असार १५, काठमाडौं । नेपालले प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाउँदै आए पनि यस वर्ष पर्याप्त वर्षा नहुँदा देशका अधिकांश धानखेत अझै बाझै छन्। पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भएको छ भने किसान आकाशे पानीको भरमा बस्न बाध्य भएका छन् ।

जलवायु परिवर्तनको प्रभाव, अनियमित मनसुन, मलको अभाव, सिँचाइको कमजोर अवस्था,रैथाने बीउ संरक्षणको चुनौती तथा उत्पादनपछि बजारको अनिश्चितताजस्ता समस्याले नेपाली धान खेती वर्षेनी थप चुनौतीपूर्ण बन्दै गएको कृषि क्षेत्रका विज्ञहरू बताउँछन्। सिँचाइ, उन्नत बीउ, मल र बजार व्यवस्थापनमा सुधार नगरे धान उत्पादन बढाउन कठिन हुने उनीहरुले बताएका छन्।
नेपाल कृषि महासंघका अध्यक्ष शिवसुन्दर श्रेष्ठले नेपालमा धानको उत्पादकत्व विगतको तुलनामा सुधार हुँदै गएपनि अपेक्षाअनुसार उपलब्धि हासिल हुन नसकेको बताए। उनले भने, ‘धानको उत्पादन पहिलाको तुलनामा राम्रो भएको छ र उत्पादकत्व पनि बढ्दै गएको छ । तर अझै अपेक्षाअनुसारको उपलब्धि हासिल गर्न सकेका छैनौं । प्रतिइकाइ उत्पादन बढाउन र किसानले बजारको मागअनुसारका जात प्रयोग गर्न आवश्यक छ ।’
उनका अनुसार नेपाली उपभोक्ताको स्वाद परिवर्तनसँगै मसिनो र लामो दानाको चामलको माग बढेको छ । यसको प्रभावले स्थानीय धानको प्रयोग घट्दै गएको छ भने विदेशबाट आयात हुने चामलमा निर्भरता बढेको छ ।
‘हामीले आफ्नै उत्पादन भएको धान खान छाड्यौं, विदेशबाट आएको चामल खान थालेका छौं। यो धान क्षेत्रको ठूलो चुनौती हो,’ उनले भने । नेपाल भातमुखी देश भएकाले धान उत्पादन बढाउनु राष्ट्रिय खाद्य सुरक्षासँग प्रत्यक्ष जोडिएको उनको भनाइ छ ।
स्वदेशी उत्पादनलाई प्राथमिकता नदिई विदेशबाट आयातित चामलमा निर्भर हुनुले धानको क्षेत्रमा ठूलो चुनौती खडा गरेको छ । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डीबी बस्नेतले धानको उत्पादन क्रमशः घटिरहेको महसुस गरेका छन् ।
उनले भने, ‘धान दिवस सरकारले मनाउने धान दिवस औपचारिक एउटा कार्यक्रम भयो । अब किसानहरुले गर्ने कार्यक्रम विस्तारै यो धानको उत्पादन क्रमशः घटिरहेको नै अवस्था छ ।’ बस्नेतका अनुसार उत्पादन नै नबढ्ने भन्ने होइन, खेती गर्ने जनशक्ति र प्रक्रियामा आएको कमीले उत्पादनमा असर परेको हो ।
रैथाने धान जोगाउनुपर्ने आवश्यकता
नेपाल कृषि महासंघका अध्यक्ष श्रेष्ठले नेपालका रैथाने धानका जात अन्तर्राष्ट्रिय रूपमा समेत परिचित हुन थालेको उल्लेख गर्दै उत्पादन कम भए पनि तिनको संरक्षण अनिवार्य रहेको बताए।
उनले भने, ‘जुम्ली मार्सीजस्ता रैथाने धान अहिले देश–विदेशमा प्रख्यात भइरहेका छन्। उत्पादन कम भए पनि यस्ता जातको आफ्नै महत्व छ । त्यसैले यसको संरक्षण र जगेर्ना गर्नुपर्छ । किसानमा पनि रैथाने बाली जोगाउनुपर्छ भन्ने चेतना बढ्दै गएको छ ।’
उनका अनुसार स्थानीय बीउ संरक्षण गर्न नसकिए भविष्यमा नेपालको कृषि जैविक विविधता नै संकटमा पर्नसक्छ । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष बस्नेतले रैथाने धानका बीउ संरक्षणमा सरकारी प्रयास कमजोर रहेको बताउँछन् । ‘रैथाने बीउ संरक्षणमा सरकारले पर्याप्त काम गरेको छैन। निजी क्षेत्रले प्रयास गरिरहेको छ, सरकारले पनि त्यसलाई सहयोग गर्नुपर्छ,’ उनले भने ।
धान खेतीको सन्दर्भमा रैथाने जातहरू (जस्तै जुम्ली मार्सी) को महत्त्व छुट्टै छ । श्रेष्ठका अनुसार, रैथाने धानहरू देश–विदेशमा प्रख्यात भइरहेका छन्, तर यिनीहरूको उत्पादकत्व नयाँ विकास गरिएका धानका जातहरूभन्दा कम हुने भएकाले किसानहरूले रैथाने धान लगाउन हिच्किचाउने गरेका छन्।
उनले भने, ‘यसको आफ्नो महत्व आफ्नै छ, त्यसैले यसको पनि संरक्षण गरेर हामीले यसलाई जगेर्ना गर्नुपर्ने आवश्यकता छ।’
यसैगरी, डीबी बस्नेतका अनुसार रैथाने बिउहरू लोप हुने अवस्थामा पुगेका छन् र सरकारले यिनको प्रवद्र्धनका लागि पर्याप्त काम गर्न सकेको छैन।
‘सरकारले रैथाने बिउको प्रवद्र्धनका लागि काम गरेको छैन । नीजि क्षेत्रबाट हामीले रैथाने बिउ प्रवद्र्धनको प्रयास गरिराखेका छौँ, अब सरकारले पनि अलिकति सपोर्ट गर्नुपर्छ,’ उनले भने ।
मनसुन अनियमित, सिँचाइ विस्तार अपरिहार्य
यस वर्ष मनसुन केही चाँडै नेपाल प्रवेश गरे पनि पर्याप्त वर्षा हुन नसकेको श्रेष्ठ बताउँछन् । उनले भने, ‘अहिलेसम्म पूर्ण रूपमा मनसुन सक्रिय भएको छैन। विश्वव्यापी रूपमा मौसममा परिवर्तन भइरहेको छ । आवश्यक बेला पानी पर्दैन, नचाहिएको बेला अत्यधिक वर्षा हुन्छ। हामीले यस्ता परिस्थितिको सामना गरिरहेका छौं।’
उनका अनुसार धान पानीमा आधारित बाली भएकाले सिँचाइको दीर्घकालीन व्यवस्था गर्नुको विकल्प छैन। ‘धानलाई विशेष गरी पानी चाहिन्छ। त्यसैले व्यापक रूपमा सिँचाइ विस्तार गर्नुपर्छ,’ उनले भने।
जलवायुअनुकूल जातमा जोड
श्रेष्ठले अनुसन्धानबाट विभिन्न मौसमअनुकूल धानका जात विकास भइसकेको बताए। उनले भने, ‘पानी कम हुँदा छिट्टै पाक्ने र पानी बढी हुँदा पनि सहन सक्ने धानका जात विकास भएका छन्। किसानले आफ्नो क्षेत्रको वातावरण, पानीको उपलब्धता र मौसमअनुसार जात छनोट गरे उत्पादन बढाउन सकिन्छ।’
उनका अनुसार खुमल–२, खुमल–४ लगायत उन्नत जातसँगै सुगन्धित तथा बासमती धानको माग पनि बढिरहेको छ ।
बजार सुनिश्चित भए किसान उत्साहित हुन्छन्
धान उत्पादनपछि उचित मूल्य नपाउँदा किसान निरुत्साहित हुने गरेको उल्लेख गर्दै श्रेष्ठले सरकारले न्यूनतम समर्थन मूल्य निर्धारण गरी धान खरिदको व्यवस्था प्रभावकारी रूपमा लागू गर्नुपर्ने बताए।
उनले भने, ‘धान उत्पादन भएपछि सरकारले व्यवस्थित रूपमा किसानबाट खरिद गरिदियो भने कृषक उत्साहित हुन्छन्। होइन भने बजारमा मनपरी मूल्यमा बेच्नुपर्दा किसान घाटामा पर्छ ।’
उनका अनुसार मिलिङ, भण्डारण र बजार व्यवस्थापनलाई पनि सुदृढ बनाउनु आवश्यक छ।
मल कारखाना अझै सपना
श्रेष्ठले नेपाल अझै पनि रासायनिक मलका लागि विदेशमा निर्भर रहेको भन्दै स्वदेशमै मल कारखाना स्थापना गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले भने, ‘मल कारखाना चाहिन्छ भन्ने कुरा धेरै वर्षदेखि उठ्दै आएको छ तर अझै बन्न सकेको छैन। अन्तर्राष्ट्रिय द्वन्द्व, मूल्यवृद्धि र आयातमा निर्भरताका कारण किसानले समयमा मल पाउँदैनन्।’
उनका अनुसार रासायनिक मलसँगै प्राङ्गारिक मलको प्रयोग बढाएर माटोको गुणस्तर संरक्षण गर्नुपर्ने आवश्यकता पनि उत्तिकै छ।
वास्तविक किसानसम्म अनुदान पुग्नुपर्छ
कृषि अनुदान कार्यक्रमले केही सकारात्मक प्रभाव पारे पनि वास्तविक किसानसम्म प्रभावकारी रूपमा पुग्न नसकेको श्रेष्ठको भनाइ छ ।
उनले भने, ‘जसले वास्तवमै खेती गरिरहेका छन्, उनीहरूसम्म अनुदान पुग्नुपर्छ। त्यसो भयो भने यसको प्रतिफल राम्रो आउँछ, होइन भने परिणाम मिश्रित हुन्छ।’
उनका अनुसार भौगोलिक क्षेत्रअनुसार उपयुक्त धानका जात सिफारिस भइसके पनि गुणस्तरीय बीउको सहज उपलब्धता अझै चुनौती बनेको छ ।
राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष बस्नेतका अनुसार सरकारले मल, बीउ तथा उत्पादनमा केही अनुदान दिए पनि किसानले अपेक्षा गरेअनुसार सहयोग पाउन सकेका छैनन्।
‘समयमा मल र बीउ नपाउनु, सिँचाइको अभाव र खेती गर्ने जनशक्ति घट्नु अहिलेका मुख्य समस्या हुन्,’ उनले भने ।
उनका अनुसार कृषि प्राविधिकको अभावले पनि किसानले आधुनिक प्रविधि अपनाउन सकेका छैनन्।
पकेट क्षेत्र विकासमा जोड
धान उत्पादन बढाउन सरकारले विशेष कृषि पकेट क्षेत्र विकास गर्नुपर्ने बस्नेतको सुझाव छ।
उनले भने, ‘सरकारले धान खेतीलाई पकेट क्षेत्रका रूपमा विकास गरेर त्यहाँ सिँचाइ, मल, बीउ, कृषि प्राविधिक र आधुनिक प्रविधि एकीकृत रूपमा उपलब्ध गराउन सके उत्पादन उल्लेखनीय रूपमा बढाउन सकिन्छ।’
उनका अनुसार किसानले उत्पादनपछि उचित मूल्य, सहज बजार र सरकारी संरक्षण पाए मात्र कृषि पेशाप्रति आकर्षण बढ्नेछ ।
नेपालको कुल खाद्य सुरक्षामा धानको भूमिका अत्यन्त महत्वपूर्ण छ । तर जलवायु परिवर्तन, खेतीयोग्य जमिनको खण्डीकरण, युवा जनशक्ति विदेश पलायन, सिँचाइको अभाव, मलको अनियमित आपूर्ति, बजारको अस्थिरता तथा उत्पादन लागत वृद्धि जस्ता समस्याले धान खेती चुनौतीपूर्ण बन्दै गएको छ ।
कृषि क्षेत्रका विज्ञहरूका अनुसार धान दिवस केवल उत्सवको दिन नभई नेपालको खाद्य सुरक्षा र किसानको भविष्य सुनिश्चित गर्ने नीति कार्यान्वयनको समीक्षा गर्ने अवसरका रूपमा पनि लिनुपर्ने आवश्यकता छ ।