• २०८३ भाद्र २ गते मङ्गलवार

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १७ मिनेट
भदौ १, काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले परमादेश जारी गर्दै रिहाको आदेश दिएका हुन् । साथै इजलासले जफत गरिएका सञ्चार माध्यमका सामग्री र श्रेष्ठको घरबाट लगिएका समान फिर्ता गर्न समेत आदेश दिएको छ । यसअघि शुक्रबार सर्वोच्चले श्रेष्ठलाई उनको कार्यलयबाट बरामद गरिएका सामानसहित हाजिर गराउन आदेश जारी गरेको थियो । श्रेष्ठ गत बुधबार वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका थिए ।
२- सोनल दिनुषा र निरोशन डिकवेलाको उत्कृष्ट साझेदारीका बाबजुद श्रीलंका भारतविरुद्धको पहिलो पारीमा २८४ रनमा अलआउट भएको छ । भारतले पहिलो पारीमा ४६२ रन बनाएपछि १७८ रनको बलियो अग्रता लिएको छ । जारी टेस्टको तेस्रो दिनको खेल सकिनुअघि श्रीलंकाको पारी समाप्त भएपछि वर्षाका कारण खेल चाँडै रोकिएको हो । अब चौथो दिन भारतले दोस्रो पारी सुरु गर्नेछ । भारतका बलरले श्रीलंकालाई सुरुदेखि नै दबाबमा राखेका थिए । मोहम्मद सिराजले पारीको दोस्रो बलमै निशान फर्नान्डोलाई आउट गरे । मानव सुथारले दिनेश चान्दिमल, लाहिरु उदारा र प्रभात जयसूर्यालगायत महत्वपूर्ण विकेट लिए । रवीन्द्र जडेजाले तीन विकेट लिए भने सिराज, प्रसिद्ध कृष्णा र कुलदीप यादवले एक-एक विकेट लिए । एक समय ९० रनमै पाँच विकेट गुमाएको श्रीलंकालाई सोनल दिनुषा र निरोशन डिकवेलाले उत्कृष्ट साझेदारी गर्दै संकटबाट निकाले । उनीहरूले छैटौँ विकेटका लागि १४६ रनको साझेदारी गरेका थिए । डिकवेलाले ११५ बलमा सात चौकासहित ८० रन बनाए । उनको विकेट गुमेपछि पनि सोनलले संघर्ष जारी राख्दै १६७ बलमा आफ्नो पहिलो टेस्ट शतक पूरा गरे । उनले १६८ बलमा चार चौका र दुई छक्कासहित १०० रन बनाए । सोनल आउट भएपछि श्रीलंकाको पारी २८४ रनमा समाप्त भयो । यससँगै श्रीलंका फलोअनबाट भने जोगिएको छ । भारतका लागि मानव सुथारले चार तथा रवीन्द्र जडेजाले तीन विकेट लिए । भारतले अब दोस्रो पारीमा अग्रता अझ फराकिलो बनाउने लक्ष्य राख्नेछ ।
३- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको महाधिवेशन असोज १६ गतेदेखि सुरु हुने भन्दै अब मिति हेरफेरको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले महाधिवेशनको प्रक्रिया तोकिएकै मितिबाट सुरु हुने र यसमा कुनै बहानाबाजी नचल्ने स्पष्ट गरेका हुन् । थापाले महाधिवेशनमा कुनै समूह वा व्यक्तिलाई छुटाउन नहुने बताउँदै सबैलाई सहभागी गराउन आफू तयार रहेको उल्लेख गरे । अधिवेशनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आवश्यक विषयमा सहमति गर्न तयार भए पनि अधिवेशन रोक्ने प्रयास स्वीकार्य नहुने उनको भनाइ थियो । काँग्रेसको संस्थापन इतरको राष्ट्रिय भेलामा हिन्दु धर्म बारे उठेको विषयतर्फ इंगित गर्दै पार्टीभित्र हिन्दु राष्ट्र र धर्मका विषयमा उठिरहेको बारे तत्कालीन राजनीतिक लाभभन्दा दीर्घकालीन असरलाई ध्यान दिनुपर्ने बताए । फरक मत राख्नु लोकतान्त्रिक अभ्यास भएको उल्लेख गर्दै उनले त्यस्ता विषयलाई पार्टीको नीतिमा समेट्न वैधानिक प्रक्रिया अपनाउनुपर्ने बताए । सभापति थापाले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको वर्तमान सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्नुपर्ने बताएका छन् । आगामी आवधिक निर्वाचन पनि यही सरकारले गराउनुपर्ने उनको भनाइ छ । कांग्रेस प्रमुख प्रतिपक्षी दलका रूपमा रहे पनि अरू दलको आन्तरिक विषयमा हस्तक्षेप नगर्ने स्पष्ट पार्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई कांग्रेसको प्रतिद्वन्द्वी नभई राजनीतिक प्रतिस्पर्धीका रूपमा हेर्ने बताए । सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले मुलुकमा शासकीय अराजकता देखिएको आरोप लगाए। सरकार कानुनअनुसार अघि बढे सहज रूपमा चल्ने तर कानुनलाई आफूअनुकूल प्रयोग गर्न खोजे समस्या आउने उनको चेतावनी थियो । थापाले सरकारले समस्या समाधान गर्नुभन्दा त्यसलाई छोप्ने प्रयास गरिरहेको आरोप लगाउँदै सरकारप्रति नागरिकको विश्वास कमजोर हुँदै गएको बताए । कांग्रेसले सरकारलाई निरन्तर सचेत गराइरहने उनको भनाइ छ ।
४- प्रधानमन्त्री बालेन्द्र शाहले भदौ १० गते प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने भएका छन् । सभामुख डोलप्रसाद अर्यालले सोमबारको बैठकमा प्रधानमन्त्री शाहलाई रुलिङ गरेसँगै सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रम तय गरिएको हो । प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था छ ।  यसअघि आजैको बैठकमा सभामुख अर्यालले पनि प्रतिनिधि सभाको बैठकमा उपस्थित भइ नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सांसदहरूको प्रश्नको जवाफ दिने रुलिङ गरेका थिए ।
५-  महोत्तरीको औरही नगरपालिकामा चापाकल तथा खानेपानीका सामग्री खरिद र वितरणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार आर्थिक वर्ष २०७९/८० मा चापाकल खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत लागत अनुमान तयार गरी सामानको दररेटमा १५ प्रतिशत थप गरिएको थियो। गैरकानुनी लाभ लिने उद्देश्यले गरिएको उक्त कार्यबाट स्थानीय तह र नेपाल सरकारलाई आर्थिक हानि पुर्‍याइएको आयोगको अनुसन्धानबाट खुलेको छ । आयोगले एउटै वस्तु तथा सेवाको खरिदलाई विभिन्न प्रक्रियामा टुक्र्याएर पटक–पटक खरिद गरी प्रतिस्पर्धा सीमित गरिएको तथा आपूर्तिकर्तासँगको मिलेमतोमा बोलपत्रबाट खरिद गर्नुपर्ने सामग्री सिलबन्दी दरभाउपत्र र सोझै खरिदमार्फत खरिद गरिएको जनाएको छ । त्यस्तै, खरिद गरिएका चापाकललगायत सामग्रीको दोहोरो भरपाई तयार गरिएको र वितरण गरिएको भनिएका सामग्री बुझिलिएको विश्वसनीय प्रमाणसमेत पेस गर्न नसकेको आयोगको दाबी छ । आयोगले औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र मैथिली, तत्कालीन इन्जिनियर सन्तोषकुमार यादव, सबइन्जिनियर विपिनकुमार मण्डल, लेखापाल विजयकुमार यादव र योजना शाखा प्रमुख गंगाराम यादवविरुद्ध आरोपपत्र दायर गरेको छ । त्यस्तै, आपूर्तिकर्तातर्फ औरही–१ का लिला आयरन स्टोर्सका सञ्चालक विनयकुमार यादव, जलेश्वर–३ का डि.एम. जनरल अर्डर सप्लायर्सका सञ्चालक दुधनाथ कुमर, श्रीराम इन्टरप्राइजेजका सञ्चालक अमरनाथ कुमर, औरही–१ का जैसवाल निर्माण सेवा (सिर्जना ट्रेडर्स)का सञ्चालक रामबाबु चौधरी तथा बागडोल–४, ललितपुरस्थित क्वालिटी सोलुसन कम्पनीका प्रबन्ध निर्देशक मनोजकुमार यादवविरुद्ध पनि मुद्दा दायर गरिएको छ । आयोगले उनीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ तथा दफा २२ बमोजिम कसुर गरेको पुष्टि भएको जनाएको छ। सोही आधारमा कानुनबमोजिम सजायको मागदाबी गर्दै आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको हो ।
६- करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा गरिएको छ ।  सोमबार खोलिएको पुरस्कारमा गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेसन्टरबाट ३५० रुपैयाँको सामान खरिद गरेका व्यक्तिले १० लाख पुरस्कार पाएको अर्थ मन्त्रालयले जनाएको छ । त्यस्तै सरकारले एक-एक लाख प्राप्त गर्ने १६ जना विजेताको नाम पनि घोषणा गरेको छ ।  साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न ३ लाख ५७ हजार १४९ नगद कारोबारका बिलहरू उपहारका लागि दर्ता (अपलोड) भएका थिए । यसअघि साउनको पहिलो १५ दिनमा बिल अपलोड गर्ने उपभोक्ताको कारोबार सङ्ख्या ७ हजार ७७ मात्रै थियो । त्यस्तै क्यूआर कारोबारबाट उपहार योजनामा स्वतः सहभागी भएका उपभोक्ताको कारोबार सङ्ख्या २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको अर्थ मन्त्रालयले जनाएको छ । विभागका अनुसार पछिल्लो १७ दिनको उपहार योजनामा कुल कारोबार सङ्ख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३/८४ को बजेटमा करदातालाई प्रोत्साहन गर्न उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए । करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार अबदेखि हरेक महिनाको १६ गते (१ देखि १५ गतेसम्मको) र महिनाको अन्तिम दिन (१६ गतेदेखि बाँकी दिनको) वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताका लागि उपहार घोषणा गरिनेछ । बैंक तथा वालेटको क्युआरमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता यो कार्यक्रममा स्वतः जोडिने छन्। तर, उपहार प्राप्त गर्न बिल भने अनिवार्य रूपमा उपभोक्ताको साथमा हुनुपर्नेछ । नगदमा वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले भने वस्तु तथा सेवाको खरिदपछि अनिवार्य रूपमा प्यान तथा भ्याट बिल मागेर आन्तरिक राजस्व विभागको वेवसाइटमा गएर अपलोड गरी उपहारमा सहभागी भएको कुपन लिनुपर्ने व्यवस्था छ ।
७- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र निर्यात विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । नेपाल विद्युत् प्राधिकरणको ४१औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले घरायसी उपभोक्तालाई सहुलियत दरमा भरपर्दो विद्युत् उपलब्ध गराउँदै उत्पादनमूलक उद्योगलाई स्थिर दरमा विद्युत् दिने सरकारको प्रयास रहेको बताए । उनले वर्षायाममा बढी हुने विद्युत्को उपयोग बढाउन मौसमी विद्युत् दर लागू गर्ने तयारी भइरहेको जानकारी दिए । विद्युत् उत्पादनसँगै प्रसारण तथा वितरण प्रणाली सुदृढ गर्दै तेस्रो मुलुकसम्म विद्युत् निर्यात विस्तार गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइ थियो । मन्त्री श्रेष्ठका अनुसार हाल ९७.६ प्रतिशत जनतामा विद्युत् पहुँच पुगेको छ भने ५९ लाखभन्दा बढी ग्राहक विद्युत् सेवासँग जोडिएका छन् । प्रतिव्यक्ति विद्युत् खपत ४६५ किलोवाट घण्टा पुगेको र नेपाल करिब ३० अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्न सक्ने अवस्थामा पुगेको उनले बताए । उनले पुराना संरचना सुधार, प्रसारण लाइन तथा सबस्टेसन विस्तार, विद्युत् चुहावट नियन्त्रण र वितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिनुपर्ने बताए । साथै, विद्युत् महसुलको बक्यौता कानुनअनुसार असुल गर्न सरकार स्पष्ट रहेको पनि उनले उल्लेख गरे । मन्त्री श्रेष्ठले विद्युत् क्षेत्रलाई रोजगारी, उद्योग, कृषि, शिक्षा, स्वास्थ्य र समग्र आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्नुपर्ने बताए ।
८-  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ प्राप्त गरेका थिए ।  हाल कायम रहेको ८३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४२ मत आवश्यक रहेको थियो । त्यस्तै प्रस्तावको विपक्षमा २६ मत परेको थियो । मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन् । जसपा नेपालले केन्द्रबाट विश्वासको मत नदिने निर्णय गर्दै निर्देशन दिएपनि सांसदहरुले सो निर्णय अस्वीकार गर्दै सरकारलाई साथ दिएका छन् । प्रदेश सभामा कायम ८३ सदस्यमध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए ।
९- नेप्सेमा आज सामान्य गिरावट आएको छ । आज सोमबार नेप्से २.२५ अंकले घटेर २६४१.५८ विन्दुमा पुगेर रोकिएको छ । आज ३५० कम्पनिका एक करोड १९ लाख ३२ हजार ३५ कित्ता शेयर ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार ८७२ मा कारोबार भएको थियो । आज हाइड्रो, उत्पादन, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने माउन्ट एभरेष्ट पावरको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर ६.६३ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको एक अर्ब ३८ करोड ६३ लाख बराबरको कारोबार भएको छ भने सोलु हाइड्रोको ३८ करोड ४४ लाख बराबरको कारोबार भएको छ ।
१०- राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सोमबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । सेठ आइतबार अपराहन्न नेपालको भ्रमणमा काठमाडौँ आएका थिए ।  नेपाल र भारतका सेनाका प्रमुखहरू सन् १९५० देखि एकअर्को मुलुकका मानार्थ सेना प्रमुख रहने प्रचलन रहेको छ । नेपालका वर्तमान प्रधानसेनापति अशोकराज सिग्देलले २०२४ को डिसेम्बरमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबाट मनार्थ महारथीको दर्ज्यानी चिह्न प्राप्त गरेका थिए । भारत सरकारले ३१औं सेना प्रमुखको रूपमा सेठलाई ३० जुन २०२६ मा नियुक्त गरेको थियो ।
११-  नेपाल वायुसेवा निगममा कार्यरत दुई कर्मचारीलाई ठूलो परिमाणमा विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ । आइतबार राति नेपाल वायुसेवाको उडान नम्बर आरए ४१५ मार्फत काठमाडौँबाट क्वालालम्पुर जान लागेका उनीहरूलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान हातसामान जाँच गर्ने क्रममा शरीर खानतलासी गर्दा विदेशी मुद्रा बरामद भएको हो । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२६, गंगबुकी ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ की ३५ वर्षीया ममता पाण्डे रहेका छन् । बज्राचार्यको साथबाट ४ हजार ३ सय अमेरिकी डलर र १२ हजार ३७२ मलेसियन रिङ्गिट बरामद भएको छ । त्यस्तै, पाण्डेको साथबाट ४ हजार २ सय अमेरिकी डलर र १२ हजार ३२८ मलेसियन रिङ्गिट बरामद भएको प्रहरीले जनाएको छ। बरामद विदेशी मुद्रासहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक, ललितपुर पठाइएको छ ।
१२-  प्रतिनिधि सभाको बैठकमा आफूले उठाएको विषयलाई सरकारले सम्बोधन नगरेको भन्दै दुई सांसदले उभिएर विरोध गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्मा र रास्वपा सांसद आशिका तामाङले संसदमा राखेको विषय सरकारले सम्बोधन नगरेको भन्दै संसदमै उभिएर विरोध गरेपछि सभामुख डिपी अर्यालले तीन दिन भित्र जवाफ दिन सरकारलाई रूलिङ गरेका हुन् । सांसद शर्माले रूकुम, जाजरकोट र सल्यान क्षेत्रका भूकम्प प्रभावित क्षेत्रमा सरकारले जिम्मेवारीपूर्ण तवरले काम गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराएका थिए । उनले साउन २२ गते नै आफूले सरकारलाई यस विषयमा जबाफ दिन ९ दिने अल्टिमेटम दिएको तर त्यो अवधिमा जबाफ नआएकोले जबाफ नआउन्जेल उभिरहने बताएर उभिन शुरु गरेपछि संसदको कारवाहीमा अवरोध भएको थियो । सरकारलाई जबाफ दिन समय नै तोकेर सभामुखले रूलिङ नगरेसम्म आफू उभिएर विरोध गरिरहने अडान उनले लिएका थिए । त्यसपछि बोलेकी रास्वपा सांसद आशिका तामाङले कम्बोडियामा निधन भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउन आफुले ३७ दिनअघि नै यस विषयमा आफू संसदमा बोले पनि सरकारले पहलकदमी नगरको भन्दै सभामुखबाट रुलिङ नभएसम्म उठेर विरोध गरिरहने बताएकी थिइन् । त्यसपछि सभामुख अर्यालले सांसदहरू गोपाल शर्मा र आशिका तामाङबाट उठाइएको विषयमा तीन दिनभित्र जबाफ दिन सरकारलाई रूलिङ गरेका छन्।
१३- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले विद्युतमा लगाइएको कर हटाउन तथा डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम असुल गर्न माग गर्दै देशव्यापी हस्ताक्षर अभियान शुरु गरेका छन् । सोमबार काठमाडौँको माइतीघर मण्डलाबाट कुलमानले हस्ताक्षर गर्दै अभियानको शुरुवात गरेका हुन् । सो अवसरमा जनमत पार्टीका अध्यक्ष सिके राउत समेत उपस्थित रहेका थिए । यो अभियान भदौ १ गतेदेखि भदौ २४ गतेसम्म ‘तपाईंको हस्ताक्षर, तपाईंको आवाज’ नाराका साथ देशव्यापी रूपमा सञ्चालन गर्ने बताइएको छ । पार्टीले अभियानमार्फत विद्युत्मा लगाइएको कर हटाउन र डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापत उठ्न बाँकी बक्यौता रकम असुल गर्न सरकारमाथि दबाब दिने जनाएको छ । उज्यालो नेपाल पार्टीले अभियानलाई सुशासन, समृद्धि र सामाजिक न्यायको उद्देश्यसँग जोडेको छ। पार्टीले देशभरका नागरिकलाई अभियानमा सहभागी भई हस्ताक्षरमार्फत आफ्नो आवाज व्यक्त गर्न आह्वान गरेको छ ।
१४- वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका छन् । अल्पमतमा रहेका मुख्यमन्त्री बानियाँले सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनाको घोषणा गरेका हुन् । प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना नभएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।  गत साउन ६ मा तत्कालिन सत्ता साझेदार दल नेकपा एमालेका ६ मन्त्रीले राजीनामा दिएर सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री बानियाँ अल्पमतमा रहेका थिए । मुख्यमन्त्री बानियाँको राजीनामासँगै अब बागमतीमा सरकारको नेतृत्व एमाले र नेकपाबीच भएको सहमति अनुसार एमालेले गर्ने भएको छ ।
१५- गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको साउन ३१ गते आइतबारसम्मको चलचित्र गौथली, हली र कमला मिसको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो । जसअनुसार गौथलीले बक्स अफिसमा शानदार कमाई जारी राखेको छ । साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म २३ करोड ५५ लाख १२ हजार कमाई गरेको छ । त्यस्तै यस फिल्मले ८ लाख ५५ हजार ७५२ टिकट बिक्री गरेको छ । त्यस्तै साउन २२ गतेबाट प्रदर्शनमा आएको चलचित्र हलीले २१ लाख ७७ हजार कमाई गरेको छ भने यस अवधिमा चलचित्र हलीले ७ हजार ७१० टिकट विक्री गरेको छ । त्यसैगरी साउन २२ गतेदेखि नै रिलिज भएको नीर शाहद्वारा निर्देशित कमला मिसले २ लाख ६१ हजार ८४५ कमाई गरेको छ भने ७१८ टिकट बिक्रि भएको छ ।
१६- सभामुख डिपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठक शुरु भएपछि विपक्षी दलहरुले उठेर विरोध जारी राखेपछि सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित भएर जवाफ दिन रुलिङ गरेका हुन् । सभामुखको रुलिङपछि विपक्षी दलहरुले आजको विरोध स्थगित गरेका छन् ।
१७- वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वर्तमान अवस्था अध्ययन गरी पुनः सञ्चालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गर्न अध्ययन कार्यदल गठन गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार खारेजीमा परेको वीरगञ्ज चिनी कारखानाको अवस्था, विगतका निर्णय, कारखाना पुनः सञ्चालनका लागि यसअघि तयार भएका अध्ययन तथा प्रतिवेदन र अब चाल्नुपर्ने कदमबारे अध्ययन गर्न कार्यदल गठन गरिएको हो । मन्त्रालयले गठन गरेको कार्यदललाई आफ्नो अध्ययन पूरा गरी  १५ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने जिम्मेवारी  दिइएको छ। कार्यदलको संयोजकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट सि.डि.ई. श्रीकान्त यादव र सदस्यमा  मन्त्रालयका शाखा अधिकृत  र उद्योग विभागका अधिकृत प्रतिनिधि रहेका छन् । कार्यदलले केवल कारखाना सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा मात्र अध्ययन गर्ने छैन, वीरगञ्ज चिनी कारखानासम्बन्धी यसअघि भएका निर्णय तथा गठन भएका कार्यदलले पेश गरेका प्रतिवेदनका सुझाव र सिफारिसको अध्ययन गर्ने, कारखानाको वित्तीय, आर्थिक, प्राविधिक तथा कानुनी अवस्था विश्लेषण गर्ने र कारखानामा रहेका समस्याको पहिचान गर्ने* जिम्मेवारीसमेत कार्यदललाई दिइएको छ । त्यस्तै, कारखाना परिसरमा रहेका भवन, कारखाना संरचना, मेसिनरी तथा पार्टपुर्जाको वर्तमान अवस्था र तिनको उपयोग गर्न सकिने अवस्था अध्ययन गरिनेछ। पुराना संरचना तथा मेसिनरीलाई प्रयोग गरेर कारखाना पुनः सञ्चालन गर्न सकिने वा नयाँ प्रविधि र संरचना आवश्यक पर्ने भन्ने विषयमा समेत कार्यदलले अध्ययन गर्नेछ । यससँगै वीरगञ्ज चिनी कारखानाको स्वामित्वमा रहेको जग्गालगायत सम्पत्तिको अवस्थासमेत अध्ययन गरिने भएको छ। सम्पत्तिसँग जोडिएका समस्या पहिचान गरी त्यसको समाधानका लागि आवश्यक कानुनी तथा व्यवस्थापकीय विकल्पसमेत तयार पार्ने जिम्मेवारी कार्यदललाई दिइएको छ ।
१८-  वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित १५ बुँदे माग राख्दै साउन २२ गतेदेखि सञ्चालन गर्दै आएको दबाबमूलक कार्यक्रम अन्त्य गर्ने भएको छ । संघले भदौ १ गतेदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेपछि युवा, श्रम तथा रोजगार मन्त्रालयमा मन्त्री, सचिव तथा संघका अध्यक्ष, सल्लाहकारसहित पदाधिकारीबीच छलफल भएको थियो । छलफलमा संघले अघि सारेका अधिकांश माग नीतिगत विषयसँग सम्बन्धित रहेको र ती माग वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समेटिएको मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन संशोधन प्रक्रिया यथाशीघ्र टुंग्याउन मन्त्रालय र संघले अधिकतम प्रयास गर्ने सहमति भएको छ । त्यस्तै, व्यवसायीले थप प्रमाण तथा कागजातसहित आफ्ना विषय वैदेशिक रोजगार विभागमा पेस गर्न सक्ने र विभागबाट समाधान नभए कानुनअनुसार मन्त्रालयमा पुनरावेदन गर्न सक्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ । छलफलपछि संघले साउन २२ गतेदेखि सञ्चालन गरेका सबै दबाबमूलक कार्यक्रम आजैदेखि अन्त्य गर्ने प्रतिबद्धता जनाएको मन्त्रालयले जानकारी दिएको छ ।
