• २०८३ बैशाख २१ गते सोमवार

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १४ मिनेट

वैशाख २१, काठमाडौं । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाहले सञ्चारकर्मीलाई भिडियो खिच्न अवरोध गरिएको भन्ने समाचारको खण्डन गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार आफ्नो कार्यालय परिसरमा सञ्चारकर्मीलाई भिडियो खिच्न रोकेको भन्दै केही सञ्चारमाध्यममा आएका समाचारप्रति प्रधानमन्त्रीको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सचिवालयका अनुसार प्रधानमन्त्री कार्यालय प्रवेश गर्ने क्रममा परिसरभित्र सवारीसाधनको अत्यधिक भीड देखिएपछि उनले व्यवस्थापन र सुरक्षा सतर्कताबारे सुरक्षाकर्मीसँग सामान्य जिज्ञासा मात्र राखेका थिए । उक्त चासो सवारी व्यवस्थापन र प्रशासनिक सहजतासँग सम्बन्धित रहेको स्पष्ट पारिएको छ । साथै सञ्चारकर्मीलाई हटाउन वा भिडियो खिच्न रोक्न कुनै निर्देशन नदिएको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्यकक्षमा प्रवेश गरिसकेपछि गेटमा रहेका केही सुरक्षाकर्मीले सञ्चारकर्मीलाई हट्न भनेको भन्ने गुनासो आएको उल्लेख गर्दै सचिवालयले त्यसबारे तत्काल समन्वय गरी सञ्चारकर्मीलाई उपलब्ध पहुँचमा कुनै रोकावट नरहेको जानकारी गराइएको जनाएको छ । सचिवालयले जहाँ सञ्चारकर्मीलाई सूचना संकलन र समाचार सम्प्रेषणका लागि अनुमति छ, त्यहाँ कुनै अवरोध नभएको र भविष्यमा पनि नहुने स्पष्ट पारेको छ । सुरक्षा र व्यवस्थापनसँग जोडिएको सामान्य विषयलाई प्रेसमाथि अंकुशको रूपमा अतिरञ्जित नगर्न आग्रह गरिएको छ । सरकार प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक र संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको जनाउँदै सञ्चार क्षेत्रसँग सहकार्य र पारदर्शिता कायम राख्दै लोकतान्त्रिक मूल्य सुदृढ बनाउन प्रतिबद्ध रहेको पनि उल्लेख गरिएको छ ।

२- उद्योगी व्यवसायी शेखर गोल्छालाई जमानतमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । बन्दीप्रत्यक्षीकरण रिटमाथि न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले परमादेश जारी गर्दै गोल्छालाई जमानतमा छाड्न आदेश दिएको हो । इजलासले जमानत बुझाउन नसके मात्र हिरासतमा राख्न भनेको छ । गोल्छालाई बैशाख १० गते नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तयार पारेको धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन, २०८३ मा नाम मुछिएपछि सीआईबीले पक्राउ गरेको थियो । सिआइबीले वैशाख २० देखि लागु हुने गरी चौथो पटक चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट अनुमति पाएको थियो । सर्वोच्चको संयुक्त इजलासले सिआइबीले जमानत माग नगरी अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिने कार्य भएको भन्दै जिल्ला अदालतको आदेश उत्प्रेषणको आदेशले बदर गरेको छ ।

३- नेपाली काँग्रेसले संसद समन्वय वोर्डको प्रथम बैठक बोलाएको छ । काँग्रेसले संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद समन्वय वोर्डको प्रथम बैठक वैशाख २२ गते मंगलबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्नेगरी बोलाएको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । बैठकमा वोर्डका सदस्यहरूको उपस्थिति हुने दुलालले जानकारी दिए ।

४- सर्वोच्च अदालतले प्रहरीको नियन्त्रणमा रहेका व्यवसायी दिपक भट्टलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । सोमबार न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासले भट्टलाई अदालत उपस्थित गराउन आदेश दिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले भट्टराई सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ गरेपछि उनकी श्रीमती आयुष्मा नेपालले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले भट्टलाई पक्राउ गर्नुको कारण र बन्दीसहित उपस्थित हुन आदेश दिएको हो । काठमाडौं जिल्ला अदालत ,सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान ब्यूरो र महानगरीय प्रहरी प्रभाग सानेपा ललितपुरलाई रिटमा विपक्षी बनाइएको छ । भट्टलाई गत चैत्र १९ गते पक्राउ गरिएको थियो ।

५- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले कार्यालय तथा घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ । सोमबार मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको थियो । अवैध सम्पत्ति आर्जन गरेको आशंकामा विभागको टोलीले काठमाडौस्थित बानियाँको नक्साल र सुन्धारास्थित कार्यालय साथै हेटौँडा कार्यालय र घरमा छापा मारेको थियो । उनको हेटौँडा-५ स्थित पिपलेको घरमा विभागका चारजना कर्मचारी र तीनजना प्रहरी पुगेका थिए । छापामारी पछि मुख्यमन्त्री बानियाँले राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रूपमै पनि उपस्थित हुने विद्यमान अवस्थामा अकस्मात् छापा मारिएको प्रति आपत्ति जनाएका हुन् । यस्तै राज्यको एक जिम्मेवार पदाधिकारीको हैसियतले संवैधानिक र कानुनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा आफ्नो पूर्ण समर्थन र सहयोग रहने बताएका छन् ।

६- बिपी राजमार्ग केहीबेर खुलेसँगै फेरी बन्द भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार प्रतिकूल मौसमको कारण काभ्रेपलाञ्चोक जिल्लाको बिभिन्न स्थानहरुमा अत्यधिक ठूलो पानी परिरहेको हुनाले बीपी राजमार्गमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि सवारी आवागमन पूर्ण रुपमा बन्द गरिएको छ । मौसममा सुधार आई सडकमार्गमा कुनै अवरोध नभएको अवस्थामा राजमार्ग सुचारु गरिने प्रहरीले जानकारी दिएको छ । यसअघि सोमबार बिहान बन्द गरिएको राजमार्ग दिउसो केहि बेर खुला गरिएको थियो ।

७- दक्षिण भारतीय चलचित्रका चर्चित कलाकार जोसेफ विजयले तमिलनाडु प्रदेश सभाको निर्वाचनमा अप्रत्याशित नतिजा ल्याउँदै सबैलाई चकित पारेका छन् । ‘थलपति’ नामले चिनिने विजयको दल तमिलगा वेट्री कडगमले प्रारम्भिक मतगणनामा मुख्यमन्त्री एमके स्टालिनको द्रविड मुनेत्र कडगमलाई पछि पारेको छ । पछिल्लो अपडेट अनुसार विजयको दल १०१ सिटमा अगाडि रहेको छ भने सत्तारुढ द्रविड मुनेत्र कडगम (डिएमके) ५७ सिटमा सीमित देखिएको छ। विपक्षी अन्ना द्रविड मुनेत्र कडगम (एडिएमके) पनि ७१ सिटमा अगाडि रहेकोछ । विजय स्वयं पेराम्बुर र तिरुचिरापल्ली क्षेत्रबाट करिब १२ हजार मतले अगाडि रहेको जनाइएको छ । उनी तमिलनाडुसँगै हिन्दी भाषी क्षेत्रमा समेत लोकप्रिय मानिन्छन् । प्रारम्भिक अनुमानमा राम्रो प्रदर्शनको अपेक्षा गरिएको भए पनि हाल देखिएको रुझान अझै चकित पार्ने खालको छ । चलचित्र क्षेत्रमा सफल यात्रा बनाएपछि विजय यसै चुनावबाट राजनीतिमा होमिएका हुन् र यो नतिजाले उनको राजनीतिमा भएको उदयको रुपमा हेरिएको छ । गत वर्ष सेप्टेम्बरमा करूरमा आयोजित उनको दलको सभामा भागदौड मच्चिँदा ३९ जनाको ज्यान गएको थियो । उक्त घटनाप्रति उनले गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही २० लाख रुपैयाँ र घाइतेलाई दुई-दुई लाख रुपैयाँ सहयोग घोषणा गरेका थिए । २२ जुन १९७४ मा चेन्नईमा जन्मिएका विजयको पूरा नाम जोसेफ विजय चन्द्रशेखर हो । उनका पिता एस ए चन्द्रशेखर तमिल चलचित्रका चर्चित निर्देशक हुन् भने आमा शोभा गायिका थिइन् । सानैदेखि चलचित्र क्षेत्रमा हुर्किएका उनले बाल कलाकारका रूपमा अभिनय सुरु गरेका थिए । पिताकै निर्देशनमा बनेको ‘वेट्री’ चलचित्रबाट बाल कलाकारका रूपमा देखिएका विजयले पछि ‘नालय थीरपू’ (१९९२) मार्फत नायकका रूपमा यात्रा थालेका थिए। प्रारम्भिक चरणमा चलचित्रले अपेक्षित सफलता नपाए पनि त्यसले उनको भविष्यको आधार तयार गरेको थियो । सुरुआती समयका उनका चलचित्रहरू मुख्यतः मनोरञ्जनमुखी शैलीका भए पनि पछि उनले विभिन्न विषयमा आधारित चलचित्रमार्फत छुट्टै पहिचान बनाएका छन्। ‘गिल्ली’ जस्तो सफल चलचित्रले उनलाई जनप्रिय बनायो भने ‘कथी’, ‘थेरी’, ‘मर्सल’ र ‘बिगिल’ जस्ता चलचित्रले थप उचाइमा पुर्‍यायो। उनी उत्कृष्ट नृत्यका लागि पनि परिचित छन् ।

८- नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीले आफ्नो उपचार र पुनःस्थापनाबारे जानकारी दिएकी छन् । लामो प्रयासपछि कतारको अस्पेटार अस्पताल पुगेकी उनले अब केही महिना त्यहीँ बसेर शल्यक्रियापछिको पुनःस्थापना प्रक्रिया अगाडि बढाउने बताएकी छन् । यस कठिन समयमा साथ दिने समर्थक, क्लब र सहयोगीप्रति उनले आभार व्यक्त गरेकी छन् । उनले भनेकी छन्- ‘लामो समयको प्रयासपछि अन्तत कतारको अस्पेटार अस्पतालमा आइपुगेको छु । अबको केही महिना यहाँ रहेर मेरो शल्यक्रियापछिको रिह्याबको कार्यलाई निरन्तरता दिनेछु । सम्पूर्ण समर्थक, मेरो क्लब र यो कठिन समयमा साथ दिनुहुने सम्पूर्ण व्यक्तिहरुको साथ र सहयोगका लागि सधैं आभारी छु । मेरो शल्यक्रियापछिको रिकभरी सोचेजस्तै चलिरहेको छ ।’ उनका अनुसार शल्यक्रियापछिको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। आफू पुनः मैदान फर्किने लक्ष्यमा केन्द्रित रहेको उनले बताइन् । यसैबीच, नेपालमा फुटबलको वर्तमान अवस्थाप्रति भने उनले चिन्ता व्यक्त गरेकी छन् । नेपाली फुटबल छिट्टै सुधार हुने विश्वास व्यक्त गर्दै उनले आफ्नो लक्ष्यमा निरन्तर लागिरहने प्रतिबद्धता जनाएकी छन् ।

९- नेप्सेमा निरन्तर गिरावट आएको छ । आज सोमबार नेप्से ३४.६३ अंकले घटेर २७०४.०८ विन्दुमा पुगेर रोकिएको छ । आज ३४१ कम्पनिका एक करोड ७४ हजार ५२४ कित्ता शेयर ४ अर्ब २६ करोड ५३ लाख ९० हजार २०४ मा कारोबार भएको थियो । आज माइक्रो फाइनान्स बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी फरवार्ड माइक्रो फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने झापा इनर्जीको शेयर ७.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कर्पोरेट विकास बैंकको शेयर १२.५८ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक़चर एंड डेभलपमेन्ट लिमिटेडको ३१ करोड ३६ लाख र रिलायन्स मिल्सको १७ करोड ९९ लाख बराबरको कारोबार भएको छ ।

१०- रौतहट जिल्ला अदालत गौरमा कार्यरत डिठ्ठा लवकुमार सिंहविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीसँग ५० हजार घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको थियो । अदालतको फैसला अनुसार दर्ता-खारेजी पूर्जी जारी गरी रोक्का रहेको जग्गा फुकुवा गराइदिने क्रममा उनले घुस मागेको उजुरी परेपछि अनुसन्धान सुरु गरिएको थियो । अनुसन्धानका क्रममा डिठ्ठा सिंहले विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख दिँदै बार्गेनिङ गरी ५० हजार घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ । उक्त कसुरमा भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार ५० हजार रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवाना सजाय माग गर्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

११- मध्यपूर्वमा जारी तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाने भएका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उनको भेटवार्ता मे १४ र १५ मा हुने तय भएको छ । रिपोर्टका अनुसार इरानसँगको लामो संघर्षका कारण चीनले वार्तामा आफ्नो स्थिति केही बलियो भएको आँकलन गरेको छ । यसअघि अप्रिलमा हुने भनिएको ट्रम्प-जिनपिङ भेट युद्धका कारण स्थगित भएको थियो । चीनले यो भेटलाई निकै महत्वपूर्ण अवसरका रूपमा लिएको छ । यसबाट विश्वका दुई ठूला शक्तिबीच दीर्घकालीन स्थिर सम्बन्ध निर्माण हुने अपेक्षा गरिएको छ । तर चीनभित्रै यस विषयमा फरक–फरक धारणा रहेका छन् र जटिल अवस्थाबीच कसरी अघि बढ्ने भन्नेमा स्पष्टता नभएको बताइएको छ । विशेष गरी हर्मुज क्षेत्रलाई लिएर चीन चिन्तित देखिएको छ, जहाँबाट उसले करिब एक तिहाइ तेल तथा ग्यास आपूर्ति गर्छ। यो मार्ग अवरुद्ध भए ट्रम्पको भ्रमणमा समेत प्रभाव पर्न सक्ने आकलन गरिएको छ। ट्रम्पको भ्रमण सामान्य नभएको र यसको प्रभाव विश्व राजनीतिमा दीर्घकालीन हुन सक्ने विश्लेषण समेत गरिएको छ । यो भ्रमणको सफलता वा असफलताले भविष्यमा चीन-अमेरिका सम्बन्धको दिशा तय गर्नेछ, चाहे अमेरिकामा जुनसुकै दलको सरकार किन नआओस् ।

१२- भारतको पश्चिम बङ्गालमा भारतीय जनता पार्टी बहुमततर्फ अग्रसर भएको छ । विधान सभाको निर्वाचनको जारी मतगणना भारतीय जनता पार्टीले १९० सिटमा अग्रता हासिल गरेको छ भने ममता बेनर्जी नेतृत्वको तृष्णमूल काँग्रेस ९१ सिटमा अगाडी रहेको छ । पश्चिम बङ्गालमा २९४ सिटमा बहुमतका लागि १४८ सिट आवश्यक रहेको छ । पश्चिम बङ्गालमा पहिलो पटक भारतीय जनता पार्टी सत्तामा आउने भएको छ । पश्चिम बङ्गालमा २०११ देखि ममता बेनर्जी सत्तामा रहेकी छन् । त्यसअघि उनले १९७७ देखि सत्तामा रहेको कम्युनिष्ट पार्टीलाई हराउदै सत्तामा आएकी थिइन् ।

१३- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रले अहिलेको जनमतलाई सम्मान गरेर अगाडी जानुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको बार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले निजी क्षेत्रले अहिलेको वास्तविकतालाई स्वीकार गरेर आफुलाई बदलेर अगाडी बढ्न आग्रह गरेका हुन् । अर्थमन्त्री वाग्लेले सरकार असल नियत बोकेर काम गरिरहेको भन्दै निजी क्षेत्रले पुराना कुराहरु छोडेर साथ दिनुपर्ने बताएका छन् । उनले सरकारले चुनावका समयमा सार्बजनिक गरेका बाचा पत्रमा उल्लेखित बुँदाहरु क्रमश कार्यान्वयन गर्दै जाने बताउदै सरकारले तिनै बाचाहरु लागु गर्ने स्पष्ट गरेका छन् । उनले कुनै किसिमको सरप्राइज नहुन आग्रह गर्दै हामीले गरेका बाचाहरुलाई पुरा गर्दै जाने बताए । उनले निजी क्षेत्रलाई आतंकित नहुन आग्रह गर्दै उद्योगी व्यवसायीको आवरणमा अपराधिक काम गर्नेहरुलाई भने सरकारले नछोड्ने स्पष्ट गरे । अर्थमन्त्री वाग्लेले सरकारले करिब ७ बर्षको समयमा सय बिलियन डलरको अर्थतन्त्र बनाउन गरि काम गरिरहेको बताए । उनले बजेट कस्तो आउछ भनेर गुप्तचरी गर्न नपर्ने भन्दै रास्वपाको बाचा पत्र अनुसारकै बजेट आउने स्पष्ट गरे । उनले हाइड्रो र पर्यटनको गीत गाएको धेरै बर्ष भएको भन्दै सबै नयाँ काम सुशासनको जगमा ल्याउने स्पष्ट गरे । उनले सहि नीति सहि नियतका साथ काम गर्ने भन्दै सरकार नडराएर काम गरिरहेको बताए ।

१४- सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ राष्ट्रपतिबाट पुनर्विचारको लागि फिर्ता भएकोमा उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए । मन्त्रिपरिषद् बैठकले परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न उद्योगहरुलाई कर्जा उपलब्ध गराउने र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लाग विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियत ऋण तथा पाँच मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । यस्तै, बैठकले भारतसँग जिटुजी खरिद माध्यमबाट ६० हजार मे. टन यूरिया र २० हजार मे. टन डिस्पी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । बैठकले संसद् भवन परिसरमा प्रवेशलगायतका विषय समावेश गरिएको सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने निर्णय गरेको शिक्षामन्त्री पोखरेलले बताए ।

१५- सरकारका प्रवक्ता सस्मित पोखरेलले लिपुलेक नेपालको भुमि हो भन्नेमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गर्दै प्रवक्ता पोखरेलले लिपुलेक हाम्रो भुमि हो भन्नेमा प्रष्ट रहेको बताउदै भारतले पनि छलफलबाट समस्याको समाधान गर्ने भनेकोले त्यसै अनुसारनै समस्याको समाधान गर्न तयार रहेको बताएका हुन् । उनले भनेका छन्- यसमा नेपाल सरकार प्रतिबद्ध छ, परराष्ट्र मन्त्रालयले आफ्नो नोट जारी गरिसकेको छ, भारत सरकारले पनि सहकार्यबाट निकास निकाल्नुपर्छ भनेको छ । नेपाल सरकारको पनि सिमाना विवादमा नेपालको भूमि हो भन्नेमा प्रतिबद्ध छ, बाँकी दुई सरकारबीच कुरा गरेर समाधान गर्ने विषय हो ।’

१६- सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता गरेको संबैधानिक परिषदसम्बन्धि अध्यादेश जारी गर्न पुन: सिफारिस गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले आज बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गर्दै यसअघि जारी गर्न सिफारिस गरेको संबैधानिक परिषद सम्बन्धि अध्यादेशनै सिफारिश गरिएको जानकारी दिएका छन् । आइतबार राष्ट्रपति पौडेलले यसअघि पनि संघीय संसद्का दुवै सदनले पारित गरेको विधेयक फिर्ता गरेकै कारण देखाएर अहिले पनि फिर्ता गरेका थिए । सरकारले संबैधानिक परिषदमा प्रधानमन्त्रीसहित तीन जनाको उपस्थितिमा निर्णय गर्नसक्ने व्यवस्था गरेर अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरिएको थियो ।

१७- नेपाल क्रिकेट संघ (क्यान) आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको जारी सिरिजको टिकट मुल्य घटाएको छ । क्यानले यस सिरिजको भोली हुने नेपाल र ओमान बीचको खेल र यस लगत्तै नेपालको स्कटल्याण्ड र अमेरिकासँग हुने सिरिजको टिकट मुल्य २०० कायम गरेको हो । यसअघि ४०० टिकट तोकिएको थियो । टिकट महँगो भएको भन्दै क्यानको आलोचना भएको थियो भने दर्शक समेत स्टेडियम पुगेका थिएनन् । सामान्य खेलमा समेत स्टेडियम भरि दर्शक हुने किर्तिपुरमा यस सिरिजमा दर्शक उपस्थित नहुदा खेलाडी समेत अचम्मित बनेका थिए । पछिल्लो युएईविरुद्धको खेल पछि दिपेन्द्र सिंह ऐरीले समेत दर्शक नआएकोमा चासो राख्दै आफुहरु अचम्ममा परेको बताएका थिए । उनले दर्शक किन आउनु भएन भन्ने आफुहरुलाई थाहा नभएको भन्दै नेपाली क्रिकेट समर्थकका कारणनै नेपालको क्रिकेट यहाँसम्म आएको भन्दै स्टेडियम आउन अपिल समेत गरेका थिए ।

१८- नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको ३ सयले घटेर तोलाको २ लाख ९४ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ९५ हजार १ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर ५०२० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५०१० मा कारोबार भएको थियो ।

१९- प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी स्वामित्वका जग्गामा भएको अतिक्रमण हटाउने प्रक्रियाबारे फैलिएका टिप्पणीप्रति सरकारको ध्यानाकर्षण भएको बताएका छन् । उनले कानुनअनुसार अघि बढाइएको व्यवस्थापन प्रक्रियालाई लिएर भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकमा अनावश्यक त्रास फैलाउने प्रयास भइरहेको जानकारी आएको र यसलाई सरकारले गम्भीर रूपमा लिएको उल्लेख गरेका हुन् । प्रधानमन्त्री शाहले दीर्घकालीन समाधानमा अवरोध बनेका भूमिसम्बन्धी ऐन २०२१ का केही प्रावधान अध्यादेशमार्फत हटाइएको उल्लेख गर्दै त्यससँगै वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण र अभिलेख तयार गर्ने काम सुरु गरिएको बताएका छन् । यसबाट भूमिहीनको वास्तविक अवस्था पहिचान गरी पारदर्शी र दीगो समाधानतर्फ अघि बढिएको उनले बताउदै उनले जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने जानकारी दिए । अन्य भूमिहीनका हकमा सम्बन्धित आयोगको सिफारिस र संकलित विवरणका आधारमा निर्णय गरिने उनले स्पष्ट पारे । प्रधानमन्त्री शाहले सरकारका सबै कदम नागरिक हटाउने उद्देश्यले नभई आवासको हक सुनिश्चित गर्दै स्थायी समाधान निकाल्ने लक्ष्यका साथ चालिएको बताउदै भ्रममा नपर्न, अनावश्यक नआत्तिन र अपुष्ट सूचना नफैलाउन नागरिकलाई आग्रह गरेका छन्। सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

२०- गुजरात टाइटन्सले जारी आइपिएलमा पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले पञ्जाव लाई ४ विकेटले पराजित गरेको हो । पञ्जावले दिएको १६४ रनको लक्ष्य पछाएको गुजरातले १९.५ ओभर ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । गुजरातका लागि साई सुदर्शनले ५७ र वाशिंटन सुन्दरले अविजित ४० रन बनाएका थिए भने जोस बटलरले २६ र निशान्त सिन्धुले १५ रन बनाएका थिए । यसअघि पहिला ब्याटिंग गरेको पञ्जावले सुर्यांश शेडगेको ५७, मार्कस स्टोइनिसको ४०, मार्को जानसेनको २० र कप्तान श्रेयस अय्यरको १९ रनको मद्धतले २० ओभरमा ९ विकेट गुमाएर १६३ रन बनाएको थियो । त्यस्तै गुजरातका बलर जासन गोल्डरले सर्बाधिक ४ विकेट लिएका थिए भने मोहमद सिराज र कागीसो रबाडाले २-२ विकेट लिएका थिए । यो जितपछि गुजरात टाइटन्सको १० खेलमा १२ अंक भएको छ र हाल पाँचौं स्थानमा रहेको छ । आइपिएलको अंक तालिकामा चार टिमको १२ अंक रहेको छ । त्यस्तै पञ्जावको भने यस सिजनमा यो दोस्रो हार हो । ९ खेलमा १३ अंक रहेको पञ्जाव शिर्ष स्थानमा कायम रहेको छ । जारी आइपिएल अन्तर्गत आज मुम्बई इण्डियन्स र लखनउ सुपरजाइन्टबीच खेल हुदैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस