भदौ १०, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीबाट रसुवाको टिमुरे तथा स्याफ्रुबेँसीसहित रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि काठमाडौँ महानगरपालिकाले उद्धार तथा राहत कार्यमा आफ्नो भूमिका प्रभावकारी बनाउने तयारी गरेको छ ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा महानगर विपद् व्यवस्थापन समितिको बैठक बसेर बाढीबाट उत्पन्न विपद्को व्यवस्थापन तथा महानगरपालिकाले गर्न सक्ने सहयोगबारे छलफल भएको हो ।
बैठकले विपद्को प्रतिकार्य सञ्चालन तथा आवश्यक समन्वय र सहजीकरणका लागि समितिका सदस्यसचिव एवं विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपाललाई जिम्मेवारी तोकेको छ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेका चार वटा एम्बुलेन्स नुवाकोटतर्फ पठाएको छ। थप दुई वटा एम्बुलेन्स त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा राखिएको महानगरपालिकाले जनाएको छ ।
त्यस्तै, महानगरपालिकाअन्तर्गत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार प्रभावित क्षेत्रमा परिचालन गर्ने निर्णय भएको छ । घाइते तथा बिरामीका लागि आवश्यक औषधि उपलब्ध गराउने व्यवस्था पनि मिलाइने भएको छ । महानगरपालिकाको आपतकालीन सञ्चालन केन्द्रमा मौज्दात रहेका विपद् व्यवस्थापनमा प्रयोग हुने सामग्री आवश्यकता अनुसार प्रभावित क्षेत्रमा उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।
मौज्दात सामग्री तथा औषधि अपुग हुने अवस्था देखिएमा विपद् व्यवस्थापन कोषबाट खरिद गरी आवश्यक सामग्री तथा औषधि उपलब्ध गराउने निर्णयसमेत गरिएको छ । महानगरपालिकाले बाढी प्रभावित क्षेत्रमा उद्धार, उपचार तथा राहतका लागि आवश्यक सहयोग उपलब्ध गराउन आफ्ना स्रोतसाधन परिचालन गर्ने जनाएको छ ।