असार ११, काठमाडौं । भेनेजुएलाको उत्तर-मध्य क्षेत्रमा बिहीबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पका धक्का राजधानी कराकाससहित देशका विभिन्न क्षेत्रमा महसुस गरिएको छ भने छिमेकी कोलम्बियामा पनि कम्पन अनुभव गरिएको बताइएको छ ।

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार भूकम्पको तीव्रता ७.१ मापन गरिएको छ । भूकम्पको केन्द्र मोन्टाल्बान नजिक जमिनको सतहबाट करिब १३ किलोमिटर गहिराइमा रहेको थियो । कम गहिराइमा केन्द्र भएकाले भूकम्पका धक्का निकै बलियो रूपमा महसुस भएका थिए । भूकम्पपछि कराकासमा त्रासको अवस्था सिर्जना भएको थियो । भवनहरू हल्लिन थालेपछि मानिसहरू घर तथा कार्यालयबाट बाहिर निस्किएका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार केही भवनका भित्तामा चिरा परेका छन् भने प्रवेशद्वारमा जडान गरिएका सिसा फुटेका छन् ।
भूकम्प लगत्तै अमेरिकी सुनामी चेतावनी प्रणालीले पुएर्टो रिकोका लागि सुनामीको जोखिम सम्बन्धी चेतावनी जारी गरेको छ । साथै केही टापु क्षेत्रहरूका लागि पनि सतर्कता अपनाउन आग्रह गरिएको छ । अधिकारीहरूले भेनेजुएलाको तटीय क्षेत्र नजिक रहेका अरुबा, कुरासाओ र बोनेयर टापुहरूमा समेत खतरनाक समुद्री छाल आउन सक्ने सम्भावना रहेको बताएका छन् । विपद् व्यवस्थापन तथा निगरानी निकायहरूले अवस्थाको निरन्तर अनुगमन गरिरहेका छन्।
भूकम्पपछि पराकम्पन आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूले सतर्क रहन आग्रह गरेका छन् । हालसम्म मानवीय क्षति भएको कुनै जानकारी प्राप्त भएको छैन । प्रभावित क्षेत्र र भौतिक क्षतिको विवरण संकलन तथा मूल्याङ्कन गर्ने काम जारी रहेको जनाइएको छ । अहिले पनि भूकम्पपछि कैयौं परकम्पन आइरहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । सरकारले अहिले ५ सय भन्दा बढी आपतकालीन उद्धारकर्ताले घरमा फसेकाको उद्धार गरिरहेको बताएको छ ।