जेठ २३, काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला अधिवेशनको क्रममा विवाद भएपछि निर्वाचन प्रक्रिया स्थगित भएको छ । शनिबार निर्वाचन प्रक्रिया चलिरहेका बेला पार्टीका दुई पक्षबीच विवाद बढ्दै जादा हानाहान समेत भएको थियो । जिल्ला अधिवेशनका लागि प्रतिनिधि चयनमा विवाद हुदा दुई पक्ष हानाहानमा उत्रिएका थिए । विवादका बीच शनिबार पार्टीका सदस्य महादेवप्रसाद कुर्मी, केन्द्रीय महाधिवेशन प्रतिनिधि सुधिर पटेल, क्षेत्रीय सभापति राम आर्यसहितको समूहले जिल्ला अधिवेशन स्थगितको माग गर्दै मधेस प्रदेश उपसभापति तथा निर्वाचन समिति सदस्य राधिका न्यौपानेलाई ज्ञापनपत्र बुझाएका थिए । जिल्ला अधिवेशनका लागि जिल्लाका प्रतिनिधि चयनमा जिल्ला सभापति सांसद हरि पन्त पक्षले एकलौटी गरेको आरोप लगाउँदै पार्टीका सदस्य महादेवप्रसाद कुर्मी, केन्द्रीय महाधिवेशन प्रतिनिधि सुधिर पटेल, क्षेत्रीय सभापति राम आर्यसहितकाले ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूको ज्ञापनपत्र बुझेपछि निर्वाचन समितिले दुई घण्टाका लागि मात्र निर्वाचन प्रक्रिया स्थगित गरेर पुन सुचारु गरेपछि निर्वाचन कार्यालय स्थापना गरिएको होटलमै दुई पक्षबीच विवाद चर्किएको थियो । कार्यकर्ताहरूबीच हानाहान भएपछि निर्वाचन प्रक्रिया हालका लागि स्थगित गरिएको निर्वाचन समितिका संयोजक डा. नन्दन यादवले जानकारी दिए । उनले शनिबार स्थगित निर्वाचन प्रक्रिया अब आइतबार बिहान ८ बजेदेखि मात्रै सुरु गरिने बताएका छन् । पर्सामा एक गुटको नेतृत्व संस्थापक जिल्ला सभापति तथा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले गर्दै आएका छन्। उनलाई एक्ल्याउन बाँकी ३ क्षेत्रका सांसदहरू सुशील साह कानु, रमाकान्त चौरसिया र टेकबहादुर शाक्य अर्को गुट बनाएका छन् ।
२- भारतले अफगानिस्तानविरुद्धको टेस्ट खेलको पहिलो दिन राम्रो शुरुवात गरेको छ । टस जितेर पहिला ब्याटिंग गरेको भारतले ३ विकेट गुमाएर ३६८ रन बनाएको छ । भारतका लागि शुभमन गिलले अविजित १०३ रन बनाएका छन् । ऋषव पन्तले अविजित ५० रन बनाएर खेलिरहेका छन् । त्यस्तै केएल राहुल १०० रन बनाएर आउट भए भने साई सुदर्शनले ८१ र यशस्वी जैसवालले २४ रन बनाएका थिए । त्यस्तै अफगानिस्तानका बलर मोहमद सलीमले २ र जियाउर रहमानले एक विकेट लिएका छन् ।
३- रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा शनिबार सम्पन्न लाङ्टाङ ट्रेल रन: पुरुषतर्फ सोलुखुम्बुका मिलन कुलुङ राई र महिलातर्फ काठमाडौंकी अञ्जली गुरुङ प्रथम भएका छन् । ‘लाङ्टाङ ट्रेल रन’ (दोस्रो संस्करण) अन्तर्गत लाङ्टाङको क्याङजिनबाट सुरु भएको ३२ किलोमिटर दूरीको उक्त दौड प्रतियोगितामा २ घण्टा १६ मिनेट ४३ सेकेन्ड दूरी पूरा गरी सोलुखुम्बु महाकुलुङ गाउँपालिका–४ का मिलन कुलुङ राई प्रथम भएका छन् । २ घण्टा १८ मिनेट ४७ सेकेन्ड दूरी पूरा गरी जुम्ला जिल्ला कनसुन्दरी गाउँपालिका–१ का धीरबहादुर बुढा दोस्रो भएका छन् । तेस्रो हुनेमा पाँचथर जिल्ला फिदिम नगरपालिका–१४ का विसाल राईले उक्त दूरी २ घण्टा २० मिनेट २ सेकेन्डमा पार गर्दै तेस्रो स्थान हासिल गरेका छन् । महिलातर्फ ४ घण्टा ४५ मिनेट ३ सेकेन्डमा काठमाडौँ दक्षिणकाली नगरपालिका–९ की अञ्जली गुरुङ प्रथम भएकी छन्। नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका–७ की सुरक्षा तामाङ ४ घण्टा ५९ मिनेट ५३ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भएकी छन् । अस्ट्रियाकी अन्ना लेनाले ५ घण्टा ९ मिनेट १४ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरेकी छन् । ट्रेल रनमा विजेता धावकहरू महिला तथा पुरुष दुवैतर्फ क्रमश: प्रथम, दोस्रो र तेस्रो हुनेले १ लाख, ७५ हजार र ५० हजार नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्न सफल भएका छन् । ट्रेल रनका लागि विदेशीसहित १०० भन्दा बढी धावकहरू सहभागी भएको आयोजक रसुवा–नुवाकोट पर्यटन समाजले जानकारी दिएको छ ।
४- रूसको दोस्रो ठूलो सहर सेन्ट पिटर्सबर्गका बासिन्दालाई शनिबार बिहान ठूलो मात्रामा भएको युक्रेनी ड्रोन आक्रमणपछि घरभित्रै बस्न स्थानीय प्रशासनले आग्रह गरेको छ । अधिकारीहरूले यो घटनालाई युक्रेनले रूसभित्र लामो दूरीसम्म आक्रमण गर्न बढाएको क्षमतासँग जोडेर हेरेका छन् । सेन्ट पिटर्सबर्गका गभर्नर अलेक्जेन्डर बेग्लोभले नागरिकलाई बाहिर ननिस्कन आग्रह गर्दै मोबाइल इन्टरनेट सेवामा अवरोध आउन सक्ने चेतावनी दिएका छन् । क्षेत्रीय गभर्नर अलेक्जेन्डर ड्रोज्डेन्कोका अनुसार लेनिनग्राद क्षेत्रमा १४१ वटा ड्रोन खसालिएको छ । रूसी रक्षा मन्त्रालयले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले कुल ३७६ युक्रेनी ड्रोन नष्ट गरेको दाबी गरेको छ । यी आक्रमणमा मानवीय क्षति भएको कुनै जानकारी आएको छैन । सेन्ट पिटर्सबर्गमाथिको यो नयाँ आक्रमणलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि राजनीतिक र सुरक्षा दुवै हिसाबले झट्का मानिएको छ। रूसी अधिकारीहरूले लामो समयदेखि यो युद्धलाई रूसी जनजीवनमा खासै असर नपर्ने बाहिरी घटनाका रूपमा प्रस्तुत गर्दै आएका थिए । यसअघि बुधबार पनि सोही सहरमा रहेको तेल भण्डारण केन्द्रमा आगलागी गराउने र नजिकैको नौसैनिक अड्डालाई निशाना बनाउने ड्रोन आक्रमण भएको थियो । त्यही आक्रमण सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्च सुरु हुनुभन्दा केही घण्टा अघि भएको थियो, जुन पुटिनको लगानी आकर्षित गर्ने वार्षिक कार्यक्रम हो । मञ्चमा बोल्दै पुटिनले हालैका युक्रेनी ड्रोन आक्रमणको जवाफमा रूसले आफ्नो हवाई प्रतिरक्षा प्रणाली थप बलियो बनाउने बताएका छन् । उनका अनुसार यस्ता ड्रोनहरू रूसी भूभागभित्र गहिरो प्रवेश गर्न थालेका छन् । युद्ध मोर्चामा ठूलो प्रगति नभइरहेका बेला दुवै पक्षले लामो दूरीका आक्रमणलाई रणनीतिक रूपमा बढाइरहेका छन् । रूसी सेनाले ड्रोन र तोपखानाबाट करिब ३० वटा आक्रमण गरेको र तीन जिल्लालाई निशाना बनाएको बताइएको छ । यसमा युक्रेनको निप्रोपेट्रोभ्स्क क्षेत्रमा एक जनाको मृत्यु भएको र तीन जना घाइते भएको क्षेत्रीय प्रमुखले जानकारी दिएका छन् । जापोरिज्जियामा रूसी ड्रोन आक्रमणपछि पार्किङ क्षेत्रमा आगलागी हुँदा पाँच जनालाई अस्पताल भर्ना गरिएको छ । युक्रेनी वायु सेनाका अनुसार रूसले रातभर २७२ वटा ड्रोन प्रयोग गरी आक्रमण गरेको थियो, जसमा २४९ वटा खसालिएको दाबी गरिएको छ । यी आक्रमणहरू त्यही समयमा भएका हुन् जब रूसी राष्ट्रपति पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीको प्रत्यक्ष भेटवार्ताको प्रस्ताव अस्वीकार गरेका थिए । पुटिनले यस्तो भेटबाट कुनै उपयोग नदेखिएको बताएका थिए । यसअघि जेलेंस्कीले पुटिनलाई सार्वजनिक रूपमा पत्र लेख्दै वार्ताको प्रस्ताव राखेका थिए । २०२२ पछि उनले पहिलो पटक प्रत्यक्ष रूपमा पुटिनलाई सम्बोधन गरेका थिए। उक्त पत्रमा उनले पुटिनको शासन र युद्धलाई लिएर कडा आलोचना गरेका थिए ।
५- भारतीय क्रिकेट नियन्त्रण बोर्डले टी- २० टिमको कप्तान श्रेयस अय्यरलाई बनाएको छ । यसअघिका कप्तान सूर्यकुमार यादवलाई हटाएर बोर्डले अय्यरलाई टी- २० कप्तान बनाएको हो । बोर्डले आयरल्यान्ड र इङ्ग्ल्यान्डविरुद्ध हुने टी-२० टिमको घोषणा गरेको छ । शनिबार मुम्बईमा मुख्य छनोटकर्ता अजित अगरकरको नेतृत्वमा बसेको वरिष्ठ पुरुष छनोट समितिको बैठकले दुवै सिरिज र जापानमा हुने एशियन गेम्सका लागि टिमको घोषणा गरेको हो । घोषित टोलीमा श्रेयस अय्यर लाई नयाँ कप्तानको जिम्मेवारी दिइएको छ भने तिलक वर्मा उपकप्तान नियुक्त भएका छन् । भारतलाई टी–२० विश्वकप २०२६ को उपाधि दिलाएका सूर्यकुमार यादव भने यसपटक टोलीबाट बाहिरिएका छन् । उनले कप्तानी मात्र गुमाएका छैनन्, टोलीमा स्थान समेत बनाउन सकेनन् । टोलीमा विकेटकिपरका रूपमा ईशान किशन र सञ्जु सामसनलाई समावेश गरिएको छ । अक्षर पटेलले आफ्नो स्थान जोगाउन सफल भएका छन् । तीव्र गतिका बलरको जिम्मेवारी अर्शदीप सिंह, मोहम्मद सिराज र हर्षित राणामाथि रहनेछ । यसपटकको टोलीमा सबैभन्दा बढी चर्चा १५ वर्षीय वैभव सूर्यवंशीको चयनले पाएको छ । उनले पहिलो पटक सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । वैभवले इन्डियन प्रिमियर लिग २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताका सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका थिए । उनी भारतीय वरिष्ठ पुरुष टोलीमा समावेश हुने सबैभन्दा कम उमेरका खेलाडीसमेत बनेका छन् । मुख्य छनोटकर्ता अजित अगरकरले वैभवको प्रशंसा गर्दै उनी टोलीका लागि खेल परिवर्तन गर्ने खेलाडी साबित हुन सक्ने बताएका छन् । आयरल्यान्ड र इङ्ग्ल्यान्डविरुद्धको टी-२० सिरिजका लागि प्रमुख तीव्र गतिका बलर जसप्रित बुमराह लाई आराम दिइएको छ । यस्तै, स्पिनर रवि बिश्नोईको टोलीमा पुनरागमन भएको छ । भारतीय टोलीमा स्पिन विभागका लागि अक्षर पटेल, वरुण चक्रवर्ती र रवि बिश्नोई रहेका छन् । तीव्र गतिका बलिङ आक्रमणको जिम्मेवारी मोहम्मद सिराज, हर्षित राणा, अर्शदीप सिंह र प्रिन्स यादवले सम्हाल्नेछन् ।
६- नेपाल मलेसियामा जारी एसीसी महिला प्रिमियर कप अन्तर्गतको खेलमा हङकङसँग पराजित भएको छ । शनिबार सम्पन्न खेलमा नेपाल हङकङसँग ६९ रनले पराजित भएको हो । हङकङले दिएको ११० रनको लक्ष्य पछाएको नेपाल १३.३ ओभरमा ४० रन बनाएर अल आउट भएको थियो । यो नेपाली महिला टिमले अहिलेसम्म बनाएको सबै भन्दा कम टोटल हो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको हङकङ चाइनाले २० ओभरमा ३ विकेट गुमाएर १०९ रन बनाएको थियो । यो जितपछि हङकङको ३ खेलमा ६ अंक भएको छ र समुह डी मा शिर्ष स्थानमा रहदै क्वाटरफाइनलमा पुगेको छ भने नेपाल उपविजेता हुदै क्वाटरफाइनलमा पुगेको छ । अब नेपालले समुह ए को विजेतासँग खेल्ने छ ।
७- मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ धारा ढोला (खोल्सा) स्थित दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् । हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बीएए ९७६८ नम्बरको बोलेरो ठोक्किँदा बोलेरो चालकसहित दुवै सवारीसाधनमा सवार १४ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ भने १० जनाको अवस्था मध्यम रहेको छ । सबै घाइतेलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ । घटनापछि सुमो चालकलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेहरूको परिचय भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
८- इजरायली सैन्य कारबाहीका क्रममा लेबनानमा मृत्यु हुनेको संख्या बढेर ३ हजार ५५८ पुगेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार २ मार्चदेखि जारी हमलामा हालसम्म १० हजार ८७० जना घाइते भएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा यो तथ्याङ्क उल्लेख गरिएको हो । मन्त्रालयका अनुसार पछिल्ला तीन महिनामा भएका इजरायली हमलाबाट हजारौँ सर्वसाधारण प्रभावित भएका छन् । इजरायल र लेबनानबीच भएको युद्धविराम सम्झौता कार्यन्वयन गर्ने सहमति भएपनि हिजबुल्लाह समुहले अस्वीकार गरेपछि इजरायलको लेबनानमाथिको आक्रमणम जारी रहेको छ । साथै इजरायलले पनि लेबनानमाथि युद्धविरामको सहमति पछि पनि जारी राखेको छ ।
९- प्यू रिसर्च सेन्टरको नयाँ सर्वेक्षणले विश्वभर इजरायलप्रतिको धारणा थप नकारात्मक बन्दै गएको देखाएको छ । ३६ देशमा गरिएको सर्वेक्षणमा औसत ६७ प्रतिशत उत्तरदाताले इजरायलप्रति नकारात्मक धारणा व्यक्त गरेका छन् भने केवल २५ प्रतिशतले सकारात्मक राय दिएका छन् । प्यू रिसर्च सेन्टरले फेब्रुअरी ८ देखि मे १३ सम्म ३६ देशमा सर्वेक्षण सञ्चालन गरेको थियो । अधिकांश अन्तर्वार्ता अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य अभियान सुरु गरेको अवधिमा लिइएको बताइएको छ । सर्वेक्षणअनुसार बंगलादेश, इन्डोनेसिया, मलेसिया, पाकिस्तान र टर्की जस्ता मुस्लिम बहुल देशहरूमा इजरायलप्रति सबैभन्दा बढी असन्तुष्टि देखिएको छ । त्यस्तै, वेस्ट बैंक र पूर्वी जेरुसेलमका बासिन्दामध्ये पनि ठूलो संख्याले इजरायलविरुद्ध नकारात्मक धारणा व्यक्त गरेका छन् । रिपोर्टमा युरोपका धेरै देशहरूमा पनि इजरायलको छवि कमजोर बन्दै गएको उल्लेख छ । इटाली, नेदरल्यान्ड्स र स्पेनमा करिब दुई तिहाइ वा त्योभन्दा बढी उत्तरदाताले इजरायलप्रति अत्यन्त नकारात्मक धारणा राखेको बताएका छन् । प्यूका अनुसार अघिल्लो सर्वेक्षणसँग तुलना गर्न सकिने २४ देशमध्ये १३ देशमा इजरायलप्रतिको नकारात्मक सोच अझ बढेको पाइएको छ । अर्जेन्टिनामा सन् २०२५ मा ४६ प्रतिशत मानिसको इजरायलप्रति नकारात्मक धारणा रहेकोमा अहिले यो संख्या बढेर ५५ प्रतिशत पुगेको छ । त्यस्तै, अस्ट्रेलिया, इटाली, नाइजेरिया, पोल्यान्ड र बेलायतमा पनि इजरायलप्रति अत्यन्त नकारात्मक धारणा राख्नेहरूको संख्या दोहोरो अंकले वृद्धि भएको सर्वेक्षणले देखाएको छ ।
१०- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा ७६ जना घाइते भएका छन् । जस अनुसार कोशी प्रदेशमा २९ जना घाइते भएका छन् भने मधेश प्रदेशमा ४ जना, काठमाडौँमा २८ जना घाइते भएका छन् भने काठमाडौँबाहेक बागमती प्रदेशमा ५ जना घाइते भएका छन् । त्यस्तै सुदूरपश्चिममा ७ जना घाइते भएका छन् भने कर्णालीमा २ जना र लुम्बिनीमा एक जना घाइते भएका छन् ।
११- कैलालीको टिकापुरमा अन्तर–व्यवस्थापिका सम्मेलन शुरु भएको छ । शनिबार प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल सम्मेलनको उद्घाटन गरेका छन् । आइतबारसम्म सञ्चालन हुने सम्मेलनमा संघीयता कार्यान्वयनका क्रममा संघीय संसद् र प्रदेश सभाबीच प्रभावकारी समन्वय, सहकार्य तथा सहअस्तित्वलाई थप सुदृढ बनाउने उद्देश्य बारे छलफल हुने बताइएको छ । अन्तर–व्यवस्थापिका मञ्चद्वारा आयोजित सम्मेलनको व्यवस्थापन सुदूरपश्चिम प्रदेश सभा सचिवालयले गरेको छ । सम्मेलनमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुबी कुमारी, राष्ट्रिय सभाकी उपाध्यक्ष लिला कुमारी भण्डारी, सातै प्रदेशका सभामुख तथा उपसभामुखहरू, साथै संघीय संसद् र प्रदेश सभाका महासचिव तथा सचिवहरूको सहभागिता रहेको छ ।
१२- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ बुवालुङस्थित पङखुखोलामा बाढीले मध्यपहाडी लोकमार्ग बगाएपछि सडक अवरुद्ध भएको छ । गएराती बाढीले सडक बगाएपछि अबरुद्ध भएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईले जानकारी दिएका हुन् । सडक बगाएपछि भोजपुरबाट काठमाडौं र भोजपुरतर्फ जादै गरेका सवारीसाधन अलपत्र परेका छन् । अहिले सडक खुलाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको डोजर पुगेर काम गरिरहेको र सडक खुल्न समय लाग्ने उपमेयर राईले बताए ।
१३- भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेबीच भेटवार्ता गरेका छन् । भेटका क्रममा दुई पक्षबीच नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने, राजनीतिक दल–स्तरका सम्बन्ध विस्तार गर्ने तथा जनस्तरमा आपसी सम्पर्क र सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको दिल्लीस्थित नेपाली दुताबासले जानकारी दिएको छ । शुक्रबार दिल्ली पुगेका परराष्ट्रमन्त्री खनालले शुक्रबारनै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भेटवार्ता गरेका थिए । दिल्लीमा परराष्ट्रमन्त्री खनालले भारतीय विदेशमन्त्री जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटमा व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरको सम्बन्धलगायत आपसी हितका विविध विषयमा छलफल हुने जनाइएको छ । दुवै पक्षले नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान गर्ने परराष्ट्र मन्त्रलयले बताएको छ । मन्त्री खनाल २४ गते स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
१४- आजदेखि अण्डाको मुल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुने गरि अण्डाको मूल्य बढाएको हो । संघले सार्बजनिक गरेको अण्डाको नयाँ मूल्य अनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ पुगेको छ, जुन यसअघि ४६५ रुपैयाँ रहेको थियो । त्यस्तै यसअघि प्रतिक्रेट ४९० रुपैयाँ रहेको ठूलो अण्डाको मुल्य ५४५ रुपैयाँ पुगेको छ भने मध्यम अण्डाको ५१५ रुपैयाँ कायम भएको छ । त्यसैगरी सानो अण्डाको प्रतिपेटी तीन हजार रुपैयाँ कायम गरिएको छ । यसअघि २ हजार ३०० रुपैया रहेको थियो । यसअनुसार खुद्रा बजारमा अण्डाको मूल्य प्रति गोटा २५ रुपैयाँ पुगेको संघका सचिव मदन पोखरेलले जानकारी दिएको छ ।
१५- बजेट घोषणा हुनुभन्दा केही दिनअघि विभिन्न भन्सार नाकाबाट विद्युतीय गाडीको भन्सार जाँचपास भएको विषयलाई लिएर अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलाई जोड्दै अफवाह तथा चरित्र हत्या गर्ने प्रयास भएको भन्दै अर्थमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ । अर्थमन्त्रीका स्वकीय उपसचिव एवं जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले बजेट घोषणा हुनुभन्दा केही दिनअघि विभिन्न भन्सार नाकाबाट विद्युतीय गाडीको भन्सार जाँचपास भएको विषयलाई लिएर अर्थमन्त्री वाग्लेलाई जोड्दै अफवाह तथा चरित्र हत्या गर्ने प्रयास भएको भन्दै आपत्ति जनाएका हुन् । छानबिन प्रक्रिया जारी रहेकै अवस्थामा अर्थमन्त्री तथा मन्त्रालयका जिम्मेवार अधिकारीहरूको चरित्र हत्या गर्ने, समाजमा गलत धारणा स्थापित गर्ने र बजेटलाई विवादमा तान्ने उद्देश्यले प्रचारबाजी तथा ‘मिडिया ट्रायल’ गरिएको भन्दै सचिवालयले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । सचिवालयले अर्थमन्त्री र मन्त्रालयसँग सम्बन्धित विषयमा धारणा बनाउँदा सम्बन्धित अधिकारीसँग सत्यतथ्य बुझ्न, अर्थतन्त्र, बजेट र भन्सारजस्ता प्राविधिक विषयमा तथ्य पुष्टि गरेर मात्र समाचार सामग्री प्रकाशन तथा प्रसारण गर्न सञ्चारमाध्यम र सरोकारवालासँग आग्रह गरेको छ । रसुवागढी नाकामा भन्सार बिन्दुमै नपुगेका सवारीसाधनको भन्सार जाँचपास भएको भनिएको विषयमा अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिको सिफारिसअनुसार जेठ २० गते प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीमुक्त गरी भन्सार विभागमा तानिएको र उक्त घटनाबारे थप अनुसन्धान जारी रहेको पनि जनाइएको छ । त्यस्तै, मुस्ताङको कोरोला नाकाबाट भन्सार जाँचपास भएका सवारीसाधनबारे पनि अर्थ मन्त्रालयको छानबिन समितिले स्थलगत अनुसन्धान अगाडि बढाइरहेको छ । अर्थ मन्त्रालय र भन्सार विभागका उपसचिवस्तरीय अधिकारीहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलसहितको संयुक्त टोली हाल पनि घटनास्थलमा रहेर अनुसन्धानमा जुटिरहेको जनाइएको छ । प्रारम्भिक रूपमा भन्सार छलीको आशङ्कामा केही सवारीसाधन र आयातकर्ता कम्पनीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको तथा यसको विस्तृत विवरण पछि सार्वजनिक गरिने बताइएको छ । राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेर अनुसन्धान अगाडी बढाएको छ ।
१६- काठमाडौँको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा एक महिलाको हत्या भएको छ । प्रहरीका अनुसार सोही स्थानका ४२ वर्षीय कुमार थापा, जो “नेपाली ब्रो” नामले परिचित छन्, ले आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरेका थिए । शुक्रबार राति करिब १० बजे भएको घटनामा गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न थापालाई प्रहरीले पक्राउ गरी प्रहरी वृत्त बालाजुको हिरासतमा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१७- काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्रका सार्वजनिक स्थलहरुमा मागेर बस्नेहरुलाई पूर्ण निषेध गर्ने भएको छ । वेसहारा, अशक्त, असहाय, अभिभावक विहिन, सडक आश्रित व्यक्तिहरु जसले आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, हेरचाह र स्याहारका लागि आफन्त पनि नभएका, खानका लागि अन्नपात नभएका, अन्न किन्ने पैसा नभएका, विरामी पर्दा उपचार गर्ने पैसा नभएका त्यस्ता व्यक्तिहरुको हेरचाह, औषधोपचार तथा लालनपालनका लागि मानव सेवा आश्रमसँगको सहकार्यमा मानवोचित व्यवस्थापन गरिने महानगरले जनाएको छ । जसले माग्ने कामलाई पेशा बनाएका छन्, त्यस्ता व्यक्तिका लागि मागेर खाने कामलाई पूर्ण निषेध गरिने महानगरले स्पष्ट गरेको छ । प्रवक्ता नविन मानन्धरका अनुसार, २०७४ साल मंसिर १ गतेदेखि २०८३ साल जेठ २१ ग्ते सम्ममा २ हजार ४२१ जनालाई उद्धार गरिएको छ । जसमा १ हजार ५७१ जना पुरुष र ८५० जना महिला छन् । उमेरगत हिसाबले हेर्दा ५ वर्षसम्मका २ जना बालक र ८ जना बालिका गरी १० जना छन् । ६ बर्षदेखि १७ वर्षसम्मका ३९ जना बालक र २४ जना बालिका गरी ६३ जना बालबालिका छन् । १८ देखि ३९ वर्षसम्मका ३८७ जना पुरुष र २६६ महिला गरी ६५३ जना वयस्क हुनुहुन्छ । ४० वर्षदेखि ५९ वर्ष सम्मका ५८३ जना पुरुष र २७१ जना महिला गरी ८५४ जना छन् ६० वर्ष माथिका ५६० जना पुरुष, २८१ जना महिला गरी ८४१ जना रहेका छन् । उद्धारपछि ३८९ जना महिला र ४९४ जना पुरुष गरी ८८३ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । १८७ जना महिला र ३४७ जना पुरुष गरी ५३४ जनालाई सामाजिक पुनःस्थापना गरिएको छ ।
१८- सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थामा देखिएको भनिएको आर्थिक अनियमितता, प्रक्रियागत कमजोरी तथा वित्तीय अनुशासन उल्लङ्घनसम्बन्धी विषयमा अध्ययन एवम् छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयले आफ्नो आन्तरिक जानकारी प्रयोजनका लागि विभिन्न निकायमा परेका उजुरी, महालेखापरीक्षकको कार्यालयका प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाईसमेत आधार बनाएर स्वतन्त्र र तथ्यपरक अध्ययनका लागि समिति गठन गरेको हो । गठित समितिको संयोजकमा इन्जिनियर डा आभाष मास्के रहनुभएको छ । समितिमा उमेश रुपाखेती, टिकाराम कार्की र नवीन कुमार मिश्र सदस्य छन् । मन्त्रालयका अनुसार सार्वजनिक सेवा प्रसारण संस्थाले आफ्ना च्यानलहरू भू–उपग्रहमार्फत प्रसारण गर्न विदेशी स्याटेलाइट ब्याण्डविथ सेवा प्रदायक कम्पनीहरूसँग सन् २००२ देखि हालसम्म निरन्तर रूपमा भाडा सम्झौता गर्दै आएको छ । ती सम्झौतामा समय–समयमा च्यानल थप गर्ने, स्ट्यान्डर्ड डेफिनेसन (एसडी) बाट हाई डेफिनेसन (एचडी) मा रूपान्तरण गर्ने, पूरक सम्झौता गर्ने तथा उपकरण खरिदसम्बन्धी निर्णयहरूमा प्रश्न उठ्दै आएका छन् । विभिन्न निकायमा यी विषयसँग सम्बन्धित ऊजुरी पएका थिए । साथै, महालेखा परीक्षकको कार्यालयका वार्षिक प्रतिवेदन, सञ्चारमाध्यममा प्रकाशित सामग्री तथा विभिन्न माध्यमबाट आएका गुनासोहरूमा प्रक्रियागत अनियमितता, अनावश्यक आर्थिक भार सिर्जना, प्रतिस्पर्धाबिनै सम्झौता, वित्तीय अनुशासन उल्लङ्घन तथा स्वार्थको द्वन्द्वजस्ता विषय उठाइएका थिए । मन्त्रालयले यी सम्पूर्ण विषयको अध्ययन गरी २१ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेशसहित समिति गठन गरेको हो । मन्त्रालयले समितिलाई स्याटेलाइट सेवा खरिद र व्यवस्थापनसँग सम्बन्धित विगतका सम्झौता, सेवा विस्तार, प्रविधि रूपान्तरण तथा उपकरण खरिद प्रक्रियाको अध्ययन गरी आवश्यक सुझावसहित प्रतिवेदन बुझाउन जिम्मेवारी दिएको छ ।
१९- विभिन्न विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले आठ विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०६३’ बमोजिम त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका उपकुलपति पदका लागि दरखास्त दिएका उम्मेदवारमध्ये अल्पसूचीमा परेका नामावली प्रकाशन गरिएको हो। सिफारिस समितिको २०८३ असार २२ गतेको निर्णयअनुसार अल्पसूचीमा समावेश उम्मेदवारहरूको नामावली वर्णानुक्रममा सार्वजनिक गरिएको समितिले जनाएको छ। समितिले अल्पसूचीमा परेका उम्मेदवारका सम्बन्धमा सर्वसाधारणबाट राय तथा सुझावसमेत माग गरेको छ। त्रिभुवन विश्वविद्यालयका लागि अमर प्रसाद यादव, कवि प्रसाद पोखेल, कृष्णराज आचार्य, गोविन्द सुवेदी, टंकनाथ धमला, ताराप्रसाद भुसाल, दुर्गादत्त पौडेल, नन्दबहादुर सिंह, भोला थापा र रामप्रसाद रेग्मी अल्पसूचीमा परेका छन्। सुदूरपश्चिम विश्वविद्यालयका लागि किशनदत्त भट्ट, खेमराज जोशी, चेतराज भट्ट, जगतकृष्ण पोखरेल, डमरुचन्द्र भट्ट, पद्मराज जोशी, महेशकुमार जोशी, राजेन्द्र जोशी, रामप्रसाद घिमिरे र विष्णुविलास अधिकारीको नाम अल्पसूचीमा समावेश गरिएको छ। पूर्वाञ्चल विश्वविद्यालयका लागि अजय भट्टराई, अनिलकुमार पोखरेल, अशोककुमार झा, जनार्दन लामिछाने, दिलिप पराजुली, देवेन्द्र अधिकारी, नरेन्द्र कटुवाल, माधव लम्साल, बिजुकुमार थपलिया र सुजनबाबु मरहट्टा छनोट भएका छन्। मध्यपश्चिम विश्वविद्यालयका लागि कल्याणी मिश्र त्रिपाठी, कवि प्रसाद पोखेल, चन्द्रप्रसाद रिजाल, देवबहादुर खड्का, नन्दबहादुर सिंह, पन्ना थापा, राजन सुवाल, लक्ष्मण ज्ञवाली, सरोज कोइराला र सुशीलकुमार शाही अल्पसूचीमा परेका छन्। पोखरा विश्वविद्यालयका लागि चेतराज भट्ट, ज्ञानेश्वर शर्मा, दीपकबहादुर भण्डारी, दिलिप पराजुली, देवेन्द्र अधिकारी, निर्मला जमरकट्टेल, विजयसिंह सिजापती, वीरबहादुर खनाल क्षेत्री, सरोज कोइराला र सुजनबाबु मरहट्टा सिफारिसको प्रारम्भिक सूचीमा परेका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि अर्जुनकुमार श्रेष्ठ, ऋषिराम कट्टेल, कल्याणी मिश्र त्रिपाठी, कालिकाबहादुर अधिकारी, पुष्करबहादुर पाल, बलरामकुमार भट्ट, लालप्रसाद अम्गाई, विमलकुमार लाल कर्ण, विष्णुविलास अधिकारी र होमबहादुर बस्नेत अल्पसूचीमा समावेश छन् । राजर्षि जनक विश्वविद्यालयका लागि अमर प्रसाद यादव, अशोककुमार झा, नन्दकिशोर साह, नरेन्द्र कटुवाल, राजनारायण यादव, रासबिहारी महतो, वसन्तकुमार कर्ण, विमलकुमार लाल कर्ण, श्यामकिशोर महतो र श्यामनारायण लाभको नाम सार्वजनिक गरिएको छ। यस्तै, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि चन्द्रकला घिमिरे, तिलकराम आचार्य, दीपकप्रसाद आचार्य, फणीन्द्रकुमार न्यौपाने, यशोधरा भेटुवाल, शारदा पौडेल र सुरेन्द्रमान बज्राचार्य अल्पसूचीमा परेका छन् । सिफारिस समितिले अल्पसूचीमा रहेका उम्मेदवारका सम्बन्धमा इच्छुक व्यक्ति तथा सरोकारवालाले २०८३ जेठ २५ गतेभित्र उपलब्ध गराइएको विद्युतीय माध्यममार्फत राय तथा सुझाव पठाउन सक्ने जनाएको छ ।
२०- भारतमा ककरोच जनता पार्टीले आज शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै नयाँ दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गरेको छ । यसका लागि ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपके शनिबार बिहान अमेरिकाबाट भारतको राजधानी दिल्ली पुगेका थिए । प्रशासनले ककरोच जनता पार्टीलाई आज जन्तर मन्तरमा प्रदर्शन गर्न अनुमति दिएको छ । पार्टीले प्रदर्शन प्रश्नपत्र लिक तथा माध्यमिक शिक्षा बोर्ड, साझा विश्वविद्यालय प्रवेश परीक्षा र कर्मचारी छनोट आयोगअन्तर्गतका विभिन्न परीक्षामा भएको भनिएको अनियमितताविरुद्ध केन्द्रित रहेको बताइएको छ । पार्टीले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेको छ । प्रदर्शनमा सहभागी हुने समर्थकका लागि पार्टीले आठ बुँदे निर्देशनसमेत जारी गरेको छ । त्यसमा घामबाट बच्ने सामग्री प्रयोग गरेर आउन, बिहानको खाना खाएर आउन, राष्ट्रिय झण्डा, फूल र पुस्तक साथमा ल्याउन आग्रह गरिएको छ । यस अभियानलाई सामाजिक अभियन्ता सोनम वाङ्चुक, अभिनेता अतुल कुलकर्णी, दिल्ली विश्वविद्यालय विद्यार्थी सङ्घका पूर्व अध्यक्ष रौनक खत्री लगायतले समर्थन जनाएका छन् । वाङ्चुक प्रदर्शनमा प्रत्यक्ष सहभागी हुने जनाइएको छ । गत मे १५ मा भारतका प्रधानन्यायाधीश सुर्य कान्तले एक मुद्दाको सुनुवाइका क्रममा रोजगारी नपाएका युवाहरूलाई ‘ककरोच जस्ता’ भन्दै टिप्पणी गरेका थिए। उनले यस्ता केही युवा सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा विभिन्न प्रकारका अभियानमा संलग्न हुने गरेको बताएका थिए । सोही टिप्पणीको भोलिपल्ट, मे १६ मा अमेरिकामा अध्ययन गरिरहेका युवा अभिजीत दीपकेले सामाजिक सञ्जालमा ‘ककरोच जनता पार्टी’ नामक मञ्च स्थापना गरेका थिए। त्यसयता यो अभियान व्यापक चर्चामा आएको छ । अहिलेसम्म यस पार्टीका सामाजिक सञ्जालमा २ करोड भन्दा बढी फलोअर भइसकेका छन् र पार्टीको प्रत्यक्ष प्रदर्शन भने आज हुदैछ । मे १९ मा एक सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा दीपकेले यो अभियान सुरुमा मजाकका रूपमा सुरु भए पनि अहिले युवाको बेरोजगारी र व्यवस्थाप्रतिको निराशाले यसलाई ठूलो आन्दोलनमा रूपान्तरण गरेको बताएका थिए । ३० वर्षीय दीपके महाराष्ट्रको सम्भाजीनगरका बासिन्दा हुन् । उनी डिजिटल सञ्चार रणनीतिकारका रूपमा परिचित छन् । उनले पुणेबाट पत्रकारिता अध्ययन गरेका छन् भने हाल अमेरिकास्थित बोस्टन विश्वविद्यालयमा जनसम्पर्क विषयमा स्नातकोत्तर अध्ययन गरिरहेका छन् । दीपके सन् २०२० देखि २०२२ सम्म आम आदमी पार्टी का सामाजिक सञ्जाल रणनीतिकारका रूपमा कार्यरत थिए । दिल्ली विधानसभा निर्वाचनका क्रममा उनी अनलाइन प्रचार सामग्री निर्माणमा सक्रिय थिए । किसान आन्दोलनदेखि महँगीसम्मका विभिन्न राजनीतिक विषयमा उनले सामाजिक सञ्जालमार्फत केन्द्र सरकार र प्रधानमन्त्रीको आलोचना गर्दै आएका छन् ।