पौष ८, काठमाडौं । नेपालमा बसेर स्वदेशमा आर्थिक अपराध गरिरहेका चिनियाँविरुद्ध प्रहरीले ‘स्विप अपरेसन’ थालेको छ । अवैध रूपमा बसेका तथा आर्थिक अपराधमा संलग्न एक सय २२ जना चिनियाँलाई प्रहरीले सोमबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ । विदेशी नागरिक यति ठूलो संख्यामा पक्राउ परेको यो नै सबैभन्दा ठूलो अपरेसन हो । पक्राउ परेकामध्ये धेरैजसो इन्टरनेटमार्फत हुने जुवा, सट्टेबाजी र अन्य ठगीसम्बन्धी आर्थिक अपराधमा संलग्नहरू छन् । चिनियाँ प्रहरीको अनुरोधमा पक्राउ परेका उनीहरूलाई लिन उतैबाट चार्टर्ड जहाज आउँदै छ ।
चिनियाँहरूलाई प्रहरीले ठाउँठाउँबाट र समूह–समूहमा पक्राउ गरेको छ । चिनियाँ अधिकारीले दिएको सूचीकै आधारमा मनमैजुका चार, बाँसबारीका दुई र बुढानीलकण्ठको एक घरमा छापा हानी प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । तर, यो अभियान अभैm जारी रहने प्रहरी अधिकारीले जनाएका छन् । ‘चिनियाँ पक्षले ६ सयजनाको सूची दिएको छ,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘सोचेभन्दा थोरै मात्र पक्राउ परे, धेरै भागिसकेका हुन सक्छन्, यो अपरेसन जारी रहन्छ ।’
नेपालमा बसेर चीनमा आर्थिक अपराध
-६ सयजनाको सूची लिएर आए एक दर्जन चिनियाँ अधिकारी
-दुई देशका प्रहरीको तीन महिनाको तयारीपछि सोमबार सात ठाउँमा छापा
-१२२ जनाबाट पाँच सय ल्यापटप र ठूलो संख्यामा मोबाइल बरामद
-विदेशीविरुद्ध अहिलेसम्मकै ठूलो अपरेसन, मुद्दा भने चीनमै चल्ने
बाँसबारी, नयाँबजार क्षेत्रमा घर नै भाडामा लिएर बस्दै आएका चिनियाँ नागरिक पर्यटक भिसामा थिए । उनीहरूबाट करिब पाँच सय ल्यापटप तथा मोबाइल बरामद गरिएको छ । ‘उनीहरूबाट ल्यापटप, मोबाइललगायत विद्युतीय सामग्री बरामद भएका छन्, प्रहरीले ती सामग्रीमाथि पनि अनुसन्धान गर्दै छ,’ सिआइबीका निर्देशक डिआइजी नीरज शाहीले नयाँ पत्रिकासँग भने ।
प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र अध्यागमन विभागले उनीहरूविरुद्ध सूचना संकलन गरेर पृष्ठभूमि तयार पारेका थिए । केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय अपराध महाशाखा र स्थानीय प्रहरीले फिल्डमा अपरेसन चलाए । कारबाहीका लागि चीनबाट समेत एक दर्जन प्रहरी अधिकारी तथा आइटीविज्ञ गत साता काठमाडौं आएका थिए । नेपालबाहेक फिलिपिन्स, मलेसिया, सिंगापुरलगायत पूर्वी एसियाली देशहरूमा अपरेसन गर्न चिनियाँ प्रहरी एकैपटक पुगेको छ । यसका लागि नेपाल र चीनका अधिकारीहरू तीन महिनादेखि तयारीमा थिए । नेपालमा उनीहरूले अपराध गरेको नभेटिएकाले यहाँ फौजदारी अभियोगमा कारबाही हुने सम्भावना न्यून छ । उनीहरूलाई भिसासम्बन्धी कसुरमा कारबाही गरेर निष्कासन गर्ने र चिनियाँ अधिकारीलाई बुझाउने गृह मन्त्रालयको तयारी छ । लगत्तै, नेपाल सरकारले निष्कासन गरेपछि उनीहरूलाई एकैपटक चीन पुर्याउन उतैबाट चार्टर्ड विमान ल्याइँदै छ । स्वदेशमै लगेर थप अनुसन्धान गर्ने चीनको तयारी छ ।
नेपालमा बसेर चीनमा अपराध गर्ने प्रवृत्ति बढेपछि चीनले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा सुपुर्दगी सन्धि गर्ने तयारी गरेको थियो । तर, त्यसले तिब्बती शरणार्थीलाई समेत समेट्ने भन्दै विरोध भएपछि सहमति हुन सकेन । ‘सन्धि भएको अवस्थामा उनीहरूको सुपुर्दगी नै हुन्थ्यो,’ गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘सन्धि नभएकाले निष्कासनको प्रक्रियामार्फत चीन पठाउन लागिएको हो, यसले चिनियाँहरूको आपराधिक गतिविधि पनि नियन्त्रण हुने अपेक्षा छ ।’
चिनियाँ पर्यटकलाई आकर्षित गर्न भन्दै चार वर्षअघि केपी ओली नेतृत्वको तत्कालीन सरकारले चिनियाँ पर्यटकसँग भिसा शुल्क नलिने निर्णय गरेको थियो । सो निर्णयले नेपालमा चिनियाँ पर्यटकको आगमनसँगै अपराध पनि बढ्न थालेको छ । साथै, भिसा शुल्कबापत करोडौँ रुपैयाँ पनि राज्यले गुमाएको छ । चीनजस्तो धनी देशले नेपालीसँग भिसा शुल्क लिने, तर नेपालीले भिसा शुल्क नलिने व्यवस्था उपयुक्त नभएको अध्यागमन अधिकारीहरू बताउँछन् । ‘पर्यटन वर्षलगत्तै भिसा शुल्क नलाग्ने व्यवस्था हटाउनेबारे छलफल भइरहेको छ,’ एक अधिकारीले भने, ‘निःशुल्क भिसाकै कारण मात्र खासै चिनियाँ पर्यटक बढेका होइनन्, बरु यसले समस्या बढाएको छ ।’
प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो पाँच वर्षमा विभिन्न घटनामा एक सयभन्दा धेरै चिनियाँ पक्राउ परिसकेका छन् । उनीहरूमध्ये धेरैजसो डलर तस्करीमा संलग्न थिए । त्यस्तै, सुन, वन्यजन्तुका अंग, जडीबुटी तस्करी, ह्याकिङ तथा अवैध चिकित्सकीय अभ्यासका घटनामा उनीहरूको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।
२०६० को आसपासदेखि नै नेपालमा चिनियाँहरूको अपराधमा संलग्नता देखिएको प्रहरी अधिकारीहरू बताउँछन् । त्यतिवेला रक्तचन्दन र वन्यजन्तुका अंगको ओसारपसारमा चिनियाँहरू संलग्न हुने गरेको पूर्वएआइजी राजेन्द्रसिंह भण्डारीले बताए । पछिल्लो समय डलर र सुनको अवैध कारोबारमा उनीहरूको संलग्नता बढेको छ । अहिले ह्याकिङ, मानव तस्करी तथा लागुऔषधमा समेत उनीहरूको संलग्नता देखिएको छ । अझै नेपाललाई आधारभूमि बनाएर उनीहरूले इन्टरनेटमार्फत समेत संगठित आर्थिक अपराध गर्दै आएका छन् ।
बिजनेस भिसामा नेपाल बस्ने विदेशीहरूमा चिनियाँहरू सबैभन्दा धेरै छन् । पछिल्लो वर्ष उनीहरूको संख्या आश्चर्यजनक रूपमा बढेको प्रहरी अधिकारीहरू बताउँछन् । व्यापारको आवरणमा धेरैजसो डलरको अवैध कारोबारमा संलग्न रहेको स्रोत बताउँछ । ठमेल क्षेत्रलाई आधार बनाएर चिनियाँहरूले संगठित रूपमा आर्थिक अपराध गरिरहेका छन् ।
बिहेका नाममा नेपाली युवतीलाई चीनतर्फ लग्न थालेको अवस्थामा गत १२ भदौमा प्रहरीले चार चिनियाँलाई पक्राउ गरेको थियो । त्यसको दुई दिनपछि एटिएम ह्याकिङमा संलग्न ६ चिनियाँ पक्राउ परे । उनीहरूले एकै दिन एकैछिनमा तीन करोड रुपैयाँ एटिएमबाट निकालेका थिए । त्यसयता सुन र लागुऔषध तस्करीमा संलग्न दुई चिनियाँ समूह पक्राउ परिसकेका छन् ।
सुन र डलर तस्करीमा चिनियाँहरूको संलग्नता बढी देखिएको छ । आउँदा अवैध सुन लिएर आउने र फर्कँदा डलर लैजाने प्रवृत्ति देखिएको प्रहरी सहप्रवक्ता उमेशराज जोशी बताउँछन् । पछिल्लो समय नियमित रूपमा सुनसहित चिनियाँहरू पक्राउ पर्दै आएका छन् ।
चिकित्सा क्षेत्रमा समेत चिनियाँहरूले अपराध बढाएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले १६ फागुन २०७४ मा १३ जना चिकित्सकलाई पक्राउ गरेको थियो । नेपालमा अनुमतिविना नै अस्पताल चलाएको भन्दै ठमेलको एपोलो इन्टरनेसनल पोलिक्लिनिक, बौद्धको चाइना ग्रेटवाल हेल्थ सेन्टर, चाइनाज् पिपल्स हस्पिटल र चाइना डेन्टल अस्पतालमा कार्यरत चिकित्सकहरू पक्राउ परेका थिए । अहिले पनि कतिपय चिनियाँहरू अनधिकृत रूपमा अस्पताल सञ्चालन गरेर बसेको उजुरीमा सिआइबीले अनुसन्धान गरिरहेको छ ।
चिनियाँहरूको अपराध डायरी : जनावरका अंग, लागुऔषध, डलरदेखि ८८ किलो सुनसम्म तस्करी गर्न खोजेको आरोपमा पक्राउ
१२ मंसिर ०७६ : ८ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ परेका थिए । हङकङ हुँदै उनीहरूले नेपालमा सुन तस्करीको प्रयास गरेका थिए ।
२० साउन ०७६ : चिनियाँ नागरिक ली निङ्सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार किलो सुनसहित पक्राउ परेका थिए । हङकङबाट कपडाको बेल्टमा लुकाएर उनले नेपालमा सुन भित्र्याउने प्रयास गरेका थिए ।
२७ चैत ०७५ : तीन चिनियाँलाई करिब साढे तीन किलो सुनसहित विमानस्थल प्रहरीले पक्राउ गरेको थियो । उनीहरूले मलद्वारमा लुकाएर सुन तस्करीको प्रयास गरेका थिए ।
१२ कात्तिक ०७५ : अवैध रूपमा साटेर डलर लैजाने क्रममा पटक–पटक चिनियाँहरू पक्राउ परेका छन् । एक लाख २२ हजार चार सय डलरसहित प्रहरीले एक चिनियाँलाई विमानस्थलमा पक्राउ गरेको थियो । नेपालबाट चीनमा डलर तस्करी गर्न खोज्ने क्रममा इरेसा नामक चिनियाँलाई प्रहरीले पक्राउ गरेको थियो ।
४ भदौ ०७५ : समुद्री घोडा तथा बाघको छालासहित तीन चिनियाँ नागरिकलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको थियो । काठमाडौं वान होटेलका सञ्चालक चिनियाँ नागरिक चेन क्आङ ठमेलस्थित उनकै होटेलबाट पक्राउ परेका थिए । उनको साथबाट समुद्री घोडा ३०० ग्राम, यार्सागुम्बा ९० ग्राम, सुनाखरी ३३० ग्राम तथा विभिन्न जडीबुटी साढे ६ किलो बरामद भएको थियो ।
२३ वैशाख ०७५ : चिनियाँ महिला तीन किलो सुनसहित पक्राउ परेकी थिइन् । डेढ किलो सुनसहित ६ चिनियाँ विमानस्थलमै पक्राउ परेको प्रहरी तथ्यांक छ ।
१५ माघ ०७४ : वन्यजन्तु तस्करीको प्रमुख गन्तव्य पनि चीन हुने गरेको छ । यस्तो गिरोहमा पनि चिनियाँहरूको संलग्नता बढ्दो छ । डेढ वर्षअघि अफ्रिकाको कंगोबाट टर्की हुँदै नेपाल आएका दुई चिनियाँले एक सय ६२ केजी सालकको खपटा तस्करी गर्न खोजेका थिए । सालकको खपटासहित चिनियाँ नागरिकहरू क्वी जिओरोङ र क्वी लिबाओलाई प्रहरीले १५ माघ ०७४ मा विमानस्थलबाट पक्राउ गरेको थियो ।
८ पुस ०७४ : जुत्ताभित्र लुकाएर सुन तस्करी गर्न खोज्ने चिनियाँलाई प्रहरीले पक्राउ गरेको थियो । चिनियाँ युवती पुकाओ हुलाईलाई जुत्ताभित्र लुकाएको करिब दुई किलो सुनसहित प्रहरीले विमानस्थलमै पक्राउ गरेको थियो ।
१३ असोज ०७४ : चिनियाँ महिला यानकुन दुवानलाई ४६ हजार चार सय ८० अमेरिकी डलरसहित नेपालबाट भुटान जान खोज्दा प्रहरीले पक्राउ गरेको थियो ।
४ असोज ०७४ : सडकमार्गबाट समेत चिनियाँहरूले डलर तस्करी गर्दै आएका छन् । रसुवामा प्रहरीले चिनियाँ नागरिक ली वानलाई ५० हजार अमेरिकी डलरसहित पक्राउ गरेको प्रहरी रेकर्ड छ ।
१८ भदौ ०७४ : प्रहरीले ठमेलबाट ८८ केजी सुन बरामद गरेको थियो । सुन तस्करीका मुख्य नाइके चिनियाँ भएको खुल्यो ।
७ माघ ०७३ : रसुवाको टिमुरेबाट चिनियाँ नागरिक वाङ चुङ १८ हजार चार सय ३२ अमेरिकी डलरसहित पक्राउ परेका थिए ।
१ माघ ०७३ : दुई लाख ६० हजार अमेरिकन डलर, एक लाख १८ हजार युरो र केही अस्ट्रेलियन डलरसहित रसुवातर्फ जाँदै गरेका तीन चिनियाँलाई प्रहरीले नागढुंगामा पक्राउ गरेको थियो । बा.१य १२३२ नम्बरको गाडीमा उनीहरू रसुवा नाका हुँदै चीन जाने क्रममा थिए ।
१५ जेठ ०७३ : लागुऔषध नियन्त्रण ब्युरोले तीन केजी कोकिनसहित चिनियाँ नागरिक चुन म्यानलाई पक्राउ गरेको थियो । जसमा संलग्न केही व्यक्तिहरू चीनमै रहेको खुलेको थियो । नेपालबाट चीनमा चरेस तस्करीका घटनासमेत देखिएको लागुऔषध नियन्त्रण ब्युरोको अनुसन्धानमा खुलेको थियो ।
३२ जेठ ०७२ : चिनियाँ महिला याङ होङ ९८ हजार पाँच सय डलरसहित विमानस्थलमै पक्राउ परेकी थिइन् ।
१० भदौ ०७२ : विमानस्थलमा एक चिनियाँ दुई करोड २५ लाखबराबरको विदेशी मुद्रासहित पक्राउ परेका थिए । ७४ हजार अमेरिकी डलर, ७६ हजार युरो, ४८ हजार स्विस फ्र्यांकसहित वाङ पक्राउ परेका थिए ।
पुस ०६८ : भक्तपुरको जगातीबाट ९७ हजार दुई सय २३ डलरसहित केही चिनियाँलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूले तातोपानी नाका हुँदै डलर तस्करीको प्रयास गरेका थिए ।
१८ असोज ०६७ : चिनियाँ नागरिक कोविन ली ४० हजार डलरसहित भक्तपुरमा पक्राउ परेका थिए । १० वर्षअघिदेखि नै चिनियाँहरू नेपालबाट अवैध डलरको कारोबारमा संलग्न रहेको प्रहरी तथ्यांकमा देखिन्छ ।
असोज ०६७ : तीन लाख अमेरिकन डलरसहित तीन चिनियाँलाई काठमाडौंको स्वयम्भुबाट पक्राउ गरिएको थियो । त्यतिवेला तातोपानी नाकामा पटकपटक ठूलो परिमाणमा डलरसहित चिनियाँहरू पक्राउ परेको प्रहरी अधिकारीहरू बताउँछन् ।
८ जेठ ०६७ : चिनियाँ नागरिकसहितको एक समूह ४६ किलो सालकको खपटासहित पक्राउ परेको थियो । बाघको हड्डीसहित १८ वर्षीय जिन वाई तथा १९ वर्षीय झाङ यु ताइनलाई परिसरले पक्राउ गरेको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकका लागि नवराज मैनालीले तयार पार्नुभएको हो ।