१९- नेपालभाषा र नेपाली भाषाका जनकवि, गीतकार, नाटककार तथा चिन्तक दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो । उनी पछिल्लो समय अस्वस्थ थिए । श्रेष्ठले पछिल्लो छ दशकदेखि निरन्तर साहित्य सिर्जना गर्दै आएका थिए । उनले नेपालभाषासँगै नेपाली भाषामा कविता, गीत, नाटक तथा अन्य साहित्यिक विधामा महत्वपूर्ण योगदान दिएका छन्। नेपाल भाषा परिषद्ले करिब दुई दशकअघि उनलाई ‘जनकवि’को उपाधिबाट सम्मान गरेको थियो । उनले नेपाली रङ्गमञ्चमा नौलो प्रयोगका रूपमा ‘रामबहादुरको संसार’ जस्तो नाटक लेखेका थिए । उनका नाटकबाट मदनदास श्रेष्ठ र हरिहर शर्माजस्ता कलाकारले रङ्गमञ्चमा पहिचान बनाएका थिए । श्रेष्ठ स्वरसम्राट् नारायणगोपालका प्रिय गीतकारका रूपमा पनि परिचित थिए । अम्बर गुरुङको सङ्गीतमा निर्मला श्रेष्ठले गाएको ‘सयथरि गोडा एउटै चाल’ तथा न्ह्यू बज्राचार्यको सङ्गीतमा रहेको ‘फूलको आँखामा फूलै संसार’ उनका चर्चित गीत हुन् । ‘फूलको आँखामा फूलै संसार’ नेपाली संगीतप्रेमीको मनमुटुमा बस्न सफल उनको लोकप्रिय सिर्जनामध्ये एक हो । उनका कविता, गीत र नाट्य सिर्जनाले नेपाली तथा नेपालभाषाको साहित्य र संगीत क्षेत्रमा दीर्घकालीन प्रभाव छाडेका छन् ।
२०- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग हुने सैन्य अभ्यास घटाउन रक्षामन्त्री पिट हेगसेथलाई निर्देशन दिएका छन् । ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो सम्बन्ध राम्रो रहेको भन्दै अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यासले उत्तर कोरियालाई गलत र शत्रुतापूर्ण सन्देश दिने बताएका छन् । उनले यस्ता अभ्यासमा अमेरिकाको ठूलो रकम खर्च हुने पनि उल्लेख गरेका छन् । तर दक्षिण कोरियाले भने अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यास पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सञ्चालन हुने जनाएको छ । यसै साता सुरु हुने ‘उल्ची फ्रीडम शिल्ड’ सैन्य अभ्यासमा दक्षिण कोरियाका करिब १८ हजार सैनिक सहभागी हुनेछन् । सैनिकहरूले वास्तविक युद्धको जस्तै अवस्थामा गोली चलाउने, पानीयुक्त क्षेत्र पार गर्ने तथा सैन्य सामग्री एक स्थानबाट अर्को स्थानमा लैजाने अभ्यास गर्नेछन् । अमेरिका र दक्षिण कोरियाले यो अभ्यास कुनै देशमाथि आक्रमण गर्ने उद्देश्यले नभई उत्तर कोरियाबाट हुन सक्ने सम्भावित आक्रमणको सामना गर्ने तयारीका लागि भएको बताउँदै आएका छन् । ट्रम्पले सामाजिक सञ्जालमा इरानको पनि उल्लेख गर्दै दक्षिण कोरियालाई इरानलाई आणविक हतियारमुक्त बनाउने अमेरिकी प्रयासमा साथ दिन आग्रह गरेको तर सियोलले अस्वीकार गरेको बताएका छन् । उनले यो विषय सैन्य अभ्यास घटाउने निर्णयभन्दा अलग रहेको स्पष्ट पारेका छन् । उत्तर कोरियाले लामो समयदेखि अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यासको विरोध गर्दै आएको छ । उसले यस्ता अभ्यासलाई आक्रमणको तयारीका रूपमा लिँदै कोरियाली प्रायद्वीपमा तनाव बढाउने गतिविधि भन्दै आएको छ । ट्रम्प र किमबीच सन् २०१८ देखि २०१९ सम्म तीनपटक भेटवार्ता भएको थियो । पहिलो भेट सन् २०१८ को जुनमा सिंगापुरमा भएको थियो भने त्यसपछि सन् २०१९ को फेब्रुअरीमा भियतनाम र जुनमा दुवै नेताबीच पुनः भेट भएको थियो । ती वार्तामा उत्तर कोरियाको आणविक हतियारबारे छलफल भए पनि ठोस सम्झौता हुन सकेन । ट्रम्पले सन् २०१८ मा किमसँगको पहिलो भेटपछि पनि अमेरिका-दक्षिण कोरियाबीचका सैन्य अभ्यास रोक्ने घोषणा गरेका थिए । उनले ती अभ्यास महँगो र उत्तर कोरियाका लागि उत्तेजक भएको बताएका थिए । पछि दुवै देशले सैन्य अभ्यास पुनः सुरु गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस