जेठ १०, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सिंगापुरमा हुने पुरुष एशियन गेम्स क्वालिफायर्सका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा राष्ट्रिय टिमको घोषणा गरेको छ । क्यानले दिपेन्द्रको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा दिपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेस बम, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ सेख, सोमपाल कामी, करण केसी र साहब आलम रहेका छन् ।

पुरुष एशियन गेम्स क्वालिफायर्समा नेपालसहित ८ देशले भाग लिदैछन् । जसमा समुह ए मा नेपाल, मलेसिया, कतार र चीन रहेका छन् भने समुह बी मा ओमान, हङकङ, बहराइन र सिंगापुर रहेका छन् ।
प्रतियोगितामा नेपालले ३१ मे मा चीनसँग, जुन २ मा कतारसँग र जुन ४ मा मलेसियासँग खेल्ने तालिका रहेको छ ।
टी-२० फर्म्याटमा खेलिने यस प्रतियोगितामा सेमिफाइनलमा पुग्ने चार देश एशियन गेम्समा छनौट हुने एसियन क्रिकेट काउन्सिलले जनाएको छ । एशियन गेम्समा कुल १० देशले भाग लिदैछन् । जसमा जापान आयोजकको रुपमा सहभागी हुदैछन् भने आइसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वत छनौट भएका छन् ।