भदौ ५, बागलुङ । काठेखोला गाउँपालिका–३, माझँकटेरामा लेबर काम गर्ने एक युवकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। मृत्यु हुनेमा ढोरपाटन नगरपालिका–७ स्थायी घर भई हाल ढोरपाटन नगरपालिका–५ बस्ने ३६ वर्षीय अशोक खत्री रहेका छन्। उनी काठेखोला–३, माझँकटेरास्थित श्री निर्मल आधारभूत विद्यालयको पुरानो भवनमा लेबर काम गरी बस्दै आएका थिए।

प्रहरीका अनुसार २०८३ साउन २६ गते राति करिब ९ः४० बजे खत्रीमाथि धारिलो चक्कु प्रहार भएको थियो। प्रारम्भिक अनुसन्धानबाट उनीसँगै लेबर काम गर्ने ढोरपाटन नगरपालिका–६ का २५ वर्षीय अर्जुन घर्ती मगरले चक्कु प्रहार गरी हत्या गरेको खुलेको छ। घटनापछि भाग्न नपाउँदै प्रहरीले स्थानीयवासीसँगको समन्वयमा अर्जुन घर्ती मगर र उनीहरूसँगै काम गरी बस्ने ढोरपाटन नगरपालिका–५ का ३६ वर्षीय रिखे दमाईलाई सोही राति काठेखोला–३, धम्जा माझँकटेराबाट पक्राउ गरेको जनाएको छ।
अनुसन्धानका क्रममा २०८३ साउन २५ गते राति तीनै जनाबीच फोनमा ठूलो स्वरमा कुरा गरेको विषयलाई लिएर सामान्य विवाद भएको र भोलिपल्ट काम सकेर मादक पदार्थ सेवन गर्ने क्रममा सोही विषयलाई लिएर पुनः विवाद भएको खुलेको प्रहरीले जनाएको छ। विवादकै क्रममा अर्जुनले अशोकमाथि धारिलो चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।
घटनास्थलबाट वारदातमा प्रयोग भएको चक्कु तथा रगत लागेका कपडालगायतका दशी प्रमाण बरामद गरिएको प्रहरीले जनाएको छ। मृतक अशोक खत्रीका १२, ९ र ७ वर्षका तीन छोरा छन्। उनकी श्रीमतीसमेत गर्भवती रहेको र परिवार उनको आम्दानीमा आश्रित रहेको जनाइएको छ। मृतककी श्रीमती दिलमाया भण्डारीले कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी दिएकी छन्।
पक्राउ परेका अर्जुन घर्ती मगर र रिखे दमाईलाई अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।