• २०८३ भाद्र ११ गते बिहिवार

रसुवाको टिमुरे र भोटेकोशी क्षेत्रबाट २७ विदेशी पर्यटकको उद्धार

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ ११, काठमाडौं । रसुवा, नुवाकोट, धादिङ र गोरखाका क्षेत्रमा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीपछि पर्यटक तथा यात्रुको अवस्थाबारे खोजी र उद्धार कार्य तीव्र पारिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीअनुसार रसुवाको टिमुरे र भोटेकोशी क्षेत्रबाट २७ जना विदेशी पर्यटकको उद्धार गरिएको नेपाल पर्यटन वोर्डले जानकारी दिएको छ ।

जसमा ११ जना भारतीय, ४ जना दक्षिण कोरियाका तथा अमेरिका र इटालीका २-२ जना रहेको बोर्डले जनाएको छ । त्यस्तै उद्धार गरिएका ८ जना विदेशी नागरिकको राष्ट्रियता नखुलेको बोर्डले जनाएको छ । बोर्डले अहिलेसम्म सो क्षेत्रमा नेपालीसहित ६४४ जना सम्पर्कविहीन रहेको यस अघि जानकारी दिएको थियो ।

बाढीबाट प्रभावित क्षेत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रसँग सम्बन्धित निकायले पर्यटक तथा यात्रुको अवस्था यकिन गर्ने काम गरिरहेका छन् । प्रभावित क्षेत्रमा रहेका वा ती क्षेत्र हुँदै यात्रा गरिरहेका पर्यटक तथा यात्रुको अवस्था पत्ता लगाउने र सुरक्षित स्थानमा पुर्‍याउने प्रयास भइरहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । घाइते तथा प्रभावित क्षेत्रमा फसेका व्यक्तिको उद्धार र सुरक्षित स्थानान्तरणका लागि पनि सबै प्रयास जारी रहेको बोर्डको भनाइ छ ।

बाढीबाट प्रभावित क्षेत्रमा रहेका अन्य पर्यटक तथा यात्रुको अवस्थाबारे पनि सम्बन्धित निकायले खोजी तथा समन्वय गरिरहेको बोर्डले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस