• २०८३ भाद्र २ गते मङ्गलवार

कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सांसद प्रकाश देउवा पदमुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २, धनगढी । सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका सांसद प्रकाश देउवा पदमुक्त भएका छन् । प्रदेशसभाका लगातार २५ बैठकमा अनुपस्थित भएपछि सभामुख भीमबहादुर भण्डारीले देउवालाई पदमुक्त गर्ने निर्णय गरेका हुन् ।

कैलाली-५ को प्रदेशसभा ‘२’ बाट निर्वाचित तथा पूर्वमन्त्रीसमेत रहेका देउवा २०८२ असोजदेखि प्रदेशसभाका बैठकमा सहभागी भएका छैनन् । बैठकमा अनुपस्थित रहे पनि उनले प्रदेशसभाबाट प्राप्त हुने पारिश्रमिक तथा अन्य सुविधा भने लिँदै आएको जनाइएको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि देउवा प्रदेशसभा सचिवालयलाई कुनै जानकारी नदिई अमेरिका गएको र हालपनि अमेरिकामै रहेको बताइएको छ ।

प्रदेशसभा नियमावली, २०८० को नियम १(३) अनुसार सभाको जानकारीबिना लगातार १० बैठकमा अनुपस्थित भएमा प्रदेशसभा सदस्यको पद रिक्त हुने व्यवस्था छ । देउवाले लगातार १० बैठकमा अनुपस्थित भएपछि आफू अमेरिका रहेको जानकारी सभामुखलाई गराएपनि लामो समयसम्म प्रदेशसभा बैठकमा उपस्थित नभएपछि सभामुखले पदमुक्त गर्ने निर्णय गरेको बताइएको छ ।

देउवा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका भतिजा हुन् । सभामुखले पदमुक्त गर्ने निर्णय गरिसकेको र प्रदेशसभा बैठकमा औपचारिक जानकारी गराउने प्रदेश सभा सचिवालय स्रोतले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस