• २०८३ भाद्र ३ गते बुधवार

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १८ मिनेट

भदौ ३, काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेपाल भ्रमणमा आएका मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चार दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदिप जंग केसीले बिदाइ गरेका थिए । प्रधानसेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा आइतबार नेपाल आएका सेठले भ्रमणको क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेका थिए । जनरल सेठले आफ्नो भ्रमणको क्रममा राष्ट्रपति, प्रधानमन्त्री एवम् रक्षा मन्त्री र प्रधान सेनापतिसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए । नेपाली सेनाले यस भ्रमणले दुई देश बिच रहंदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुगेको जनाएको छ ।

२- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको आपूर्ति पूर्ण रूपमा नियमित रहेको जनाउँदै आम उपभोक्तालाई आवश्यकता भन्दा बढी ग्यास खरिद तथा अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ । निगमले सार्वजनिक गरेको पछिल्लो पाँच महिनाको तथ्याङ्क अनुसार बजारमा एलपी ग्यासको बिक्री र वितरण उल्लेख्य रूपमा बढेको छ । तथ्यांकअनुसार २०८२ चैतमा ३८ हजार ७९९ दशमलव ४५ मेट्रिक टन ग्यास आयात तथा बिक्री भएको थियो । यो करिब २७ लाख ३२ हजार ३५५ सिलिन्डर बराबर हो । त्यस्तै, २०८३ वैशाखमा ३२ हजार ५६ दशमलव ४४ मेट्रिक टन अर्थात् २२ लाख ५७ हजार ४९६ सिलिन्डर, जेठमा ३२ हजार ८४२ दशमलव २९ मेट्रिक टन अर्थात् २३ लाख १२ हजार ८३७ सिलिन्डर र असारमा ४४ हजार ५४४ दशमलव ५० मेट्रिक टन अर्थात् ३१ लाख ३६ हजार ९३७ सिलिन्डर बराबरको ग्यास आयात तथा बिक्री भएको निगमले जनाएको छ । श्रावण महिनामा भने ५७ हजार ३१६ दशमलव ३८ मेट्रिक टन ग्यास आयात तथा बिक्री भएको छ । यो करिब ४० लाख ३६ हजार ३६४ सिलिन्डर बराबर हो । निगमका अनुसार श्रावण महिनामा अघिल्लो महिनाको तुलनामा करिब ९ लाख सिलिन्डर बढी बिक्री वितरण भएको छ । हाल भाद्र महिनामा पनि एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित रूपमा भइरहेको र आगामी दिनमा समेत निरन्तर रहने निगमले जनाएको छ । त्यसैले आम उपभोक्तालाई आफ्नो आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न निगमले पुनः आग्रह गरेको छ ।

३- कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मुख्यमन्त्री शाहीको विश्वासको मतको पक्षमा २१ मत परेको थियो, जुन ४० सदस्यीय प्रदेश सभामा बहुमतका लागि आवश्यक संख्या हो । आजको मत विभाजन प्रक्रियामा ३६ सांसद सहभागी भएकोमा प्रस्तावको पक्षमा २१ र विपक्षमा १३ मत परेको थियो । त्यस्तै २ मत तटस्थमा परेको थियो । गत १२ साउनमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका शाहीले अहिलेसम्म मन्त्रिपरिषद्को विस्तार भने गर्न सकेका छैनन् । आजै प्रदेश सभाको बैठक अघि सत्ता गठबन्धनमा रहेको एमालेसँग मन्त्रालयको भागबण्डामा कुरा मिलेकाले छिट्टै सरकार विस्तार हुने अनुमान गरिएको छ । सहमति अनुसार नेकपा र एमालेले ३-३ मन्त्रालय लिने सहमत भएका छन् ।

४- शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत शिक्षक तथा प्र्रारम्भिक बालविकास इसिडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान बृद्धि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको साविक पारिश्रमिक अनुदानमा १० प्रतिशत वृद्धि गर्ने निर्णय गरेको हो । निर्णयअनुसार सङ्घीय शिक्षण सहयोग अनुदान कोटाका माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक ४३ हजार ६६९ रुपैयाँबाट बढेर ४८ हजार ५८ रुपैयाँ पुगेको छ । त्यस्तै, आधारभूत तहका शिक्षकको मासिक पारिश्रमिक ३४ हजार ७३० रुपैयाँबाट ३८ हजार २०३ रुपैयाँ कायम गरिएको छ । यसैगरी, इसिडी सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि सङ्घीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ थप गरिएको छ । नयाँ व्यवस्थाअनुसार (इसिडी) सहजकर्ताको मासिक पारिश्रमिक १२ हजारबाट १७ हजार रुपैयाँ, विद्यालय सहयोगीको १० हजारबाट १५ हजार रुपैयाँ र लेखा हेर्ने विद्यालय कर्मचारीको १५ हजारबाट २० हजार रुपैयाँ पुगेको छ । पारिश्रमिक वृद्धि भएपछि न्यून पारिश्रमिकमा सामुदायिक विद्यालयमा कार्यरत इसिडी सहजकर्ता, विद्यालय कर्मचारी, विद्यालय सहयोगी तथा सङ्घीय शिक्षण सहयोग अनुदान कोटाका शिक्षक प्रत्यक्ष लाभान्वित हुनेछन् । यसबाट विद्यालयमा कार्यरत जनशक्तिको मनोबल वृद्धि भई शैक्षिक गुणस्तर सुधारमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ । सरकारले निर्णयलाई विद्यालय शिक्षामा कार्यरत जनशक्तिको समस्या समाधान गर्ने प्रयासका रूपमा व्याख्या गरेको छ । विद्यालय शिक्षाका लागि आवश्यक जनशक्ति र स्रोतको सुव्यवस्थापन गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ । पारिश्रमिक वृद्धि कार्यान्वयनपछि सरकारमाथि वार्षिक ४ अर्ब ६८ करोड ९८ लाख २८ हजार १०० रुपैयाँ थप दायित्व सिर्जना हुने बताइएको छ ।

५- प्रधानमन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरुले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्रीहरुले प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरेका हुन् । उनीहरुसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरिएको हो । आजै प्रधानमन्त्रीसँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीज्यूले पनि कार्यसम्पादन सम्झौता गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

६- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहले ‘एक्लो’ भएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै प्रधानमन्त्री कवि र कलाकार पनि भएको बताउदै अन्य अर्थ नलगाउन आग्रह गरेका छन् । रास्वपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले लामिछानेले त्यस स्टाटसमा प्रधानमन्त्रीको कवि भावना पोखिएको टिप्पणी गरेका हुन् । उनले भने- ‘दुईजनाबीच झगडा पर्‍यो भनेर लेख्नुहुन्छ हामीलाई रमाइलो लाग्छ । तपाईंहरूको समाचारले हामीलाई अझ नजिक ल्याइरहेको छ । त्यसैले समाचार लेख्न नरोक्नुहोला, प्रधानमन्त्रीज्यू कवि र कलाकार पनि हो । यत्रो भिडमा पनि म एक्लो महसुस गर्न सक्दिनँ र हरेक शब्दको राजनीतिक अर्थ खोज्न हुँदैन । यहाँ पार्टी सिंगै उभिएको छ, कहाँ एक्लो हुनुहुन्छ ?’ उनले आजको छलफललाई संसदीय दलको बैठक नभई संसदमा पार्टीको प्रस्तुतिलगायत विषयमा गरिएको आन्तरिक छलफल भएको जानकारी दिए । लामिछानेले संसदमा रास्वपाका सांसदहरू कसरी प्रस्तुत भइरहेका छन् भन्ने विषयमा पार्टीभित्र छलफल गरिएको बताउदै संसदमा प्रस्तुत हुने विषय र त्यसको प्रस्तुतीकरणबारे आम नागरिकस्तरबाट समेत प्रश्न उठिरहेकाले पार्टीभित्र समीक्षा गरिएको बताए ।

७- नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकारको विदेश नीति, राष्ट्रिय सुरक्षा र शासन सञ्चालनप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारको छोटो कार्यकालमै राष्ट्रियता, लोकतन्त्र र जनजीविकामाथि गम्भीर संकट उत्पन्न भएको आरोप लगाए । थापाले सरकारको विदेश नीति र राष्ट्रिय सुरक्षा नीतिमा ‘खतरनाक विचलन’ देखिएको दाबी गर्दै सरकारले हालै तिब्बती निर्वासित सरकार र पश्चिमी कूटनीतिज्ञहरूलाई दलाई लामाको जन्मोत्सवका नाममा नेपालमा राजनीतिक गतिविधि गर्न अनुमति दिएको बताए । नेपालको भूमि कुनै पनि अवस्थामा तिब्बती गतिविधि वा अर्को खम्पा विद्रोहका लागि प्रयोग हुन नहुने बताउदै उनले चीनको आपत्तिपछि नेपालमा आयोजना हुने भनिएको एक अन्तर्राष्ट्रिय सम्मेलनसमेत स्थगित भएको उनले दाबी गरे । थापाले नेपालमा रहेका निर्वासित तिब्बतीहरूलाई मानवीय आधारमा आश्रय दिइएको भए पनि उनीहरूलाई राजनीतिक शरणार्थीका रूपमा मान्यता नदिइएको स्मरण गराए । केही शोधकर्ताले तिब्बती गुम्बाहरूमा ठूलो मात्रामा शक्ति सङ्ग्रह भइरहेको र गत भदौमा लुटिएका हतियारसमेत त्यहाँ लुकाइएको आशङ्का गरेको उल्लेख गर्दै उनले यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताए । प्रतिनिधिसभामा बोल्दै थापाले गत भदौमा भएको आन्दोलन र त्यसपछिको सत्ता परिवर्तनप्रति पनि प्रश्न उठाए । देश धुवाँ र खरानीले घेरिएको दृश्य अझै आफ्नो मानसपटलमा रहेको भन्दै उनले उक्त घटनालाई सुनियोजित भएको दाबी गरे । उनले भदौ २३ गते आन्दोलनमा घुसपैठ भएको भन्दै त्यसबेला जेनजी आन्दोलनका आयोजकले वक्तव्यमार्फत सर्वसाधारणलाई घर फर्किन आह्वान गरेको स्मरण गर्दै त्यसपछि नागरिकको ज्यान गएको बताए । थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीसहित सरकार पुनर्गठन गर्न आग्रहसमेत गरे । प्रधानमन्त्री बालेन शाहको कार्यशैलीमा सुधार नआए र लामिछानेले सरकार पुनर्गठनको पहल नगरे आफूहरू आन्दोलनमा जान बाध्य हुने उनको चेतावनी समेत दिए । उनले राष्ट्रियता, लोकतन्त्र र जनजीविका पुनर्स्थापनाका लागि विगतका ठूला आन्दोलनभन्दा पनि व्यापक जनआन्दोलन हुन सक्ने चेतावनी दिए । देशको वर्तमान अवस्थाले जनतामा असन्तुष्टि बढाउँदै लगेको उनको दाबी थियो । साथै थापाले सरकारलाई राष्ट्रिय हित, सुरक्षा र जनजीविकाका विषयमा तत्काल आफ्नो नीति र कार्यशैली सुधार गर्न आग्रह गरेका छन् ।

८- लमजुङको सुन्दरबजार नगरपालिकास्थित आदर्श बाल माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नवराज केसीले झुटा विवरण पेस गरी माध्यमिक तहको स्थायी नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार केसीले यसअघि माध्यमिक तहको अस्थायी शिक्षक पदबाट राजीनामा दिएर प्राथमिक तहमा स्थायी नियुक्ति लिएका थिए । तर, शिक्षक सेवा आयोगले अस्थायी तथा विस्थापित शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामा सहभागी गराउने गरी निकालेको विज्ञापनमा आफू विस्थापित शिक्षक भएको झुटा विवरण पेस गरी माध्यमिक तहको परीक्षामा सहभागी भएका थिए । अनुसन्धानका क्रममा केसीले आफू विस्थापित शिक्षक नभएको तथा स्थायी शिक्षक भएपछि राजीनामा दिएको स्वयं स्वीकार गरेको आयोगले जनाएको छ ।विज्ञापनमा आवेदन दिने शिक्षक विस्थापित वा अस्थायी रूपमा कार्यरत रहेको विवरण सम्बन्धित जिल्ला शिक्षा कार्यालयबाट प्रमाणित गर्नुपर्ने व्यवस्था भए पनि केसीले पेस गरेको झुटो विवरण तत्कालीन जिल्ला शिक्षा कार्यालयका निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेले स्वीकृत गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ । आयोगले केसी र न्यौपानेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुरजन्य भएको ठहर गर्दै दुवै जनालाई कानुनबमोजिम सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

९- नेप्सेमा सामान्य गिरावट आएको छ । आज बुधबार नेप्से ०.२६ अंकले घटेर २६२२.२२ विन्दुमा पुगेर रोकिएको छ । आज ३४६ कम्पनिका ९५ लाख ८ हजार ८८२ कित्ता शेयर ३ अर्ब २९ करोड ८० लाख १९ हजार ५७१ मा कारोबार भएको थियो । आज बैंकिंग, हाइड्रो, निर्जीव बीमा, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी माउन्ट एभरेष्ट पावरको शेयर १४.९९ प्रतिशतले बढेको छ भने सर्वोत्तम पेन्ट्सको शेयर १४.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी मनकामना इन्जिनियरिंग हाइड्रोको शेयर ८.४५ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी सहस उर्जाको १७ करोड ५२ लाख बराबरको कारोबार भएको छ भने सोलु हाइड्रोको १६ करोड ८८ लाख बराबरको कारोबार भएको छ ।

१०- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बागमती प्रदेशसभामा सरकार निर्माण प्रक्रियामा आफ्नो पार्टीले कुनै दललाई समर्थन नगरेको स्पष्ट पारेका छन् । लिङदेनले मुख्यमन्त्रीका लागि नेकपा एमालेका किरण थापालाई समर्थन गरेको भन्दै बुझाइएको पत्र पार्टीको निर्णयविपरीत भएको बताएका छन् । उक्त विषयमा पार्टीले प्रदेश प्रमुखलाई जानकारी गराइसकेको उनले जनाएका छन् । पार्टीको निर्णयविपरीत गतिविधिमा संलग्न व्यक्तिमाथि अनुशासनको कारबाही प्रक्रिया सुरु भइसकेको पनि अध्यक्ष लिङदेनले बताएका छन् । यसअघि एमालेका नेता किरण थापाले राप्रपासहितको समर्थनमा ६३ सांसदको समर्थनसहित सरकार निर्माणको दाबि पेश गरेका थिए । सो समर्थन पत्रमा राप्रपा संसदीय दलका नेता उद्धव थापाले हस्ताक्षर गरेका थिए भने उनी पनि प्रदेश प्रमुखसँग दाबि पेश गर्न पुगेका थिए । राप्रपाले यसअघि नै प्रदेश सरकार निर्माणमा सहभागी नहुने निर्णय गर्दै सोहि अनुसार निर्देशन दिएको थियो ।

११- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रदेशसभाबाट मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गरेका हुन् । सुदूरपश्चिम प्रदेश सभामा भएको विश्वासको मत सम्बन्धि प्रस्तावमा मतदान हुदा प्रस्तावको पक्षमा ३१ मत परेको थियो । त्यस्तै प्रस्तावको विपक्षमा १५ मत परेको छ । आजको मत विभाजनमा ४६ सांसद सहभागी भएका थिए । विश्वासको मत लिएलगत्तै सरकारलाई पूर्णता दिने तयारीसमेत मुख्यमन्त्री भट्टले गरेका छन् । हाल एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन् । अब नेकपाका तर्फबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्ने तयारी छ । केन्द्रमा भएको सहमति अनुसार नेकपा नेता भट्ट साउन २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश सभामा नेकपा र एमालेको स्पष्ट बहुमत रहेको छ ।

१२- राष्ट्रिय स्वतन्त्र पार्टीं(रास्वपा) ले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गरेको छ । बुधबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले रास्वपा संसदीय दलको विधानलाई समयानुकूल बनाउन प्रमुख सचेतकको संयोजकत्वमा विधान संशोधन कार्यदल गठन गरेको संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिएका छन् । कार्यदललाई ७ दिनभित्र प्रतिवेदन तथा कार्यविधि तयार गर्ने जिम्मेवारी दिइएको पराजुलीले बताए । बैठकमा मन्त्रीहरूले आ-आफ्नो मन्त्रालयबाट भएका प्रगति विवरण र गतिविधिहरू बैठकमा जानकारी दिएका थिए । त्यस्तै बैठकमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका समस्या, जनताबाट प्राप्त गुनासाहरू र सरकारका कमजोरी औल्याएका थिए । साथै रास्वपा सांसदहरूले ग्यासको अभाव र बढिरहेको लाइन बारे प्रश्न गरेका थिए ।

१३- मानब सुथरले श्रीलंकाविरुद्धको पहिलो खेलमा उत्कृष्ट बलिङ गर्दै छ विकेट लिएपछि भारतले १६५ रनको शानदार जित निकालेको छ । ३७२ रनको लक्ष्य पछाएको श्रीलंका २०६ रनमै अल आउट भएपछि भारतले २ खेलको सिरिजको पहिलो खेल १६५ रनले जितेको हो । श्रीलंकाको मध्यक्रमले बलियो प्रतिरोध गरे पनि भारतले धैर्य र निरन्तर दबाब कायम राख्दै जित हात पारेको हो । सुथरले खेलको अन्तिम चरणमा श्रीलंकाको पुछारका ब्याटरलाई धराशायी बनाएका थिए । श्रीलंकाका सोनल दिनिशा दोस्रो शतकको नजिक पुगे पनि १६ रनले चुके । धनञ्जय डी सिल्भाले अर्धशतक बनाए । लामो समयसम्म भारतले रन बनाउने गति नियन्त्रणमा राख्दै दोस्रो नयाँ बलबाट निर्णायक प्रहार गर्ने रणनीति अपनाएको थियो । तर ७६औँ ओभरमा दिनिशालाई आउट गरेपछि सुथरले बाँकी ब्याटरलाई १० बलमै चार विकेट लिएर समेटे । उनले यस खेलमा कुल छ विकेट लिए। दुई खेलको आफ्नो सुरुवाती अन्तर्राष्ट्रिय यात्रामै सुथरले दोस्रोपटक पाँच विकेटभन्दा बढी लिएका हुन् । पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका सुथरले लगातार दोस्रो खेलमा पनि प्रभावशाली प्रदर्शन गर्दै सम्भावित रूपमा लगातार दोस्रो खेलको उत्कृष्ट खेलाडीको पुरस्कार जित्ने आधार बनाएका छन् । यस खेलमा भारतले पहिलो इनिंगमा ४६२ रन बनाएको थियो बने श्रीलंकाले २८४ रन बनाएको थियो । त्यस्तै भारतले दोस्रो इनिंगमा १९३ रन बनाएपछि श्रीलंकाले ३७२ रनको लक्ष्य पाएको थियो । अब सिरिजको दोस्रो खेल आइतबारदेखि कोलोम्बोमा हुने तालिका छ ।

१४- बागमती प्रदेशको नयाँ सरकार गठनका लागि नेकपा एमालेका नेता किरण थापामगरले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आवश्यक समर्थन जुटाउँदै थापामगरले बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष दाबी पेस गरेका हुन् । थापामगरले एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गरी ६३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको दाबी पेस गरेका छन् । समर्थनमा एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसद रहेका छन् । १०४ सदस्यीय प्रदेशसभामा ६३ सांसदको समर्थनसहित दाबी पेस गरिएको छ । दाबी पेस गर्ने निवेदनमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, राप्रपा संसदीय दलका नेता उद्धव थापा तथा नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेलले समर्थन पत्रमा हस्ताक्षर गरेका छन् । प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न विहिबार ४ बजेसम्मको समय दिएका थिए ।

१५- जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा ३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भदौ २ गते भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठामा जितपुरसिमरा बस्ने ३ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी थिइन् । घटनापछि इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले अनुसन्धान अघि बढाउदै प्रदेश प्रहरी कार्यालय वीरगञ्जबाट तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोलीसमेत परिचालन गरिएको थियो । प्रारम्भिक अनुसन्धानअनुसार बालिका साउन ३१ गते बिहान करिब ८: ३० बजे घरबाट हराएकी थिइन् । अनुसन्धानका क्रममा जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने करिब १६ वर्षीय बालकले बालिकालाई चकलेट दिएर फकाई घटनास्थलमा लगेको र जबरजस्ती करणीपछि हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका क्रममा ना.१ ज ७७५८ नम्बरको यात्रुवाहक गाडीका सहचालक रहेका १६ वर्षीय बालक र उक्त गाडीका धनी जितपुरसिमरा उपमहानगरपालिका–१ बस्ने २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरिएको छ । पक्राउ परेका दुवै जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१६- फ्रान्सले दुई जना इरानी कूटनीतिज्ञलाई देशबाट निष्कासन गर्ने निर्णय गरेको छ । फ्रान्सका विदेशमन्त्री जाँ नोएल बारोले यसको जानकारी दिएका हुन् । यसअघि इरानले फ्रान्सेली दूतावासका दुई कर्मचारीलाई इरान फर्कन अनुमति नदिने निर्णय गरेको थियो । इरानी विदेश मन्त्रालयले जुलाईमा भएको कूटनीतिक विवादपछि यस्तो निर्णय गरिएको जनाएको थियो । फ्रान्सले इरानी सुरक्षा बलमाथि दूतावासका दुई कर्मचारीलाई धम्क्याएको आरोप लगाएको थियो । इरानले भने फ्रान्समाथि आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाउँदै आएको छ ।

१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुन तोलाको २७ सयले घटेर तोलाको ३ लाख ४ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख ६ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १६० रुपैयाँले घटेर तोलाको ४५९५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४७५५ मा कारोबार भएको थियो ।

१८- ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले अमेजन नदीको मुहान नजिक समुद्रमा तेल भेटिएको घटनालाई देशको भविष्यका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । ब्राजिलको सरकारी तेल कम्पनी पेट्रोब्रासले तेल भेटिएको घोषणा गरेपछि राष्ट्रपति लुलाले यसलाई ‘देशको भविष्यको पासपोर्ट’ बन्न सक्ने बताएका हुन् । अमेजन नदीको तटबाट करिब १७५ किलोमिटर टाढा समुद्रमा तेल भेटिएको हो । तर त्यहाँ कति परिमाणमा तेल छ भन्ने अझै स्पष्ट भइसकेको छैन । समुद्रको सतहबाट करिब २ हजार ८८६ मिटर गहिराइमा तेल भेटिएको हो । उक्त तेल व्यावसायिक रूपमा निकाल्न सम्भव हुन्छ कि हुँदैन भन्ने पनि अहिले नै निश्चित भएको छैन । तेल खोजीका लागि ब्राजिलको भूमध्यरेखीय क्षेत्र भनिने समुद्री क्षेत्रमा गरिएको गहिरो ड्रिलिङको वातावरणविद्हरूले लामो समयदेखि विरोध गर्दै आएका छन् । उक्त क्षेत्र जैविक विविधताका दृष्टिले निकै महत्वपूर्ण मानिन्छ । सम्भावित तेल चुहावटले समुद्री चट्टान तथा आसपासका तटीय क्षेत्रमा रहेका दलदल र वन्यजन्तुलाई गम्भीर असर पार्न सक्ने संरक्षणकर्मीहरूको चिन्ता छ । राष्ट्रपति लुलाले भने विदेशी हस्तक्षेप स्वीकार नगर्ने बताएका छन् । उनले गुणस्तरीय तेल रहेको कुनै पनि देशले आफ्नो प्राकृतिक स्रोतको विषयमा बाह्य हस्तक्षेप स्वीकार नगर्ने भन्दै यसलाई राष्ट्रिय सार्वभौमिकताको विषय बताएका छन् । पेट्रोब्रासले सन् २०२५ को अक्टोबरदेखि उक्त क्षेत्रमा गहिरो समुद्री तेल खोजी सुरु गरेको थियो । कम्पनीकी प्रमुख कार्यकारी अधिकृत माग्दा चाम्ब्रियार्डले भूमध्यरेखीय क्षेत्रमा तेल भेटिने कम्पनीको विश्वास सही साबित भएको बताएकी छन् । उनले देशको ऊर्जा सुरक्षालाई सुनिश्चित गर्न कम्पनी प्रतिबद्ध रहेको बताइन् । राष्ट्रपति लुलाले भने तेलबाट प्राप्त हुने आम्दानीले ब्राजिललाई जीवाश्म इन्धनबाट अन्य ऊर्जातर्फको संक्रमणमा सहयोग पुग्ने तर्क गर्दै आएका छन् । उनले आफू जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने लक्ष्यबाट पछि नहटेको बताएका छन् । ब्राजिल जैविक इन्धनको विकासमा अग्रणी रहनुका साथै नवीकरणीय ऊर्जाको क्षेत्रमा पनि महत्वपूर्ण भूमिका खेलिरहने उनको भनाइ छ । ब्राजिलमा गत नोभेम्बरमा आयोजित जलवायु सम्मेलनभन्दा केही साताअघि लुलाले पेट्रोब्रासलाई उक्त क्षेत्रमा तेल खोजी गर्न अनुमति दिएका थिए। त्यसबेला वातावरणविद्हरूले उनको निर्णयको कडा विरोध गरेका थिए । लुलाले त्यसबेला विशेषगरी युरोपेली देशहरूबाट भएको विरोधको स्मरण गर्दै राष्ट्रिय हित र सरकारी तेल कम्पनीको हितलाई ध्यानमा राखेर तेल खोजीको अनुमति दिएको बताएका छन् । समुद्रमा तेल भेटिएको खबरले नजिकैको ओयापोके नगरमा पनि आशा बढाएको छ । अमापा राज्यमा पर्ने उक्त क्षेत्रमा रोजगारी र नयाँ अवसरको आशामा मानिसहरूको आगमन बढेको स्थानीय आवास अधिकारीहरूले बताएका छन् । अक्टोबरमा हुने राष्ट्रपति निर्वाचनका लागि दुई महिनाभन्दा कम समय बाँकी रहँदा लुलामाथि आर्थिक विकासको अपेक्षा गरिरहेका मतदातालाई आकर्षित गर्ने र वातावरणीय जोखिमबारे चिन्तित मतदातालाई पनि आश्वस्त पार्ने चुनौती देखिएको छ ।

१९- मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्दै मानव बेचबिखनमुक्त समाज निर्माणको राष्ट्रिय अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले सरकारले मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय गरेको छ । आगामी भदौ २० गते मनाइने दिवसका लागि ‘प्रविधिको सही प्रयोग र सजगता: मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नारा तय गरिएको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । प्रविधिको तीव्र विस्तारसँगै मानव बेचबिखन तथा ओसारपसारका स्वरूप र माध्यमसमेत परिवर्तन भइरहेको सन्दर्भमा प्रविधिको सही प्रयोग र नागरिक सजगतालाई बेचबिखन रोकथामको महत्वपूर्ण आधारका रूपमा अघि सार्दै यस वर्षको नारा तय गरिएको हो । विशेषगरी सामाजिक सञ्जाल, अनलाइन रोजगारी तथा वैदेशिक रोजगारीका नाममा हुने झुटा प्रलोभन, ठगी र शोषणबाट नागरिकलाई जोगाउन डिजिटल माध्यमको सुरक्षित तथा जिम्मेवार प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य नाराले बोकेको छ । मन्त्रालयका अनुसार दिवसका अवसरमा मानव बेचबिखनको जोखिम न्यूनीकरण, रोकथाम, पीडितको संरक्षण तथा पुनर्स्थापना र सरोकारवाला निकायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने सन्देश प्रवाह गरिनेछ । मानव बेचबिखन नियन्त्रण सरकारको मात्र जिम्मेवारी नभई तीनै तहका सरकार, सुरक्षा निकाय, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र, परिवार र समुदायको साझा दायित्व भएकाले सामूहिक ऐक्यबद्धतामार्फत मानव बेचबिखनमुक्त राष्ट्र निर्माणमा जोड दिइएको मन्त्रालयले जनाएको छ ।

२०- युट्युबले भिडियोको भ्यूज गणना गर्ने तरिकामा परिवर्तन गर्ने घोषणा गरेको छ । नयाँ व्यवस्थाअनुसार प्रयोगकर्ताले भिडियो वा प्रत्यक्ष प्रसारण चलाउनेबित्तिकै त्यसलाई एक भ्यूजका रूपमा गणना गरिनेछ । यसअघि सामान्य भिडियोमा प्रयोगकर्ताले कम्तीमा ३० सेकेन्ड हेरेपछि मात्र भ्यूज गणना हुने व्यवस्था रहेको थियो। अब भने लामो भिडियो, प्रत्यक्ष प्रसारण र छोटा भिडियो गरी सबै प्रकारका सामग्रीमा भिडियो सुरु भएलगत्तै भ्यूज गणना हुने व्यवस्था लागू हुनेछ । युट्युबले भ्यूज गणनासम्बन्धी फरक-फरक मापदण्डका कारण सिर्जनाकर्ता र विज्ञापन साझेदारमा देखिएको अन्योल हटाउन यो परिवर्तन गर्न लागेको बताएको छ । यसअघि छोटा भिडियो, प्रत्यक्ष प्रसारण र सामान्य भिडियोका लागि भ्यूज गणना गर्ने तरिका फरक थियो । नयाँ व्यवस्थाले सबै प्रकारका भिडियोमा समान मापदण्ड लागू गर्ने युट्युबले बताएको छ । अन्य भिडियो मञ्चहरूले पनि भिडियो सुरु हुनेबित्तिकै भ्यूज गणना गर्ने भएकाले नयाँ व्यवस्थाले सिर्जनाकर्ता तथा व्यवसायिक साझेदारलाई आफ्नो सामग्रीको पहुँच सहज रूपमा मूल्याङ्कन गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । युट्युबमा सार्वजनिक रूपमा देखाइने भ्यूज संख्या नयाँ व्यवस्थाअनुसार छिटो बढ्नेछ । तर क्रियटर्सले अहिलेसम्म प्राप्त गर्दै आएको वास्तविक भ्यूजसम्बन्धी विस्तृत तथ्याङ्क भने हट्ने छैन । त्यस्तो तथ्याङ्क युट्युबको विश्लेषण प्रणालीमा पुरानै भ्यूज मापनका रूपमा उपलब्ध रहनेछ । यसबाट क्रियटर्सले कति दर्शकले भिडियोमा वास्तविक रुचि देखाएर थप समयसम्म हेरे भन्ने बुझ्न सक्नेछन् । नयाँ भ्यूज गणना प्रणाली लागू भए पनि क्रियटर्सको कमाइमा प्रत्यक्ष परिवर्तन नहुने युट्युबले जनाएको छ । सिर्जनाकर्ताको कमाइ अझै पनि दर्शकले संलग्न भएर हेरेको समय तथा छोटा भिडियोका योग्य भ्यूजमा आधारित हुनेछ । त्यसैगरी, युट्युबबाट कमाइ गर्न आवश्यक योग्यताका मापदण्डमा पनि कुनै परिवर्तन गरिएको छैन । यद्यपि, युट्युबले कमाइ कार्यक्रमका लागि आवश्यक मापदण्डमा प्रयोग हुने शब्दावलीलाई अब योग्य छोटा भिडियो र योग्य हेराइ समयका रूपमा प्रयोग गर्ने भएको छ । नयाँ भ्यूज गणना प्रणाली २४ अगस्ट २०२६ देखि लागू हुनेछ । त्यसपछि युट्युबमा सामान्य भिडियो र प्रत्यक्ष प्रसारणको सार्वजनिक भ्यूज संख्या हेर्दा अहिलेको तुलनामा फरक देखिने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस