• २०८३ बैशाख २७ गते आइतवार

लेबनानमा इजरायली आक्रमणमा एकैदिन ३९ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख २७, काठमाडौं । इजराइली आक्रमणमा लेबनानमा एकै दिन ३९ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी क्षेत्रहरूमा भएको लगातार हवाई आक्रमणमा सर्वसाधारण नागरिकसमेत मारिएका हुन् ।

दक्षिणी सहर साक्साकियेहमाथि गरिएको इजराइली आक्रमणमा कम्तीमा सात जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ। मृतकमध्ये एक बालक पनि रहेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार दक्षिणी सहर नबातियेहमा भएको अर्को आक्रमणमा एक सिरियाली नागरिकको मृत्यु भएको छ भने उनकी १२ वर्षीया छोरी गम्भीर घाइते भएकी छन् ।

यसैबीच लेबनान सीमावर्ती उत्तरी इजराइल क्षेत्रमा हिजबुल्लाहले गरेको मानवरहित विस्फोटक विमान आक्रमणमा तीन इजराइली सैनिक घाइते भएका छन् । तीमध्ये एक सैनिकको अवस्था गम्भीर रहेको बताइएको छ ।

इजराइली सेनाले शनिबार धेरै विस्फोटक मानवरहित विमान इजराइली क्षेत्रमा प्रवेश गरेको जनाएको छ। तीमध्ये केही इजराइलभित्र खसेका थिए ।

सेनाका अनुसार दक्षिणी लेबनानमा तैनाथ आफ्ना सैनिकलाई लक्षित गरी प्रहार गरिएका धेरै प्रक्षेपास्त्र र मानवरहित विमानलाई हवाई प्रतिरक्षा प्रणालीले बीचमै नष्ट गरेको थियो ।

यसबीच इजराइल र लेबनानबीच सम्भावित शान्ति वार्ताबारे राजनीतिक विश्लेषक रानिया खालेकले हालसम्म कुनै ठोस प्रगति नदेखिएको बताएकी छन् । उनले इजराइली सरकारले लेबनानी सरकारले हिजबुल्लाहलाई हतियार त्याग्न बाध्य पार्न नसक्ने बुझेको बताइन्। साथै इजराइली सेनाले पनि हिजबुल्लाहलाई पूर्ण रूपमा समाप्त गर्न नसक्ने उनको भनाइ छ । खालेकका अनुसार इजराइलले लेबनानमा ठूलो विनाश गर्न सक्ने भए पनि हिजबुल्लाहलाई पूर्ण रूपमा निःशस्त्र बनाउनु सम्भव देखिँदैन ।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पनि टिप्पणी गर्दै शान्ति वार्तालाई केवल राजनीतिक प्रदर्शनका रूपमा प्रयोग गर्न खोजिएको आरोप लगाइन् । उनका अनुसार ट्रम्पले विश्वसामु आफूले इजराइल र लेबनानबीच शान्ति स्थापना गराएको सन्देश दिन चाहेका हुन सक्छन् । तर इजराइलले लेबनानका केही क्षेत्रमाथिको नियन्त्रण कायम राख्दै बमबारी जारी राखेसम्म वास्तविक शान्ति सम्भव नहुने खालेकको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस