• २०८३ भाद्र ५ गते शुक्रवार

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १७ मिनेट

भदौ ४, काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्ष कायम गर्न सहमति भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्ष कायम गर्ने सहमति भएको हो । हाल गभर्नर र सञ्चालकको कार्यकाल पाँच वर्षको रहेको छ । समितिका सभापति कृष्णहरि बुढाथोकीका अनुसार सरकारको आर्थिक नीति तथा योजनाहरूसँग मौद्रिक क्षेत्रबीच सामञ्जस्यता कायम राख्न कार्यसम्पादनका आधारमा पदावधि थप गर्न सकिने व्यवस्थामाथि छलफल भएको छ । साथै डेपुटी गभर्नर र सञ्चालकको प्रारम्भिक पदावधि ३ वर्षको हुने र कार्यसम्पादन मूल्याङ्कनको आधारमा सन्तोषजनक देखिएमा नेपाल सरकारले पुनः २ वर्ष पदावधि थप गर्न सक्ने व्यवस्था विधेयकको दफा १८ को उपदफा १ र २ मा कायम गर्ने निर्णय गरिएको छ । समितिले शुक्रबार पनि नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने जानकारी दिएको छ ।

२- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुखको कार्यालय हेटौँडामा आयोजित समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई शपथ गराएका हुन् । नयाँ प्रदेश सरकारमा सात सदस्य रहेका छन्। नेकपा एमालेबाट मुख्यमन्त्री किरण थापा मगर, भौतिक पूर्वाधारमन्त्री भरतबहादुर केसी र बिनाविभागीय मन्त्री ज्ञानबहादुर तामाङ नियुक्त भएका छन् । त्यस्तै, नेकपाबाट सरल सहयात्रीलाई आर्थिक मामिला मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक विकास, राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइ र राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बनाइएको छ । बाँकी तीन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री थापाले नै सम्हाल्ने बताइएको छ । विवादका बीच समर्थन दिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन प्रदेशसभा सदस्य मन्त्री बनेका छन् । सरकारलाई समर्थन दिएको भन्दै राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई कारवाही गर्दै प्रदेश सभा सदस्यबाट फिर्ता गर्ने निर्णय गरेको छ । त्यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफ्ना सांसद मन्त्री बनेमा उनीहरुलाई पनि कारवाही गर्ने बताएका छन् ।

३- बंगलादेशमा भएको राष्ट्रपति निर्वाचनमा सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टीका उम्मेदवार मिर्जा फखरुल इस्लाम आलमगीर विजयी भएका छन् । उनी बंगलादेशको २३औँ राष्ट्रपति निर्वाचित भएका हुन् । संसदमा भएको मतदानमा आलमगीरले २५५ मत प्राप्त गरे भने विपक्षी गठबन्धनका उम्मेदवार अवकाशप्राप्त कर्णेल ओली अहमदले ८८ मत प्राप्त गरेका थिए । निर्वाचनमा कुल ३४९ सांसदले मतदान गरेका थिए । राष्ट्रपति निर्वाचनका लागि बिहीबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म संसद भवनमा मतदान भएको थियो । मतदान सकिएलगत्तै मतगणना गरी नतिजा सार्वजनिक गरिएको हो । बंगलादेशमा राष्ट्रपतिको निर्वाचन जनताबाट प्रत्यक्ष नभई संसद सदस्यले गर्ने व्यवस्था छ । संसदमा सत्तारूढ दलको दुईतिहाइ बहुमत रहेकाले आलमगीरको जित यसअघि नै लगभग निश्चित मानिएको थियो । उनका प्रतिस्पर्धी ओली अहमदलाई जमात ए इस्लामीको नेतृत्वमा रहेका ११ दलको गठबन्धनको समर्थन थियो ।

४- स्पेनिस क्लब बार्सिलोनाले पोर्चुगिज डिफेन्डर जोआओ कान्सेलोलाई स्थायी रूपमा अनुबन्ध गरेको छ । कान्सेलोले बार्सिलोनासँग सन् २०२९ को जुनसम्मका लागि तीन वर्षको सम्झौता गरेका छन् । बार्सिलोनाले कान्सेलोलाई भित्र्याएको घोषणा गरेको हो । कान्सेलो यसअघि दुई पटक ऋणमा बार्सिलोनाबाट खेलिसकेका छन् । उनी पहिलो पटक म्यानचेस्टर सिटीबाट र दोस्रो पटक गत सिजनको दोस्रो चरणमा साउदी क्लब अल हिलालबाट बार्सिलोनामा ऋणमा आएका थिए । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उनले प्रभावशाली प्रदर्शन गर्दै एलेजान्द्रो बाल्डेलाई समेत पछि पारेर लेफ्ट ब्याकको पहिलो रोजाइमा स्थान बनाएका थिए । कान्सेलोलाई स्थायी रूपमा अनुबन्ध गर्न बार्सिलोनाले अल हिलालसँग लामो छलफल गर्नुपरेको थियो । अल हिलाल कम रकममा उनलाई छाड्न तयार नभएपछि कान्सेलोले उक्त क्लबबाट पाउने पारिश्रमिकसमेत त्यागेर सम्झौता अन्त्य गरेका थिए । त्यसपछि उनी स्वतन्त्र खेलाडीका रूपमा बार्सिलोना फर्किएका हुन् । कान्सेलो सोमबार बार्सिलोना पुगेका थिए भने मंगलबार क्लबको प्रशिक्षणस्थलमा पुगेर स्वास्थ्य परीक्षण र सम्झौतासम्बन्धी प्रक्रिया पूरा गरेका थिए । औपचारिक प्रक्रिया समयमा पूरा हुन नसकेका कारण उनलाई जोआन गाम्पर ट्रफी खेलअघि समर्थकमाझ सार्वजनिक गरिएको थिएन । तर, आज सम्झौता औपचारिक रूपमा पूरा भएपछि कान्सेलो अब स्थायी रूपमा बार्सिलोनाका खेलाडी बनेका छन् ।

५- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको धितो लिलाम प्रक्रियालाई लिएर बैंकका केही नेतृत्वदायी व्यक्तिमाथि मुद्दा दायर भएको विषयमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ । सिबिफिनले बैंकले कानूनबमोजिम सिर्जना गरेको धितो तथा सुरक्षण अधिकारलाई पछि जारी भएका नियमले प्रभावित गर्न सक्ने वा नसक्ने विषयमा कानुनी स्पष्टता आवश्यक रहेको जनाएको छ । बैंक तथा वित्तीय संस्थाका कर्जा, धितो र असुलीसम्बन्धी व्यावसायिक निर्णयको प्राविधिक तथा नियामकीय परीक्षण गर्ने प्राथमिक जिम्मेवारी नेपाल राष्ट्र बैंकको भएकाले थप अनुसन्धान वा कारबाहीअघि त्यसको राय लिनुपर्ने सिबिफिनको भनाइ छ । व्यावसायिक तथा नियामकीय निर्णय र आपराधिक कार्यबीचको भिन्नता स्पष्ट नगरी अनुसन्धान तथा अभियोजन गर्दा बैंकिङ क्षेत्रमा निर्णय क्षमता, नेतृत्वको मनोबल र जनविश्वासमा असर पर्न सक्ने भन्दै सिबिफिनले सचेत गराएको छ । सिबिफिनले स्पष्ट आपराधिक आधार नभएका देवानी तथा नियामकीय विवादलाई फौजदारीकरण नगरी सम्बन्धित कानुनी प्रक्रियाबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ । अदालतको न्यायिक प्रक्रियाप्रति सम्मान व्यक्त गर्दै कानून उल्लंघन प्रमाणित भए कानूनबमोजिम कारबाही हुनुपर्ने पनि उसले जनाएको छ ।

६- नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ लिँदै पदबहाली गरेका छन् । गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष रावलले शपथ लिएका हुन् । नेपाल सरकारको मन्त्रिपरिषद्को २०८३ भदौ ३ गतेको निर्णयअनुसार उनी डेपुटी गभर्नरमा नियुक्त भएका हुन् । शपथ समारोहमा गभर्नर पौडेलले रावललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए । रावलले २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा राष्ट्र बैंकको सेवा प्रवेश गरेका थिए । उनी २०६८ मा उपनिर्देशक, २०७५ मा निर्देशक हुँदै २०८२ जेठ १५ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए । कार्यकारी निर्देशक बनेपछि उनले बैंक सुपरिवेक्षण विभागको नेतृत्व गर्दै आएका थिए ।

७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान संशोधनका लागि प्रतिनिधिसभाको दुई तिहाइ बहुमत मात्र पर्याप्त नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले संविधान संशोधन गर्दा संविधानमै तोकिएको प्रक्रियालाई अनिवार्य रूपमा पालना गर्नुपर्ने बताउदै प्रतिनिधिसभाको दुई तिहाइ बहुमत मात्र पर्याप्त नहुने स्पष्ट गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँगको छलफलमा लामिछानेले संवैधानिक निकायमाथि प्रश्न उठाउँदा तथ्य र प्रमाणका आधारमा विषय उठाउनुपर्ने बताए । उनले संवैधानिक निकाय राज्यका महत्वपूर्ण संरचना भएकाले त्यस्ता संस्थाको गरिमा र प्रतिष्ठामा आँच नपुग्ने गरी छलफल गर्नुपर्ने भन्दै कुनै व्यक्तिविशेषलाई लक्षित गरेर संवैधानिक निकायलाई राजनीतिक दलसँग जोडेर हेर्न नहुने धारणा राखेका थिए । संविधानले संवैधानिक निकायका पदाधिकारी नियुक्तिको प्रक्रिया स्पष्ट गरेको भन्दै लामिछानेले संवैधानिक व्यवस्थाप्रति सबै प्रतिबद्ध हुनुपर्ने बताएका थिए ।

८- नेपाली काँग्रेसको पूर्वसभापति शेरबहादुर देउवा पक्ष १५औं महाधिवेशनको कार्यतालिका स्थगन गर्न माग गर्दै अदालत जाने भएको छ । हाल देउवा पक्षको नेतृत्व गरिरहेका डा. शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा बसेको बैठकले अदालत जाने निर्णय गरेको हो । काँग्रेसको विवाद सर्वोच्च अदालतमा रहेकै समयमा संस्थापन पक्षले वडा अधिवेशन २६ भदौबाट गर्दै असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्बजनिक गरेको छ । सर्वोच्च अदालतले कांग्रेस विवाद बारे पुनरावलोकनका लागि साउन २१ मा आदेश दिएको थियो । देउवा पक्षले शुक्रबार अदालतमा रिट दर्ता गर्ने तयारी गरेको बताइएको छ ।

९- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अनुशासनको कारबाही गरेको छ । विहिबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्दै पार्टी सदस्यताबाट समेत हटाउने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिएका हुन् । बाग्मती प्रदेश सरकार गठनका क्रममा नेकपा एमालेलाई समर्थन गरेको आरोपमा थापामाथि कारबाही गरिएको उनले बताएका छन् । अध्यक्ष लिङदेनले पार्टीले दिएको पटक पटकको निर्देशनलाई नमानिएको भन्दै अर्को निर्णय नभएसम्म राप्रपा कुनै सरकारमा सहभागी नहुने स्पष्ट निर्देशन गरिएकोमा त्यसको उलंघन गरिएको बताएका छन् । उनले सरकारमा सहभागी भएमा अन्य सांसदहरुलाई पनि कारवाही गर्ने बताए । राप्रपाका तीन सांसद गिरबहादुर तामाङ (ज्ञानुजंग लामा), राजु विष्ट र राजेन्द्र प्रजापति सरकारमा सहभागी भएका छन् ।

१०- नेप्सेमा सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से ७.१७ अंकले बढेर २६२९.४० विन्दुमा पुगेर रोकिएको छ । आज ३४५ कम्पनिका ९५ लाख ७६६ कित्ता शेयर ४ अर्ब ४० करोड १४ लाख ९ हजार ८५८ मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, होटल्स, माइक्रो फाइनान्स, म्युचुअल फण्ड, निर्जीव बीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी माउन्ट एभरेष्ट पावर र सर्वोत्तम पेन्ट्सको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कुमारी धनवृद्धि योजनाको शेयर ९.७७ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी अग्रिकल्चरल बन्डको ५० करोड ६५ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको ३० करोड ४ लाख बराबरको कारोबार भएको छ ।

११- युक्रेनको राजधानी किभमा रुसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । आक्रमणमा आवासीय भवन, गोदाम, बाल अस्पताल र विद्यालयमा क्षति पुगेको युक्रेनी अधिकारीहरूले बताएका छन्। आक्रमणका कारण हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध भएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हवाई प्रतिरक्षा क्षेप्यास्त्रको अभावका कारण ठूलो क्षति भएको बताएका छन् । उनले सहयोगी मुलुकसँग थप प्रतिरक्षा क्षेप्यास्त्र उपलब्ध गराउन आग्रह गरेका छन् । युक्रेनका अनुसार रुसले १६८ वटा मानवरहित विमान र ४४ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो । तीमध्ये १४६ वटा मानवरहित विमान र ३९ वटा क्रुज क्षेप्यास्त्र खसालिएको दाबी गरिएको छ । रुसले भने आफ्ना सैन्य संरचना र गोदामलाई लक्ष्य बनाएर आक्रमण गरिएको जनाएको छ । पछिल्ला केही सातादेखि दुवै पक्षले एकअर्काको भूभागमा ठूलो हवाई आक्रमण गर्दै आएका छन् ।

१२- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैदेशिक सहयोग र ऋणको दायरा घट्दै गएकोले चुनौती बढिरहेको बताएका छन् । प्रतिनिधि सभाको सार्बजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले वैदेशिक ऋण सहयोगको ब्याजदर बढ्दै गएको र अनुदानको दायरा सिमित हुदै गएकोले ठुला पूर्बाधारमा लगानी हुदै आएको रकमको विकल्प खोज्नुपर्ने अवस्था आएको बताएका हुन् । नेपाललाई ठुलो ऋण सहयोग दिने एशियन डेभलपमेन्ट बैंक र विश्ववैंकहरुको ब्याजदर बढ्ने चरणमा रहेकाले आगामी दिनमा चुनौती बढ्ने बताउदै अर्थमन्त्री वाग्लेले अबका दिनमा संस्थागत लगानी भित्र्याउने बाहेक अन्य विकल्प कम हुदै गएको बताएका हुन् । उनले नेपालमा आइएनजिओ र एनजीयोमा आउने रकम समेत कम हुदै गएको र त्यसको समग्र प्रभाव पनि कम रहेको बताए । सरकारले वैकल्पिक रुपमा लगानीका स्रोत जुटाउन विदेशमा रहेका नेपालीहरुले बन्डलगायतका विषय बजेट मार्फतनै ल्याइएको र अन्य कानुनी बाधा पनि फुकाउदै लगिने अर्थमन्त्री डा. वाग्लेले धारणा राखेका थिए ।

१३- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अहिलेसम्मकै ठूलो आर्थिक कारबाही घोषणा गरेका छन्। उनले इरानले सम्झौताको अवसर गुमाइसकेको भन्दै अब उसलाई आर्थिक रूपमा एक्ल्याउने चेतावनी दिएका छन् । ट्रम्पले इरानलाई सहयोग गर्ने देश तथा संस्थामाथि समेत कारबाही गरिने बताएका छन्। यसमा बैंक, कम्पनी, विमानस्थल तथा सरकारी निकायसमेत पर्ने उनले स्पष्ट पारेका छन् । उनले इरानको तेल तस्करी सञ्जालमाथि कारबाही गर्नुका साथै नगद स्थानान्तरण, मुद्रा सटही, पानीजहाज दर्ता र नक्कली कम्पनीमार्फत इरानसम्म पुग्ने आर्थिक सहयोग रोक्ने बताएका छन् । ट्रम्पले इरानको नौसेना र वायुसेनामा ठूलो क्षति पुगेको दाबी गरेका छन् । उनका अनुसार इरानका धेरै सैन्य कारखाना ध्वस्त भएका छन् । इरानको मुद्रा पनि कमजोर बनेको र देश गम्भीर आर्थिक संकटमा परेको उनको भनाइ छ । अमेरिकाले घोषणा गरेको नयाँ आर्थिक कारबाहीलाई ट्रम्पले ‘आर्थिक डी–डे’ को संज्ञा दिएका छन्। यसको अर्थ अमेरिकाले इरानमाथि निकै ठूलो आर्थिक दबाब सिर्जना गर्न लागेको हो । ट्रम्पले अन्य देशलाई पनि इरानलाई सहयोग गर्न रोक्न र अमेरिकी अभियानमा सहभागी हुन आग्रह गरेका छन् । अमेरिकाको नयाँ कारबाहीको सबैभन्दा ठूलो असर इरानको तेल कारोबार र आर्थिक कारोबारमा पर्न सक्ने देखिएको छ। इरानको आम्दानीको ठूलो हिस्सा तेल बिक्रीबाट आउने भएकाले तेल बिक्रीमा अवरोध आए आर्थिक अवस्था थप कमजोर हुन सक्छ । अन्य देश, बैंक तथा कम्पनीले अमेरिकी कारबाहीको डरले इरानसँगको कारोबार घटाएमा इरानलाई तेल बिक्री गर्न र विदेशबाट रकम प्राप्त गर्न कठिन हुन सक्छ । तेल तस्करी तथा नक्कली कम्पनीमाथि कारबाही भएपछि इरानका लागि लुकेर कारोबार गर्न र अमेरिकी कारबाहीबाट बच्नसमेत कठिन हुने अमेरिकी पक्षको दाबी छ । ट्रम्पका अनुसार अमेरिकाले आफ्ना सहयोगी देशसँग मिलेर इरानलाई विश्व अर्थतन्त्रबाट अलग पार्ने प्रयास गर्नेछ । इरानले तेल बिक्री गर्दा आफ्नै नामबाट प्रत्यक्ष कारोबार गरे अमेरिकी निकायले त्यसलाई सजिलै पहिचान गर्न सक्ने भएकाले बिचौलिया, अन्य कम्पनी तथा विभिन्न पानीजहाज सञ्जालको प्रयोग गर्ने गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ । तेल बिक्रीपछि त्यसबाट प्राप्त रकम इरानसम्म पुर्‍याउनु अर्को महत्वपूर्ण चरण हुन्छ । यसका लागि बैंकिङ माध्यम, मुद्रा सटही, बिचौलिया तथा नगद स्थानान्तरणजस्ता माध्यम प्रयोग हुने बताइन्छ । अमेरिका भने तेल बिक्रीसँगै त्यसमा संलग्न पानीजहाज, कम्पनी र आर्थिक सञ्जालमाथि समेत कारबाही गरेर इरानको सम्पूर्ण कारोबार प्रणालीलाई कमजोर बनाउन चाहन्छ । यसको उद्देश्य इरानका लागि तेल बेच्न र त्यसबाट प्राप्त आम्दानी देशभित्र भित्र्याउन कठिन बनाउनु हो ।

१४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको विषयमा यसअघि आफुले बोलेको कुरामा अडिग रहेको बताएका छन् । विहिबार सार्बजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले आफुले यसअघि नेपाल प्रहरीमा भएको अनियमितताको विषयमा बोलेको कुरामा अडिग रहेको बताउदै समितिमा आएर अपमान गर्न नपाइने बताए । उनले भने- ‘हामीले १५ दिन भित्र प्रहरीसँग स्रोत साधन व्यवस्थापनमा भएका अनियमितताको बारेमा मागेका डकुमेन्ट आयो की आएन । फेरी यसै बीचमा प्रहरीले करोडौंको टेण्डर आव्हान गरेको छ । निश्चित बिचौलियाले प्रहरीको हेडक्वाटर कब्जा गरेका छन् । अस्ति गरेको प्रश्नमा म अडिग छु, म मजबुत छु, कहिँ कतै साथीहरुलाई मानमर्दन भयो भन्ने लाग्छ भने नजिकै अदालत छ गएर मुद्धा हाल्न सक्नुहुन्छ । कठघरामा उभिएर जवाफ दिन तयार छु । तर सार्वभौम समितिमा आएर टोपी भुइमा राखेर जुवारी खेल्न पाइदैन, सरकारको मानमर्दन गर्न पाइदैन ।’ यसअघि लेखा समितिको बैठकमा सुनारले निर्वाचन प्रहरीको लत्ता कपडा खरिदमा अनियमितता भएको भन्दै आइजीपी सहितका जिम्मेवार अधिकारीहरुमाथि अनुसन्धान हुनुपर्ने माग राखेपछि त्यो विषय विवादित बनेको थियो ।

१५- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुन तोलाको ९ हजार ३ सयले बढेर तोलाको ३ लाख १३ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ४ हजार १ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २६० रुपैयाँले बढेर तोलाको ४८५५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४५९५ मा कारोबार भएको थियो ।

१६- बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेगन अमेरिका छाडेर बेलायत फर्किने तयारीमा रहेका छन् । बिबिसीका अनुसार उनीहरू यही महिनाको अन्त्यतिर लन्डनबाहिरको निजी गैरराजकीय निवासमा बसाइँ सर्ने तयारीमा छन् । उनीहरूका सन्तान राजकुमार आर्ची सात वर्ष र राजकुमारी लिलिबेट पाँच वर्षले सेप्टेम्बरदेखि बेलायतको विद्यालयमा अध्ययन सुरु गर्ने भएकाले उनीहरु फर्किन लागेको बताइएको छ । राजा चार्ल्सलाई उनीहरूको बेलायत फर्किने योजनाबारे आइतबार जानकारी दिइएको छ । राजाले निजी र पारिवारिक रूपमा परिवारसँग थप समय बिताउन पाउने अवसरको स्वागत गरेको बताइएको छ । राजकुमार विलियम र राजकुमारी क्याथरिनलाई पनि योजनाबारे जानकारी दिइएको छ । तर ह्यारी र मेगनले राजपरिवारका सक्रिय सदस्यको भूमिका पुनः सम्हाल्ने कुनै योजना नरहेको बताइएको छ । उनीहरू निजी व्यक्तिकै रूपमा रहनेछन् । ह्यारी र मेगनले सन् २०२० मा राजकीय जिम्मेवारी छाडेर अमेरिकाको क्यालिफोर्निया बसाइँ सरेका थिए । त्यसयता राजपरिवारसँगको सम्बन्धमा तनाव रहँदै आएको थियो । गत जुलाईमा ह्यारीले आफ्ना बुबा राजा चार्ल्सलाई ग्लोसेस्टरशायरस्थित निवासमा भेटेका थिए । उक्त भेट चार वर्षभन्दा बढी समयपछि राजाले आफ्ना नातिनातिनालाई प्रत्यक्ष भेटेको पहिलो अवसर थियो । बेलायत फर्किने क्रममा सुरक्षा व्यवस्था भने मुख्य विषय बन्ने देखिएको छ । ह्यारीले यसअघि सुरक्षा चिन्ताका कारण पत्नी र सन्तानसहित बेलायत आउन नसकेको बताएका थिए । गत वर्ष बेलायतमा आफ्नो सुरक्षा व्यवस्था घटाइएको निर्णयविरुद्ध गरेको कानुनी चुनौतीमा उनी पराजित भएका थिए । ह्यारी अर्को वर्ष बर्मिङ्घममा हुने घाइते सैनिक तथा पूर्वसैनिकका लागि आयोजित खेलकुद कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको छ ।

१७- बलिउडका चर्चित अभिनेता राजपाल यादव पछिल्लो समय फिल्मसँगै व्यक्तिगत र कानुनी विषयका कारण चर्चामा छन् । यसैबीच उनका प्रशंसकका लागि खुसीको खबर आएको छ । राजपालले एकैपटक १२ नयाँ फिल्ममा काम गर्ने सम्झौता गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यी सबै फिल्म आगामी १० वर्षको अवधिमा प्रदर्शन गर्ने तयारी छ । १२ वटै फिल्मको कुल बजेट करिब १२०० करोड भारु रहेको बताइएको छ । यी फिल्मको छायांकन सन् २०२७ देखि सुरु गर्ने तयारी गरिएको छ । यससँगै राजपाल आगामी धेरै वर्षसम्म लगातार फिल्ममा देखिने सम्भावना छ । यस ठूलो परियोजनालाई फक्स स्टुडियोको समर्थन रहेको बताइएको छ । राजपालले पनि यस परियोजनाप्रति उत्साह व्यक्त गरेका छन् । उनले कलाकारका रूपमा दर्शकका लागि राम्रो र सम्झनलायक काम गर्न आफू सधैँ इच्छुक रहेको बताएका छन् । उनका अनुसार यी १२ फिल्म आफ्नो चलचित्रप्रतिको प्रेम देश तथा विश्वभर पुर्‍याउने ठूलो अवसर हुन् । राजपालले परियोजनासँग जोडिएका सबैप्रति आभार व्यक्त गरेका छन् । उनले डा. अजय कुमार, केभिन किशोर कौल, फोकस पेट्रोलियम समूहसहित सम्पूर्ण टोलीलाई धन्यवाद दिएका छन् । उनले यो परियोजना कुनै एक व्यक्तिको सपना मात्र नभई धेरै मानिसको मेहनत र सहयोगको परिणाम भएको बताएका छन् । यी फिल्ममार्फत नयाँ अध्याय सुरु हुन लागेको भन्दै उनले आफूलाई यस्तो टोलीको हिस्सा बन्न पाउँदा खुसी र सम्मानित महसुस भएको बताए । राजपालले सबैको सहयोग र शुभकामनाबाट यी फिल्मले दर्शकलाई विशेष अनुभव दिने तथा आगामी धेरै वर्षसम्म सम्झनलायक बन्ने विश्वास व्यक्त गरेका छन् ।

१८- प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन र हालै स्वदेशी उद्यमी तथा व्यवसायीहरूसँगको परामर्शका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोगका लागि अनुरोध गरेको छ । सार्वजनिक खरिद सम्बन्धी विद्यमान कानुनी व्यवस्थाकै अधीनमा रही ती प्रावधानहरूको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न यो कदम अघि बढाइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक पत्र जारी गर्दै संघीय मन्त्रालयहरू, आयोग, सचिवालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नेपाली नियोगहरूसहितका सबै सार्वजनिक निकायहरूलाई आफ्ना खरिद प्रक्रियामा नेपाली उत्पादनलाई नै प्राथमिकता दिन अनुरोध गरेको छ । राष्ट्रिय अर्थतन्त्रमा आन्तरिक उत्पादनको योगदान बढाउन, बढ्दो आयातलाई प्रतिस्थापन गर्न, स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न, स्थानीय सीप तथा उद्यमको संरक्षण गर्न र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ सरकारले मौजुदा कानुनी व्यवस्थाको कडाइका साथ पालना गराउन यो पहल गरेको हो । उक्त अनुरोध अनुसार अबदेखि सरकारी कार्यालयका बैठक, समारोह, कोसेली, उपहार र सजावटका सामग्रीहरूमा सम्भव भएसम्म नेपाली हस्तकलाका वस्तुहरू नै प्रयोग गर्नुपर्ने व्यवस्था मिलाउनुपर्नेछ । यसैगरी स्टेशनरी, छपाईसम्बन्धी वस्तु, फर्निचर, साजसज्जाका सामान, निर्माण सामग्री, मेसिनरी औजार तथा उपकरण, कृषि र पशुजन्य उत्पादन एवं खाद्य तथा पेय पदार्थ खरिद गर्दा स्वदेशी उत्पादनलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्नेछ । सार्वजनिक खरिद ऐन, २०६३ र अन्य प्रचलित कानुनी व्यवस्थाकै अधीनमा रही सामानको उपलब्धता, गुणस्तर, मूल्य र सुरक्षाको मापदण्ड सुनिश्चित गरेर स्वदेशी मालसामान खरिद गर्नुपर्ने कुरालाई स्पष्ट पारिएको छ । साथै, सार्वजनिक निकायहरूले बोलपत्र सम्बन्धी कागजात तयार पार्दा नै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने विषय अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । यस व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायका प्रमुखले नियमित रूपमा स्वदेशी वस्तु खरिदको अनुगमन गर्नुपर्नेछ भने मन्त्रालयहरूले त्रैमासिक रूपमा यसको निरीक्षण गरी स्वदेशी वस्तुको प्रयोग सुनिश्चित गराउनुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्पष्ट गरेको छ ।

१९- स्पेनिस ला लिगाको नयाँ सिजनमा एट्लेटिको म्याड्रिडले विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा एट्लेटिकोले नवप्रवेशी मालागालाई २-० गोल अन्तरले पराजित गरेको हो । म्याड्रिडस्थित रियाद एयर मेट्रोपोलिटानो रंगशालामा बुधबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । मालागाले पहिलो हाफमा एट्लेटिकोलाई दबाबमा राख्दै केही राम्रो अवसरसमेत बनाएको थियो । दोस्रो हाफमा भने एट्लेटिकोले खेल आफ्नो नियन्त्रणमा लियो । खेलको ७०औँ मिनेटमा दक्षिण कोरियाली खेलाडी ली काङ इनले उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्रको बाहिरबाट बललाई घुमाउँदै उत्कृष्ट प्रहार गरेका थिए । त्यसपछि खेलको ८५औँ मिनेटमा एलेक्स बेनाले उत्कृष्ट फ्रिकिकमार्फत गोल गर्दै एट्लेटिकोको अग्रता २-० बनाएका थिए । त्यसपछि मालागाले खेलमा फर्कने अवसर पाएन । यससँगै एट्लेटिकोले नयाँ सिजनको पहिलो खेलमै तीन अंक जोडेको छ । मालागाले भने शीर्ष डिभिजनमा फर्किएपछिको पहिलो खेलमै हार बेहोरेको छ । मालागा सन् २०१८ पछि पहिलो पटक ला लिगामा फर्किएको हो । एट्लेटिकोका लागि ली काङ इनको यो क्लबका लागि औपचारिक खेलमा पहिलो गोलसमेत हो । उनी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए र निर्णायक गोल गर्दै उत्कृष्ट सुरुवात गरेका छन् । एट्लेटिकोले अब सिजनको दोस्रो खेलमा अगस्त २३ मास भिल्लारियलको सामना गर्नेछ ।

२०- राष्ट्रिय मानव अधिकार आयोगले बैंक, लघुवित्त, सहकारी, मिटरब्याजपीडित तथा भूमिहीन सुकुम्बासीका मागप्रति ध्यान दिँदै धर्नामा बसेकाको स्वास्थ्य, खानपान, बसोबास र सुरक्षाको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । विभिन्न माग राखेर पाँच दिनदेखि आयोगको पुल्चोकस्थित कार्यालयअगाडि सडकपेटीमा धर्ना दिइरहेकाको आयोगले निरन्तर अनुगमन गरिरहेको जनाएको छ । लामो समय सडकपेटीमा बस्दा महिला, बालबालिका, अशक्त तथा ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै आयोगले धर्नामा रहेकालाई उचित स्थानमा स्थानान्तरण गरी आवश्यक स्वास्थ्योपचार, बसोबास र सुरक्षाको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको हो । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियान नेपालबीच वार्ता टोली गठन भएको विषयलाई सकारात्मक रूपमा लिँदै आयोगले समस्याको समाधान वार्ता र संवादबाटै खोज्न आग्रह गरेको छ । दुवै पक्षका वार्ता समितिलाई वार्तालाई निरन्तरता दिई वार्ताकै माध्यमबाट समाधान निकाल्न आयोगले अनुरोध गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस