• २०८३ बैशाख २३ गते बुधवार

पश्चिम बंगालमा चुनावपछि हिंसा: चार जनाको हत्या, ममताको कार्यालयमा डोजर !

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २३, काठमाडौं । भारतको पश्चिम बंगालमा निर्वाचन परिणामपछि हिंसात्मक घटना सुरु भएका छन् । उत्तर २४ परगना जिल्लाको सन्देशखालीस्थित बामनघेरी क्षेत्रमा मंगलबार राति गस्तीमा रहेको प्रहरी र केन्द्रीय सुरक्षाबलमाथि आक्रमण भएको छ ।

भारतीय मिडियाहरुका अनुसार अज्ञात व्यक्तिहरुले गोली प्रहार गर्दा पाँच जना सुरक्षाकर्मी घाइते भएका छन् । घाइते हुनेहरूमा नाजाट प्रहरी चौकीका प्रमुख, एक प्रहरी जवान, एक महिला प्रहरी तथा केन्द्रीय बलका दुई जवान रहेका छन् ।

पछिल्लो २४ घण्टामा राज्यका विभिन्न स्थानमा चार जनाको हत्या भएको जनाइएको छ । मृतकमध्ये भारतीय जनता पार्टी र तृणमूल कांग्रेसका दुई–दुई कार्यकर्ता रहेका छन् ।

भारतीय जनता पार्टीले उत्तर २४ परगनाको न्यू टाउन र हावडाको उदय नारायणपुरमा आफ्ना दुई कार्यकर्ताको हत्या तृणमूल कांग्रेसले गरेको आरोप लगाएको छ । यता, तृणमूल कांग्रेसले पनि कोलकाताको बेलेघाटा र वीरभूमको नानुरमा आफ्ना दुई सदस्यको हत्या गरिएको दाबी गरेको छ ।

यसैबीच, कोलकाताको न्यू मार्केट क्षेत्रमा भीडले तृणमूल कांग्रेसको पार्टी कार्यालय डोजर प्रयोग गरी भत्काएको छ । उपद्रवीहरूले आसपासका पसलहरूमा पनि तोडफोड गरेका छन् ।

घटनाबारे प्रतिक्रिया दिँदै तृणमूल कांग्रेसले सामाजिक सञ्जालमार्फत ‘परिवर्तन’को नाममा हिंसा भएको आरोप लगाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस