• २०८३ भाद्र ३ गते बुधवार

कैलालीमा २१ लाख बढी मूल्यको सुनजस्तो पदार्थसहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
भदौ २, कैलाली। कैलालीमा भन्सार छली गरी ल्याएको ८१ ग्राम ८८० मिलिग्राम सुनजस्तो देखिने पदार्थसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–९ का ३६ वर्षीय दिपक गौर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले गौर अवैध सुनजस्तो देखिने पदार्थ कारोबारका लागि साथमा बोकेर हिँडिरहेको भन्ने सूचनाका आधारमा धनगढी उपमहानगरपालिका–१ बाट उनलाई पक्राउ गरेको हो।
प्रहरीले खानतलासी गर्दा गौरको खल्तीबाट ८१ ग्राम ८८० मिलिग्राम तौलको सुनजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ। बरामद पदार्थको मूल्य २१ लाख ६२ हजार १२३ रुपैयाँ बराबर रहेको प्रहरीको भनाइ छ।
गौरको साथबाट ‘निलो सुन चाँदी गहना पसल’को नाममा रहेको बिलसमेत फेला परेको थियो। उक्त बिलमा छाप नभएको तथा बरामद पदार्थको स्रोत खुलाउन नसकेपछि प्रहरीले भन्सार छली गरी ल्याइएको आशंकामा पदार्थ बरामद गरेको हो।
बरामद पदार्थसहित गौरलाई आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय, त्रिनगरमा बुझाइएको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस