• २०८३ जेष्ठ २८ गते बिहिवार

अमेरिका र इरान फेरी बढ्यो तनाव, आक्रमण शुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ २८, काठमाडौं । अमेरिका र इरानबीचको तनाव थप चर्किँदै गएको छ । अमेरिकी सेनाले विहिबार बिहान इरानका विभिन्न महत्वपूर्ण स्थानलाई लक्षित गर्दै पुनः हवाई आक्रमण गरेको छ । अमेरिकी आक्रमण भएको विषयमा इरानी समाचार संस्थाहरूले पनि पुष्टि गरेका छन् ।

इरानी सञ्चारमाध्यमका अनुसार किश टापु र बन्दर अब्बास क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन् । आक्रमणपछि क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनेको बताइएको छ ।

यता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले अमेरिकी आक्रमणपछि हर्मुज जलडमरूमध्य सबै जहाजका लागि बन्द गरिएको दाबी गरेको छ । उक्त निकायले जलमार्ग प्रयोग गर्ने प्रयास गर्ने कुनै पनि जहाजलाई निशाना बनाइने चेतावनीसमेत दिएको छ ।

अमेरिकाको आक्रमणपछि इरानले पनि बहराइनमा रहेको अमेरिकी आधारलाई निशाना बनाएको बताइएको छ ।

यसैबीच, अमेरिकाले हर्मुज जलडमरूमध्य नजिकै रहेको ‘सेत्तेबेल्लो’ नामक तेलवाहक जहाजमाथि क्षेप्यास्त्र आक्रमण गरेको जनाइएको छ । आक्रमणका कारण जहाजको इन्जिन कक्षमा आगलागी भएको थियो ।

जहाजमा २८ जना चालकदल सदस्य सवार रहेका थिए । तीमध्ये २४ जना भारतीय नागरिक रहेका थिए । घटनापछि २१ भारतीयलाई सुरक्षित उद्धार गरिएको छ भने ३ जना अझै बेपत्ता रहेको बताइएको छ ।

पलाउको झण्डा बोकेको उक्त तेलवाहक जहाज आक्रमणको समयमा ओमानको सोहार बन्दरगाहबाट करिब ३७ किलोमिटर टाढा रहेको जनाइएको छ ।

यद्यपि, अमेरिकी केन्द्रीय कमान्डले व्यावसायिक जहाजहरूको आवतजावत हर्मुज जलडमरूमध्यमार्फत अझै जारी रहेको जनाएको छ । तर इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले अमेरिकी दाबी अस्वीकार गर्दै आफ्नो आदेश कार्यान्वयनमा रहेको र क्षेत्रको सुरक्षा नियन्त्रण आफ्नै हातमा रहेको जनाएको छ ।

अमेरिका र इरानका परस्परविरोधी दाबीका बीच विश्वको महत्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिने हर्मुज जलडमरूमध्यको अवस्थालाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस