• २०८३ असार ११ गते बिहिवार

सहरमा भीड छ तर, हरेक मान्छे एक्लो छ !

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

असार ११, काठमाडौं ।  सहरभित्र मानिसको भीड छ । तर, भीडभित्रका हरेक मानिस एक्ला छन् । यो भावना होइन । न त यो साहित्यिक अभिव्यक्ति नै हो । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले ह्यापी माइण्डसँगको सहकार्यमा काठमाडौँमा सञ्चालन गरेको मनोसामाजिक स्वास्थ्य शिविर र टोलका विभिन्न ठाउँमा पुगेर विभिन्न उमेर समूह र पेशासँग सम्बन्धित व्यक्तिहरुसँग कुराकानी गरेपछि निकालिएको निष्कर्ष हो ।

शिविर जेठ ३० गते शनिवारदेखि असार ८ गते सोमबारसम्म चलेको थियो । स्वयम्भू भगवान पाउ, कमलपोखरी, पञ्चमुखी हनुमान मन्दिर खरिबोट, बौद्ध स्तुप परिसर, इटुम्बहाल, चिवाद्यो आँगन, गहनापोखरी, हाँडीगाउँ डवली, न्हुःघ जोशी देगल मन्दिर परिसरगरी ९ ठाउँमा शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा आएर सेवा लिनेमा उमेरगत रुपमा १० वर्ष र अधिकतम ८४ वर्ष उमेर व्यक्तिलाई परामर्श प्रदान गरियो । यसमध्ये सबैभन्दा धेरै १८ वर्षदेखि ४५ वर्ष उमेर समूहका व्यक्ति थिए । यस्तै लैङ्गिकताका आधारमा ५५ जना यौनिक तथा लैङ्गिक अल्पसंख्यक ५५५ जना महिला र ४०५ जना पुरुष सहभागी भएका थिए ।

मनोसामाजिक शिविरबाट प्राप्त भएको तथ्याङ्कले सहरमा मानसिक स्वास्थ्य अब व्यक्तिगत समस्या मात्र नभई एउटा भयावह ‘जनस्वास्थ्य संकट’ का रूपमा विकसित हुँदै गएको देखिएको छ ।

शिविरमा १० वर्षदेखि ८४ वर्ष उमेर समूहका व्यक्तिहरूले आफ्नो मनको गाँठो फुकाएका थिए ।

१० वर्षदेखि १९ वर्ष उमेर समूहका बालबालिका र किशोरकिशोरीमा शैक्षिक नतिजाको तनाव यति गहिरोदेखियो कि, कम जीपीए आउँदा परिवार र विद्यालयबाट हुने सजायको डरले उनीहरूको निद्रा नै बिथोलिएको छ । प्रविधिप्रतिको अत्याधिक आशक्ति (डिजिटल फिक्सेसन) ले उनीहरूमा ध्यान केन्द्रीत गर्न नसक्ने (ल्याक अफ कन्सन्ट्रेसन) समस्या बढेको छ । अझ चिन्ताजनक कुरा त के छ भने उनीहरुमा ‘कसैले मलाई बुझ्दैनन्’ भन्ने भाव आउँछ । पटक पटक दुव्र्यवहारमा परेका कतिपय बालबालिकाहरू ‘आत्महानी’ (सेल्फ हार्म)को अवस्थासम्म पुगेको पाइएको छ । विद्यालयमा अनुशासनका नाममा दिइने शारीरिक सजाय र घरभित्रको असहयोगी वातावरणले उनीहरूलाई थप गुम्स्याएको छ ।

२० वर्षदेखि २९ वर्षका युवाहरूमा भने भविष्य र करियरको चिन्ता प्रमुख देखिएको छ । ‘अब के गर्ने ? जीवन कसरी चलाउने ?’ जस्ता अनुत्तरित प्रश्नहरूले उनीहरूलाई घेरेको छ । सहरको महँगो जीवनशैलीमा समायोजन हुन नसक्नु र प्रविधिको प्रतिस्पर्धामा पछि परिने डरले उनीहरूमा सामाजिक एन्जाइटी (सोसल एन्जाइटी) बढाएको छ ।

त्यति मात्र होइन, विवाह र सम्बन्धका विषयमा पनि युवाहरू त्रसित छन् । ‘वैवाहिक सम्बन्ध नजोडिएकाहरुमा कोसँग, कसरी सम्बन्ध जोडिएला भन्ने उत्सुकतासँगै त्रास देखियो । सम्बन्ध जोडिएकाहरुमा सम्बन्ध टुट्ने जोखिमबाट कसरी बच्ने भन्ने डर देखियो । यसकारण उनीहरुमा तनाव सिर्जना भएका छन् ।

३० वर्षदेखि ५९ वर्षसम्मका वयस्क र मध्यम उमेरका व्यक्ति भने घर र समाजको दोहोरो चेपुवामा छन् । गुँड खाली हुनु अर्थात छोराछोरीहरु घर छोडेर विदेश जाने क्रमले यस उमेरका अभिभावकमा सबैभन्दा धेरै मानसिक तनाव देखिन्छ । कामको तुलनामा कम आय हुनु, पारिवारिक अपेक्षा अधिक हुनुले परिवारको आर्थिक बोझ धान्न नसक्नुले मध्यम वर्गका व्यक्तिहरु तनावमा भेटिए । यो कुरा अरुलाई भन्न वा सुनाउन पनि नमिल्ने भएकोले पीडा बढ्ने क्रममा देखियो ।

अर्कोतर्फ, धेरै आमाहरूले परिवारमा कलह नहोस् भनेर आफ्ना संवेग र आवेगहरू लुकाउने गरेको पाइएको छ । अरूलाई बचाउन खोज्दा आफैँ मानसिक जोखिममा पर्ने प्रवृत्ति महिलाहरूमा बढी छ । मध्यम उमेरका महिलाहरूमा मेनोपज (महिनावारी सुक्ने) अवस्थाले आउने शारीरिक परिवर्तन र त्यसले निम्त्याउने अनिद्रा तथा छटपटीले उच्च रक्तचाप र थाइरोइड जस्ता स्वास्थ्य समस्या समेत बढाएको छ ।

६० देखि ८४ वर्षका ज्येष्ठ नागरिकहरूमा भने ‘आफ्नो समय’ र ‘अहिलेको समय’ बिचको खाडलले पीडा दिएको छ । छोराछोरी र आफन्तको शोक, परम्परागत चालचलन र संस्कृतिमा आएको परिवर्तन र आधुनिक जीवनशैलीसँग तालमेल मिलाउन नसक्दा उनीहरूमा असाध्यै एक्लोपना देखिएको छ । ज्येष्ठ नागरिकहरुको एउटै आवाज खोज्दा पाइने भाव हो, ‘जीउ दुख्छ । उपचार गराइदिने छैन । मन दुख्छ । कुरा सुनिदिने, भावना बुझिदिने कोही छैन । आफ्नै भाषा बोलिदिने कोही भए मन बुझाउन सजिलो हुन्थ्यो । तर, त्यो पनि छैन ।’

सहरमा मानसिक स्वास्थ्य समस्याको तथ्याङ्कगत अवस्थाले, बढ्दो अवस्था घटाउन विद्यालयमा मानसिक स्वास्थ्य परामर्शदाताको व्यवस्था, अभिभावकलाई सचेतना, युवाहरूका लागि रोजगारीको सुनिश्चितता र ज्येष्ठ नागरिकका लागि सामाजिक सक्रियताका कार्यक्रमलाई महानगरपालिकाले प्राथमिकता दिनु पर्ने देखिएको छ । महानगरपालिकाले अहिले सञ्चालन गरेका कार्यक्रमलाई तीव्र विस्तार अहिलेको आवश्यकता हो । नत्र, सहर एकदिन ‘मानसिक समस्याको मौन महामारी’ मा पर्ने जोखिम छ ।

Sharing

प्रतिक्रिया दिनुहोस