितहरूलाई सहयोग गर्ने स्पष्ट निर्देशन दिनुभएको थियो । ’
खरेलका अनुसार सोही निर्देशनअनुसार रास्वपाका नेता तथा कार्यकर्ता २४सै घण्टा खोजी, उद्धार र राहतमा खटिएका छन्। सभापति लामिछानेले पार्टी कार्यालयमा गठन गरिएको टास्क फोर्समार्फत अहिलेसम्म भएका कामको नियमित जानकारीसमेत लिइरहेका छन् ।
‘आज पनि सभापतिज्यू बिहानदेखि नै पार्टीको केन्द्रीय कार्यालयमा हुनुहुन्छ । यहाँ एउटा टास्क फोर्स बनेको छ र उहाँले कामको ब्रिफिङ लिनुभएको छ । सुरक्षा निकायबाट भइरहेको खोजी, उद्धार र राहतको काममा पार्टी पंक्ति कसरी लागिरहेको छ भन्ने विषयमा पनि उहाँले जानकारी लिनुभएको छ’उनले भने ।
उनले सभापति लामिछानेले प्रभावित पालिकाका प्रमुख तथा मेयरसँग टेलिफोन संवाद गरी स्थानीय समस्याबारे जानकारी लिएको बताए।
पालिका प्रमुखहरूले विशेषगरी शव व्यवस्थापनलाई तत्कालको प्रमुख समस्या भएको जानकारी दिएको खरेलले बताए ।
‘अहिले सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील समस्या शवको व्यवस्थापन कसरी गर्ने भन्ने भएको छ । उत्तरगयादेखि चितवनको कालिका नगरपालिकासम्मका प्रमुखहरूले पनि यत्रो दिन भइसक्यो, अब शव गनाउन सक्छ भन्ने चिन्ता व्यक्त गर्नुभएको छ’उनले भने ।
त्यसैगरी सञ्चार तथा विद्युत् सेवा, सडक, बेलीब्रिज तथा झोलुङ्गे पुलको अवस्था र राहत सामग्रीको अभावबारे समेत स्थानीय तहका प्रमुखहरूले जानकारी गराएको उनले बताए।
खरेलले प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारसँगै पुनःस्थापना र पुनर्निर्माणमा पनि ध्यान दिनुपर्ने बताए ।
जलवायु परिवर्तन तथा हिमताल विस्फोटको जोखिमबारे बोल्दै खरेलले भोटेकोशी बाढीलाई नेपालका लागि ठूलो चेतावनीका रूपमा लिनुपर्ने बताए