भदौ ८, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । कोशी प्रदेश सभाले आज दिउसो १ बजेदेखि शुरु हुने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको जानकारी दिएको छ । नेपाली कांग्रेसले समर्थन फिर्ता लिए पनि कोशी प्रदेश सरकारमा मुख्यमन्त्री हिक्मतकुमार कार्की बहुमतमा नै रहेका छन् ।
९२ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । हाल एमालेका ४० र नेपाली कम्युनिष्ट पार्टीका १७ सांसद छन् । दुवै दलका कुल ५७ सांसद रहेकाले बहुमतको लागि कुनै समस्या देखिएको छैन ।
प्रदेशसभामा कांग्रेसका २९, एमालेका ४०, नेपाली कम्युनिष्ट पार्टीका १७, राप्रपाका ५ र जसपाका १ सांसद छन् भने राप्रपाका पाँसभामुखसहित पाँच सांसद छन् ।
यसअघि कांग्रेसले भदौ ३ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्कीले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । कांग्रेसले समर्थन फिर्ता लिए पनि एमालेले नेपाली कम्युनिष्ट पार्टीलाई सरकारमा सहभागी गराएर नयाँ सत्ता समीकरण बनाइसकेको छ ।
मुख्यमन्त्री कार्कीले यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार २०८१ वैशाख २७ मा मुख्यमन्क्री नियुत्त भएपछि उनले वैशाख ३१ मा पहिलो पटक विश्वासको मत लिएका थिए । त्यसबेला प्रदेशसभामा उपस्थित ६२ सांसदमध्ये ५७ जनाले उनको पक्षमा मतदान गरेका थिए भने पाँच जना तटस्थ बसेका थिए ।
त्यसपछि सत्ता समीकरण फेरिएर एमाले र कांग्रेसबीच सहकार्य बनेपछि कार्कीले २०८१ असोज २ मा दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला ८३ सांसदले मतदानमा भाग लिएकोमा उनको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो ।
