• २०८३ असोज १८ गते आइतवार

के इंग्ल्याण्ड ६० वर्षपछि विश्वकपको फाइनल पुग्ला त ? यस्ताे हिसाव किताव

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार ३१, काठमाडौं ।  अर्जेन्टिना र इङ्गल्याण्ड २४ वर्षपछि फुटबल विश्वकपमा आमनेसामने हुनेछन्। यी दुई टोलीबीचको दोस्रो सेमिफाइनल खेल नेपाली समय अनुसार आज राति १२ः४५ बजे एट्लान्टा स्टेडियममा हुनेछ। विश्वकपमा उनीहरूबीचको पछिल्लो भेट सन् २००२ मा भएको थियो, जसमा इङ्गल्याण्डले १–० को जित हासिल गरेको थियो।

यस खेलमा सबैको नजर लियोनेल मेस्सी र ह्यारी केनमा हुनेछ। मेस्सीले यस विश्वकपमा ८ गोल गरिसकेका छन् र ‘गोल्डेन बुट’ को दौडमा दोस्रो स्थानमा छन् जबकि इङ्ल्यान्डका कप्तान ह्यारी केनले हालसम्म ६ गोल गरिसकेका छन्।

हालसम्म यी दुई टोलीबीच १४ वटा अन्तर्राष्ट्रिय खेलहरू खेलिएका छन्। तीमध्ये इङ्ल्यान्डले ६ र अर्जेन्टिनाले ३ खेल जितेका छन् भने ५ खेल बराबरीमा टुंगिएका छन्। विश्वकपको इतिहासमा यी दुई टोलीबीच हुन लागेको यो छैटौं भिडन्त हुनेछ, यसअघिका पाँच भेटमा इङ्ल्यान्डले ३ र अर्जेन्टिनाले २ खेल जितेका थिए।

अर्जेन्टिनाले यस फिफा विश्वकप २०२६ को प्रतियोगितामा आफ्ना सबै ६ वटा खेल जितेको छ। समूह चरणमा टोलीले अल्जेरियालाई ३–०, अस्ट्रियालाई २–० र जोर्डनलाई ३–१ ले पराजित गर्‍यो। त्यसपछि ‘राउन्ड अफ ३२’ मा उनीहरूले काबो भर्डेलाई ३–२ ले हराए। त्यसपछि उनीहरूले ‘राउन्ड अफ १६’ मा इजिप्टलाई ३–२ ले र क्वार्टर फाइनलमा स्विट्जरल्याण्डलाई ३–१ ले पराजित गरे।

इङ्गल्याण्डले यस विश्वकपमा ६ वटा खेल खेलेको छ। टोलीले पाँच खेल जित्यो भने एउटा खेल बराबरीमा टुङ्गियो। समूह चरणमा इङ्गल्याण्डले क्रोएसियालाई ४–२ र पानामालाई २–० ले पराजित गर्‍यो र घानाविरुद्धको खेल भने ०–० को बराबरीमा सकियो।

त्यसपछि, टोलीले ‘राउन्ड अफ ३२’ मा डीआर कंगोलाई २–१ ले र ‘राउन्ड अफ १६’ मा मेक्सिकोलाई ३–२ ले हरायो। त्यसपछि क्वार्टर फाइनलमा उनीहरूले अर्लिङ हालान्डको नर्वेलाई २–१ ले पराजित गरे।

यदि इङ्ल्यान्डले यो खेल जित्यो भने उसले ६० वर्षपछि विश्वकपको फाइनल खेल्ने छ। यसअघि टोली सन् १९६६ मा फाइनल पुगेको थियो, जुन बेला उसले विश्वकपको उपाधि जितेको थियो।

दुबै टोलीका लागि सम्भावित प्रारम्भिक ११ खेलाडीः

इंग्ल्याण्डः जोर्डन पिकफोर्ड, काइल वाकर, जोन स्टोन्स, मार्क गुएही, किरन ट्रिपियर, डेक्लान राइस, कोबी माइनू, बुकायो साका, जुड बेलिङ्घम, फिल फोडेन, ह्यारी केन।

अर्जेन्टिनाः एमी मार्टिनेज, नाहुएल मोलिना, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, निकोलस टाग्लियाफिको, रोड्रिगो डे पल, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर, लियोनेल मेस्सी, जुलियन अल्भारेज, निकोलस गोन्जालेज।

Sharing

प्रतिक्रिया दिनुहोस