जेठ २७, काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समितिले एमसीसीअन्तर्गतको रातमाटे सबस्टेशन, नयाँ दमौली सबस्टेशन तथा २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण कार्य औपचारिक रूपमा शुभारम्भ भएको छ । अमेरिकाबाट प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७० करोड अमेरिकी डलर लगानीमा यो परियोजना अघि बढाइएको हो । यसले उच्चस्तरीय विद्युत् प्रसारण पूर्वाधार निर्माण गर्दै देशको ऊर्जा प्रणालीलाई सुदृढ बनाउने लक्ष्य राखिएको छ ।

यो परियोजनाअन्तर्गत तीन वटा ४०० केभी क्षमताका सबस्टेशन र करिब ३१५ किलोमिटर प्रसारण लाइन निर्माण हुनेछन् । यसले राष्ट्रिय विद्युत् प्रसारण सञ्जाललाई बलियो बनाउने, लाइन अवरोध घटाउने र घरायसी तथा औद्योगिक विद्युत् आपूर्तिलाई अझ भरपर्दो बनाउने अपेक्षा गरिएको छ ।
यसैगरी, यो पूर्वाधारले नेपाललाई क्षेत्रीय विद्युत् बजारमा सक्रिय रूपमा सहभागी हुन सहयोग गर्ने पनि बताइएको छ । आज सुरु गरिएको २९७ किलोमिटर प्रसारण लाइन अन्तर्गत लप्सीफेदी–रातमाटे–नयाँ हेटौंडा, रातमाटे–नयाँ दमौली र नयाँ दमौली–नयाँ बुटवल खण्ड समावेश छन् ।
नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले यस परियोजनाले नेपालमा भरपर्दो बिजुली आपूर्ति सुनिश्चित गर्ने र उद्योग तथा कृषि क्षेत्रमा उत्पादन वृद्धि गर्न सहयोग गर्ने बताए । एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन फ्रान्सिस्कोले यसले नेपालको ऊर्जा क्षेत्रलाई दीर्घकालीन रूपमा सुदृढ बनाउने धारणा राखेका थिए । नेपाल विद्युत् प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले यो आयोजना राष्ट्रिय प्रसारण सञ्जाल विस्तारको महत्वपूर्ण हिस्सा भएको बताए । एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले यो परियोजना नेपालको ऊर्जा पूर्वाधार विकासमा कोशेढुंगा सावित हुने उल्लेख गरे ।
निर्माण कार्य चार वटा निर्माण कम्पनीमार्फत अघि बढाइनेछ । परियोजना सम्पन्न भएपछि यी सबस्टेशनहरू देशकै उच्च क्षमताका सबस्टेशनमध्ये पर्नेछन् । यसले दीर्घकालीन ऊर्जा माग पूरा गर्न र आर्थिक वृद्धिलाई गति दिन महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।