• २०८३ साउन २१ गते बिहिवार

१० जना प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन २१, काठमाडौं ।   प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पदोन्नति भएका १० जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक कार्कीले उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

नेपाल सरकार गृहमन्त्रीस्तरको २०८३ साउन १८ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा १ जना र नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८३ साउन १८ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा ४ जना, प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा ४ जना र प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा १ जना गरी जम्मा १० जना प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ई. दामोदर कंडेल, प्राविधिक प्रहरी उपरीक्षकहरू ई. अमरेन्द्र प्रसाद सिंह, राम बाबु राना, अभय कुमार झा र अनुप श्रेष्ठ, प्राविधिक प्रहरी नायव उपरीक्षकहरू ई. निशा चौधरी, ई. सन्जिप दाहाल, ई. रमेश कुमार साह र ई. अञ्जन राज खरेल तथा प्राविधिक प्रहरी निरीक्षक मिन प्रसाद खत्री रहेका छन् ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा व्यावसायिक सफलताको शुभकामना व्यक्त गरेका थिए ।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ई. दामोदर कंडेलले प्रहरी संगठनको गरिमा, प्रतिष्ठा र संगठन प्रतिको विश्वासलाई अझ उच्च बनाउने कार्यमा सदैव इमानदार, निष्पक्ष, अनुशासित, व्यावसायिक, प्रविधिमैत्री र सेवामुखी रही आफ्नो जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृतहरू एवम् जवानहरूको समेत उपस्थिति रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस