जेठ १९, काठमाडौं । प्रहरीले लागूऔषध सहित चार जना पक्राउ गरेको छ । कैलालीको टीकापुर नगरपालिका-९ सुनफाँटाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ९९० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-४ राजीपुर बस्ने २३ वर्षीय चन्द्र नेपाली र २४ वर्षीय सुरेश नेपाली रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङको रंगेली नगरपालिका४ चोप्राहबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका-४ स्कुल डाँडा बस्ने ३२ वर्षीय अभिषेक कार्की र बेलबारी नगरपालिका-२ बस्ने २९ वर्षीय नविन निरौला रहेका छन् ।
इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१७ प ९१७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।