• २०८३ मङ्सिर १२ गते शुक्रवार

अनुभूतिको सुगन्ध फैलाउने कवि : तारा सुवेदी

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन २६, काठमाडौँ । नेपाल स्रष्टा समाजद्वारा प्रकाशित “अनुभूतिका महक” कवितासंग्रह कवि तारा सुवेदीको संवेदनशील मन, गहिरो अनुभूति र जीवनप्रतिको सूक्ष्म दृष्टिको सशक्त अभिव्यक्ति हो । शब्दका माध्यमबाट समाज, प्रकृति र मानवीय सम्बन्धलाई सुगन्धित बनाउने उहाँको लेखनीले पाठकलाई भावनाको गहिराइसम्म पुर्‍याउने सामर्थ्य राख्छ । यस संग्रहमा जीवन–जगतका विविध आयामलाई अत्यन्त सरल तर प्रभावशाली ढंगले प्रस्तुत गरिएको छ ।

रंगीन जीवनका आरोह–अवरोह, मायालुको मनका कोमल अनुभूति, गाउँप्रतिको आत्मीय प्रेम, बसन्तको प्रतीक्षा, बाल्यकालका सम्झना, राजनीतिक र सामाजिक यथार्थ, सांस्कृतिक चेतना, नारीको अस्तित्व र संघर्ष, जीवन र कुहिरोबीचको द्वन्द्व, प्रकृतिको अनुपम सौन्दर्य, देशप्रेम, पीडाबोध तथा आमाप्रतिको अगाध श्रद्धा—यी सबै विषय कवितामा जीवन्त बनेर उभिएका छन् । प्रत्येक कविताले पाठकको मनमा कुनै न कुनै प्रश्न, अनुभूति वा प्रेरणा छोडेर जान्छ ।

 

कवि तारा सुवेदी केवल सिर्जनशील कवि मात्र होइन, उहाँ साहित्यकार, लेखक तथा पत्रकारिताका क्षेत्रमा लामो समयदेखि सक्रिय र सम्मानित व्यक्तित्व पनि हुनुहुन्छ । साहित्य र समाजप्रतिको उहाँको समर्पण, सत्यप्रतिको प्रतिबद्धता र निरन्तर सिर्जनशील यात्राले उहाँलाई नेपाली साहित्यको विशिष्ट हस्ताक्षरका रूपमा स्थापित गरेको छ । उहाँका शब्दहरू केवल पढिने होइनन्, महसुस गरिने, आत्मसात् गरिने र सम्झनामा बसिरहने खालका छन् ।

“अनुभूतिका महक” नेपाली साहित्यको सुन्दर फूलबारीमा थपिएको एउटा सुगन्धित फूल हो। यस कृतिले पाठकको मन जित्नुका साथै नयाँ पुस्तालाई साहित्यप्रति आकर्षित गर्ने विश्वास गर्न सकिन्छ। आदरणीय कवि तारा सुवेदीलाई यस उत्कृष्ट कृतिको प्रकाशनका लागि हार्दिक बधाई, सफलताको शुभकामना तथा आगामी दिनमा अझ सशक्त, कालजयी र मन छुने सिर्जनाको निरन्तर अपेक्षा गर्दछु ।

Sharing

प्रतिक्रिया दिनुहोस