• २०८३ भाद्र ३ गते बुधवार

नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ २, काठमाडौं । बलिउडका चर्चित गायक नवजोत आहुजा नेपाल आएका छन् । उनी आज बुधबार दिउँसो नेपाल आएका हुन् । बुधबार अर्थात् भोलि ठमेलस्थित क्लब नोभामा उनले प्रस्तुति दिनेछन् । क्लब नोभाले बुधबार स्थापनाको पहिलो वार्षिकोत्सव मनाउँदै छ । सोही अवसरमा क्लबले आयोजना गरेको सांगीतिक कार्यक्रमका लागि गायक आहुजा नेपाल आएका हुन् । जहाँ उनले ‘तेरे लिए मंदिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ लगायत थुप्रै गीतमा दर्शकलाई झुमाउनेछन् ।

‘तेरे लिए मंदिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ आहुजाको सांगीतिक यात्राको सबैभन्दा हिट गीत हो । यो गीत उनको खत एल्बममा समावेश छ । त्यसबाहेक उनका तू ही हूँ, खुद से मोहब्बत, इंतजÞार, मेरे हो तुम, चले गएलगायत दजनौं गीत चर्चित छ । गायक आहुजा पहिलोपटक नेपाल आएका हुन् । नेपाल आएसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपालीहरूमाझ आफ्नो प्रस्तुति दिन निकै उत्सुक रहेको बताए । ‘म पहिलोपटक नेपाल आएको हुँ । मलाई नेपाल मन पर्छ । नेपाली संस्कार र संस्कृति राम्रो लाग्छ,’ उनले भने, ‘नेपाली दर्शकमाझ आफ्नो प्रस्तुति दिन म निकै उत्सुक छु ।’

नेपाली संगीतप्रति आफ्नो झुकाव देखाउँदै उनले नेपाली गीत पनि सुन्ने गरेको बताए । साथै कुनै नेपाली संगीतकारले गीत गाउन अफर गरेमा आफू राजी रहेको उनको भनाइ थियो ।

उनको नेपाल बसाइ तीन दिन रहनेछ । यही दौरानमा उनी काठमाडौंका धार्मिक तथा पर्यटकीय स्थलहरूको विशेष भ्रमण गर्नेछन् ।

क्लब नोभाको सेलिब्रेसन कार्यक्रम बुधबार राती ९ बजे सुरु हुनेछ । क्लब नोभाको पहिलो वार्षिकोत्सव भएकोले सेलिब्रेसनमा आमन्त्रित पाहुनालाई बढी प्राथमिकता दिएको नोभाका संस्थापक विशाल तुलाचनले बताए ।

‘हामीले पहिलापटक नोभाको सेलिब्रेसन गर्न लागेका हौँ । सेलिब्रेसन कार्यक्रममा दर्शक भन्दा पनि आमन्त्रित पाहुनालाई बढी प्राथमिकता दिएका छौं,’ उनले भने, ‘करिब ९० प्रतिशत आमन्त्रित पाहुना र १० प्रतिशत मात्र टिकट ब्रिकीका लागि राखिएको छ ।’ कार्यक्रममा गायक आहुजाको मात्रै प्रस्तुति रहेको उनले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस