• २०८३ जेष्ठ २३ गते शनिवार

युवा पलायन रोक्न एआई र आईटी क्षेत्रमा रोजगारी तथा सीप विकास आवश्यक : सरोकारवाला

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ २३,  काठमाडौं ।नेपालमा बढ्दो युवा जनशक्ति पलायन रोक्न सूचना प्रविधि (आईटी) र कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा व्यापक रोजगारी सिर्जना तथा सीप विकास अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन् ।

यसै सन्दर्भमा देशकै अग्रणी प्रविधि संस्था टेक पाईला इनोभेसन्सले पोखरामा गण्डकी प्रदेश स्तरीय कार्यालय तथा सेवाको औपचारिक शुभारम्भ गरेको छ । एक विशेष समारोहबीच आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले कार्यालयको उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मल्लले कृत्रिम बुद्धिमत्ता र सूचना प्रविधि नेपालको आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा डिजिटल रूपान्तरणका प्रमुख आधार बनेको बताए । विश्व अर्थतन्त्र एआई केन्द्रित दिशातर्फ अघि बढिरहेको उल्लेख गर्दै उनले नेपालले नीतिगत सुधार, अनुसन्धान र दक्ष जनशक्ति उत्पादनमा ढिलाइ गर्न नहुने धारणा राखे ।

‘कक्षा १२ उत्तीर्ण हुनासाथ विदेशिने युवाको लर्को रोक्न नेपालमै कमाउँदै, सिक्दै र रमाउँदै अघि बढ्न सक्ने वातावरण निर्माण गर्नुपर्छ,’ उनले भने, ‘एआई कम्प्युट केन्द्र स्थापना गरी युवा, विद्यार्थी तथा स्टार्टअपहरूलाई विश्वस्तरीय प्रविधिमा पहुँच दिन सके नेपाल दक्षिण एसियाकै डिजिटल हब बन्न सक्छ ।’

मल्लले देशव्यापी रूपमा ‘स्किल–फस्र्ट’ अर्थात् सीपलाई प्राथमिकता दिने अवधारणालाई अघि बढाएको भन्दै टेक पाईला इनोभेसन्सका एसोसिएट डाइरेक्टर चिरञ्जीवी अधिकारीको प्रशंसा समेत गरे ।

कार्यक्रमका मुख्य वक्ता तथा क्यान महासंघका कार्यवाहक अध्यक्ष एवं टेक पाईला इनोभेसन्सका एसोसिएट डाइरेक्टर चिरञ्जीवी अधिकारीले वर्तमान रोजगारी बजारमा प्रमाणपत्रभन्दा सीपको महत्व बढी रहेको बताए ।

‘हामीले परम्परागत शिक्षा प्रणालीभन्दा माथि उठेर बजारको मागअनुसार एआई, साइबर सुरक्षा र डाटा साइन्सका व्यावसायिक कोर्षहरू सञ्चालन गरिरहेका छौँ,’ उनले भने, ‘एआईले कसरी काम गर्छ भन्ने बुझ्नु मात्र पर्याप्त हुँदैन, त्यससँगै आउने साइबर जोखिम न्यूनीकरण गर्न र सुरक्षित डाटा–आधारित निर्णय लिन सक्ने जनशक्ति तयार गर्नु आजको आवश्यकता हो ।’

कार्यक्रममा सफ्टेड ग्रुपका चेयरपर्सन विज्ञान श्रेष्ठले स्वदेशी प्रविधिको विकास र एआई इन्जिन निर्माणलाई प्रोत्साहन गर्न सरकारले स्टार्टअपहरूलाई कर छुट तथा विशेष सहुलियत उपलब्ध गराउनुपर्ने बताए । नेपाली युवाहरूको क्षमता अभिवृद्धिका लागि गुणस्तरीय र व्यावहारिक शिक्षा प्रदान गर्न आफ्नो संस्था प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

कार्यक्रममा सहभागी वक्ताहरूले एआई, साइबर सुरक्षा, डाटा साइन्स तथा डिजिटल प्रविधिमा आधारित सीप विकास कार्यक्रमलाई विस्तार गर्न सके नेपालमै रोजगारीका अवसर बढ्ने र युवा पलायन नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस