• २०८३ बैशाख २१ गते सोमवार

रौतहटमा बोक्सीको आरोपमा एकल महिलामाथि बर्बरता : मल/मूत्र खुवाएर कुटपिट, एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २१, रौतहट । रौतहटको कट हरिया नगरपालिकामा एक ५५ वर्षीय एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै मल/मूत्र खुवाएर अमानवीय व्यवहार गरिएको जघन्य घटना सार्वजनिक भएको छ । कट हरिया नगरपालिका—९, डुमरिया टोल बस्ने ती महिलालाई स्थानीय केही व्यक्तिहरूले ‘बोक्सी लागेर आफ्नो नातेदारको बालक बिरामी पारेको’ आरोप लगाउँदै घरमै पसेर कुटपिट गरेका थिए ।

पीडितका अनुसार, आक्रमणकारीहरूले गालीगलौज गर्दै उनलाई बियरको बोतलमा घोलेको मानव मल/मूत्र जबरजस्ती खुवाएका थिए । घटनाको जानकारी पाहुना साथ इलाका प्रहरी कार्यालय कट हरियाबाट प्रहरी नायव निरीक्षक मोहन आले मगरको नेतृत्वमा खटिएको टोलीले अचेत अवस्थामा रहेकी महिलाको उद्धार गरेको थियो । उनलाई तत्काल स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको थियो। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, उक्त अमानवीय कार्यमा संलग्न रहेको आरोपमा कटहरिया—९ बस्ने ३० वर्षीय शंकर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको र पक्राउ परेका माझीमाथि थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए ।

नेपालको कानुनले बोक्सीको आरोपमा गरिने यस्ता दुव्र्यवहारलाई गम्भीर अपराध मानेको छ । स्थानीय प्रशासनले अपराधीलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस