भदौ ६, काठमाडौँ । उज्यालो नेपाल पार्टीले जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । पार्टीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कारबाही गर्न विद्यमान कानुन अपर्याप्त भए आवश्यक कानुनी व्यवस्था तत्काल गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।

‘उज्यालो नेपाल पार्टी घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कानुनी कारबाही तथा प्रहरीको सम्भावित लापरबाहीको समेत छानबिन गर्न सरकारसँग जोडदार माग गर्दछ । दोषीलाई कारबाही गर्न विद्यमान कानुन अपर्याप्त भए आवश्यक कानुनी व्यवस्था तत्काल गरेर भए पनि दोषीलाई कानुनको कठघरामा उभ्याउन उज्यालो नेपाल पार्टी जोडदार माग गर्दछ,’ विज्ञप्ति उल्लेख छ ।
पार्टीले यदि प्रहरीको लापरबाहीका कारण अपराध रोक्न सकिने अवस्था हुँदाहुँदै घटना भएको पुष्टि भएमा त्यसको जिम्मेवारी राज्यले लिनुपर्ने उल्लेख गरेको छ । पार्टीले घटनाको अनुसन्धानसँगै प्रहरीको सम्भावित लापरबाहीबारे समेत छुट्टै छानबिन गर्न सरकारसँग जोडदार माग गरेको छ ।
त्यसैगरी, पीडित परिवारको सुरक्षा, उचित राहत तथा न्यायको सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ ।